तंग्रामे कालो सुँगुर संरक्षणमा थापा


खेमराज गौतम, बागलुङ

बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ । घरैपिच्छे पालिने कालो सुँगुर अहिले फ्याट्ट फुट्टमात्रै देखिन थालेको छ ।

पुर्खादेखि पालिदै आएको कालो तंग्रामे सुँगुरको बिउँ जोगाउनै मुश्किल परेपछि यहाँका एक युवाले विदेशबाट फर्केर कालो सुँगुरको व्यावसायिक पालन थाल्नुभएको हो ।

परम्पराकालदेखि तंग्रामका मगरहरुले पाल्दै आएको कालो सुँगुर आयातित बंगुरको पाठापाठीका कारण लोप हुँने अवस्थामा आएको हो । व्यावसायिक रुपमा आयातित बंगुरपालन र कृत्रिम गर्भाधारणको चलन आएपछि यहाँको स्थानीय जातको कालो सुँगुर लोप हुँन थालेको छ ।

यहाँको स्थानीय जातको कालो सुँगुर हराउने अवस्था आएपछि व्यवसायीक बनाउने सोचमा पाँच वर्षदेखि लाग्नुभएको छ तंग्राम धारा गाउँ निवासी ४२ वर्षका भुवन बहादुर थापा । उहाँको काफालबोट पशुुपन्छी तथा कृषि फर्ममा अहिले एक दर्जन कालो सुँगुर छन् ।

१० वर्ष मलेसियामा बस्नुभएको थापाले कालो सुँगुरलाई व्यावसायिक बनाउने योजनामा रहेपनी पाठापाठी बचाउनै हम्मे परेको उहाँको भनाई छ ।

“१० वर्ष मलेसिया बसेर फर्किए, तंग्रामको रैथाने कालो सुँगुर देखिनै छोड्यो, पहिला घर–घरमा पाइने कालो सुँगुर अहिले परम्परा धान्ने काममा मात्रै पाल्दै आएको देखेपछि पाठापाठी जोड्दै पाँच वर्षयता तंग्रामे स्थानीय जातको कालो सुँगुर पाल्दै आएको छु” थापाले भन्नुभयो “खासगरी यसको मुख्य समस्या भनेको पाठा बचाउनै समस्या भएको छ, जन्मेको दुई दिनमै पाठापाठी मर्ने निकै समस्या छ, १२ वटा पाठापाठी जन्मेका मुश्किलले दुई तीन वटा मात्रै बाच्छन् ।”

पशु प्राविधिहरुबाट समेत पटक–पटक पाठापाठी बचाउने प्रयास भएपनि समस्या भइरहेको उहाँको भनाई छ । कृक्रिम गर्भाधारणका कारण अहिले आयातित बंगुरपालनले गाउँका रैथाने जातको कालो सुँगुर लोप पाइन छोडेपछि कालो सँगुरको भाउ समेत उच्च रहेको छ । काठेखोला गाउँपालिका–४ तंग्रामका पशु प्राविधिक लक्ष्मण थापाले स्थानीय जातको सुँगुर संरक्षणमा चुनौती रहेको बताउनुभयो । उहाँले उक्त जातको सुँगुर अन्त नपाइने भएकाले हाडनाता गर्भाधारणका कारण पाठापाठीमा समस्या आइरहेको बताउनुभयो ।

पाँच पुस्ता फरक पर्नेगरी गर्भाधारण गराउन सकेमा मात्रै राम्रो पाठापाठी उत्पादन गर्न सकिने पशु प्राविधिकको भनाई छ । “आयातित सुँगुरबाट गर्भाधारण गराउदा स्थानीय जात लोप हुन्छ, चार पाँच पुस्ता फरक पारेका बंगुरबाट गर्भाधारण गराउन किसानलाई आग्रह गर्दै आएको छु” पशु प्राविधिक थापाले भन्नुभयो ।

स्थानीय कालो सुँगुरको मासु थोरै हुँने र पाल्न धेरै समय लाग्ने भएकाले व्यावसायिक बंगुरपालनमा यहाँका मगर समुदायहरु लागेपछि स्थानीय सुँगुर ओझेलमा परेको हो । उहाँले हाल सम्म सुँगुर पालनमा रु. पाँच लाख लगानी गरेको बताउदै काठेखोला गाउँपालिकाले रु. एक लाख ५० हजार अनुदान समेत दिएको किसान थापाले बताउनुभयो ।

“बंगुरको मासुलाई प्रतिकेजी चार सय देखि ५०० सम्ममा पाइन्छ, कालो सुँगुरको मासुलाई प्रतिकेजी ६०० पर्दछ तर मासु समेत पाउनै मुश्किल छ” उहाँले भन्नुभयो “मैले कालो सुँगुर नकाट्दै माग आइसकेको हुन्छ, कालो सुँगुरको मासु बजार पठाउन सकेको छैन, फर्म विस्तार गरेर ५० वटा माउ सुँगुर पालेपछि बजार पठाउने हो, विस्तारै व्यावसायीक बनाउदै लैजान सके बजारको माग थेग्न सकिएला ।”

स्थानीय क्षेत्रमा पाईने कर्कलो, मोही र छोक्रा धानको भुस खुवाएर सुँगुर पाल्न सकिने थापाको भनाई छ । एउटै बंगुर एक सय केजी भन्दा धेरै हुँनेभएपनि स्थानीय जातको सुँगुर अधिकतम ३० केजी सम्मको मात्रै हुने गरेको छ । स्थानीय जातको सँगुर संरक्षणका लागि गाउँपालिकाले थापालाई प्रोत्साहन गर्दै आएको काठेखोला गाउँपालिका–४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुनले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *