वैदेशिक रोजगारमा बढ्दो ठगी धन्दा रोक


सम्पादकीय\ वैदेशिक रोजगार आम नेपालीहरुको रहरको गन्तव्य होइन, बाध्यता, बिबशता र परिवन्दको हो । आफ्नै देश जन्मभूमिमा केही गरेर जीविकोपार्जन गर्ने सोच र सपनामा संकट आए पछिको दुर्दान्त परिस्थितिको उपज हो । राज्यले आफ्ना नागरिकको स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगारको सुनिश्चितता दिलाउन नसक्नुको बिडम्बना हो । आफ्नै देशमा दुःखजिलो गरिखाने वातावरण नहुनु नबन्नुको अस्थिरताको कारण पनि हो । इमान्दार र मेहेनती भएर गरिखान खोज्नेहरुलाई पनि भ्रष्टाचार, कमिसन, बैमानी गर्नेहरुले आजित र आक्रान्त बनाएर परदेशिन बाध्य बनाएको अवस्था हो । बिभिन्न कारणले देशमै रोजगार, स्वरोजगार र भविष्य सुनिश्चितता हुन नसक्नु एक दुखद विषय त छँदैछ, विदेश जाने क्रममा र गइसके पछि दलाल र बिभिन्न व्यक्ति निकायबाट हुने ठगीेले नागरिक थप प्रताडित बन्नुपर्ने अवस्था बिद्यमान छ ।

वैदेशिक रोजगारीमा जाने क्रममा भएका बिभिन्न ठगीका घटना देख्दा र सुन्दा निकै दर्दनाक छन्, जसले दुखित तुल्याउँछ र हर मानिसलाई झस्काउँछ । पछिल्लो तथ्यांक हेर्ने हो भने अहिले पनि डरलाग्दो देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ठगीका यस्ता घटना पछिल्ला वर्ष झन्डै तीन गुणाले बढेको छ । ठगिएको भन्दै जाहेरी दिन विभागमा दैनिकजसो भिड लाग्छ । प्रमाण पुग्ने विभागले दर्ता गर्छ, प्रमाण नपुग्ने प्रहरीकहाँ रिफर गर्छ । यसरी दर्ता भएअनुसार पछिल्ला वर्ष ठगिएको रकमको परिमाण हेर्दा एक अर्ब रुपैयाँ नाघेको देखिन्छ । जबकि विभागले आएजति सबै उजुरीलाई जाहेरीका रूपमा दर्ता गर्दैन । वैदेशिक रोजगार ऐन ०६४ अनुसार विभागमा पीडितको जाहेरी दर्ता गर्न लेनदेनका क्रममा वैदेशिक रोजगारको प्रयोजन खुल्नुपर्ने हुन्छ । नत्र विभागमा जाहेरी दर्ता हुँदैन । अधिकांश उजुरीमा उल्लेखित लेनदेनमा वैदेशिक रोजगारी खुलेको हुँदैन । त्यसो हुँदा विभागमा दैनिक बढीमा १२ देखि १५ उजुरी मात्रै जाहेरीका रूपमा दर्ता हुन्छन् । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८÷७९ मा देशभरबाट वैदेशिक रोजगारीमा ठगीसम्बन्धी एक हजार सात सय ४२ घटना दर्ता भएका थिए । २.५६ गुणा बढेर आव ०७९÷८० मा यो दर चार हजार चार सय ६४ पुग्यो । यो अघिल्लो वर्षको तुलनामा १५६.२५ प्रतिशतले धेरै हो । चालू आवको पुस मसान्तसम्म मात्रै ठगीका यस्ता घटना विभागमा मात्रै तीन हजार चार सय ९५ दर्ता भएका छन् ।

तथ्य, तथ्यांक भन्छ, वैदेशिक रोजगारीका क्रममा हुने ठगी भयावह छ । वैदेशिक रोजगारीमा जाने संख्या जति बढ्दो छ, ठग्ने ठगिने क्रम पनि उस्तै दरमा बढ्दो देखिन्छ । यसरी खुलेआम र अप्रत्यक्ष रुपमा भइरहेको ठगीबारे सरकार बेखबर पनि छैन । र पनि नीतिगत, कार्यान्वयनको तहमा प्रभावकारी कदम चाल्न सकिरहेको छैन । दैनिक१० देखि १५ जाहेरी दर्ता हुँदा प्रत्येक दिन कम्तीमा तीन अभियुक्त पक्राउ पर्ने गरेको तथ्यांक छ । वैदेशिक रोजगारीसँग सम्बन्धित न्याय निरूपणका लागि सरकारले छुट्टै अदालत वैदेशिक रोजगार न्यायाधिकरण गठन पनि गरेको छ । तर, त्यसको फैसला कार्यान्वयनको अवस्था हेर्ने हो भने जम्मा ७ प्रतिशत पनि देखिदैन । अदालतले दैनिक कम्तीमा तीन मुद्दा फैसला गरिरहेको छ । पीडितले कानुनी दृष्टिबाट न्याय त पाउँछन्, तर व्यवहारमा न्याय पाउन निकै कठिन छ । किनकि यसमा कानुन नै बाधक देखिन्छ । कानुनलाई कामयावी बनाउन सरकार, सांसदहरुको भूमिका जरुरी देखिएको छ । ठगी गर्नेको यथोचित पहिचान गरेर त्यसलाई रोक्न र तत्काल कारबाहीको दायरामा ल्याइनु पर्छ । अर्को तर्फ वैदेशिक रोजगारमा जाने हर व्यक्ति स्वयंम् समयमै सचेत र प्रक्रियाबारे यथेष्ट जानकारी लिएर मात्र जान थाल्ने हो भने धेरै हद सम्म ठगी हुने क्रम न्युनिकरण हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *