तमानखोलाको बराह तालमा पर्यटन प्रवर्द्धन गोष्ठी : ‘आर्थिक समृद्धिका स्थानीय उत्पादनमा जोड’


आदर्श अनलाइन, बागलुङ
पर्यटनमार्फत आर्थिक विकास गर्न सबै पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्ने तमानमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । शनिबार तमानखोला गाउँपालिका—२ मुठाचौर बराह तालमा आयोजित तमानखोला गाउँपालिकाको पर्यटन सम्भावना अवसर र चूनौती विषयक पर्यटन प्रवद्र्धन गोष्ठीमा सहभागीले कुनै एक पक्षको प्रयासले मात्रै पर्यटनबाट आम्दानी हाँसिल गर्न नसकिने बताए । तमानखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रा.ली.को सहजीकरणमा आयोजित कार्यक्रममा सहभागीले भने,‘पर्यटनका लागि भौतिक पूर्वाधारसंगै प्रचार प्रसारको पनि जरुरी हुन्छ । त्यससंगै पाहुनालाई दिने नयाँ स्वाद पनि हुनुपर्छ । त्यसले मात्रै पर्यटन विकास हुन्छ ।’

पर्यटनको विकास मार्फत लाभ लिनका लागि सरकारी, निजी क्षेत्र र आम नागरिकले पनि विशेष लगानी गर्नुपर्ने उनीहरुको भनाई थियो । ‘पर्यटकीय ठाउँहरुमा पूर्वाधार निर्माण गर्ने र प्रचार प्रसार गर्ने काममा सरकारी पक्षले ध्यान दिनुपर्छ,’कार्यक्रममा सहभागीले भने,‘यहाँ आएका पर्यटकलाई आवश्यक अन्य सेवाहरुका लागि निजी क्षेत्र र यहाँको स्थानीय नागरिकले लगानी गर्नुपर्छ । गाउँमा आउने पर्यटकलाई गाउँकै पहिचान दिने खानेकुरा खुवाउन सकियो भने मात्रै उनीहरुलाई पुनः फर्केर आउने वाताबरण बनाउन सकिन्छ ।’ कार्यक्रममा बोल्दै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले गाउँपालिकाले संघ र प्रदेश सरकारसंग मिलेर पालिका भित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान गर्दै आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माणलाई तिब्रता दिएको बताए ।

‘हामीले पूर्वाधार निर्माणको क्षेत्रमा काम अगाडि बढाएका छौं,’उनले भने,‘यहाँको बराह ताल, शोलेडाँडा लगायतका ठाउँहरुमा आवश्यक पूर्वाधारहरुको काम अगाडि बढेको छ ।’ बराह तालमा पुग्नका लागि पदमार्ग, त्यहाँ पुग्ने पर्यटकका लागि आवश्यक खानेपानी, शौचालय, पिकनिक स्पोट लगायतका संरचना बनेका छन् । ताल संरक्षणका लागि आवश्यक घेराबार पनि लगाईएको छ । तालको परिवरी पनि स्लेट ढुङ्गा बिच्छ्याएर पदयात्रीका लागि संरचना तयार गरिएको पनि बुढाले जानकारी गराए । शोलेडाँडामा पाहुनाघर, कोशेलीघर, सहीदपार्क सौचालय निर्माणका काम सम्पन्न भएको छ । अन्य ठाउँहरुको पहिचान गरी प्रचार प्रसार गर्दै आवश्यक पूर्वाधार निर्माण गर्ने काममा पालिका लागेको बुढाको भनाई छ ।

उनले प्राकृतिक रुपमा अनुपम आनन्द दिने लालीगुराँस फुल्ने क्षेत्र घुम्न आउन आग्रह गरे । आन्तरिक र बाह्य पर्यटकका लागि पनि तमानखोला भर्जिन गन्तव्य रहेको उनको भनाई छ । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले पर्यटकीय क्षेत्रहरुमा संरचना निर्माण गर्दा पर्यटकमैत्री संरचना निर्माणमा ध्यान दिने बताईन् । ‘स्थानीय सामग्रीहरुको उपयोग गरेर पर्यटकलाई यहाँ आएर हेर्दा आनन्द लाग्ने खालको संरचना बनाउने कुरामा हाम्रो ध्यान रहनेछ,’उनले भनिन्,‘सबैको साझा प्रयासबाट मात्रै पर्यटनबाट आर्थिक विकास गर्न सम्भव छ ।’ कार्यक्रममा तमानखोला गाउँपालिका—३ का अध्यक्ष झकबहादुर बुढाले पर्यटनबाट आम्दानी गर्न स्थानीयले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

‘पर्यटनलाई हाम्रो आम्दानीसंग जोड्नका लागि यहाँको मौलिक उत्पादनमा ध्यान दिनुपर्छ, यहाँ आउने पाहुनलाई यहाँकै वस्तु खुवाउने र उपहार दिने वाताबरण बनाउनुपर्छ,’उनले भने । कार्यक्रममा जनजागृतिमा माविका प्रध्यानाध्यापक बेदबहादुर छन्त्यालले प्राकृतिक सौन्दर्य नमासिने गरी अन्य संरचना निर्माण गर्नुपर्ने बताए । ‘हामीले पर्यटकीय क्षेत्र भनेर संरचना निर्माण गर्दा प्राकृतिक रुपमै गर्नुपर्छ, कृत्रिम लाग्नेगरी काम नगरौं,’उनले भने,‘विगतमा राज्यको निकायको आँखा नपर्दा यो ठाउँ पछि परेको हो । हामीले यसको प्रचार प्रसार र प्रवद्र्धनमा ध्यान दिनु जरुरी छ ।’ कार्यक्रममा स्थानीय ओम पुन लगायतले स्थानीयले बराह तालको संरक्षण प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा तमाखोला गाउँपालिकाको पर्यटन सम्भावना अवसर र चूनौती विषय अवधारणा प्रस्तुत गर्दै पत्रकार संगम घर्तीमगरले प्राकृतिक सौन्दर्यसंग लुकामारी गर्दै वन्यजन्तुको चाल नियाल्ने र चराचुरङ्गीको चिरबिराहटमा रमाउन चाहाने पर्यटकहरुका लागि तमानखोला गतिलो गन्तव्य बन्नसक्ने बताए । उनले गाउँमा आउने पर्यटकलाई परम्परागत व्यवहार, त्यहाँको मौलिक संस्कृति, खेतीपाती वा दैनिक व्यवहारको अवलोकन, गाउँको सेरोफेरोको भ्रमण अनि गाउँमै उत्पादन गरिएका सामग्रीहरू खाँदै गाउँकै घरमा बस्ने अनि गाउँमै उत्पादन भएका कोशेलीहरू बोकेर जाने वाताबरण सिर्जना गर्नुपर्ने बताए । नेपालको एक मौत्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षसंग नजिकै रहेका कारण ढोरपाटनमा आउने पर्यटकलाई तमानखोला भित्र्याउनका लागि आवश्यक पदमार्गहरुको विकास गर्नु आवश्यक रहेको उनले उल्लेख गरे ।

तमानखोला गाउँपालिकासंग पर्यटकीय गन्तव्य बनाउका लागि मुठाचौर बराह ताल, शोलेडाँडा, नौडल्ले पहाड, ढोमई थान लगायतका धार्मिक तथा प्राकृतिक सौन्दर्यका ठाउँहरु रहेकाले त्यसको शिलशिलावद्ध विकासमा ध्यान दिन समेत आग्रह गरे । बोंगादोभान, मुठाचौर बराहताल, अंकुटे देउराली, धान्चे देउराली, नौडल्ले पहाड, बयलीको धुरी, पुठाले खोलेको ताल, शोलेडाँडा, अमिलचौर जोड्दै दुरलेकको धुरी, ताराखोला, घुम्टेधुरी, घोडाबाँधे, गाजादहसम्मको पदमार्ग, खानेपानी, पर्यटकीय क्षेत्रको सूचना तथा जानकारी बोर्ड, पर्यटकको बसाइँका लागि विभिन्न ठाउँमा घरबास (होमस्टे) व्यवस्थापन, नौडल्लेको पहाड पुगेर फर्कदा वन्यजन्तुसंग साक्षात्कार गर्ने गरी नर्जा भित्रीवनमा चिडियाघर निर्माण गर्न सकिने उनको भनाई थियो ।

‘तमानको अप्ठ्यारो र चट्टानी भूगोललाई उपयोग गर्दै शाहसकि पर्यटन रक क्लाईम्बिङको सम्भावना पहिल्याउन सकिन्छ । चट्टानी पहरामा हुने भिर मौरीको शिकार (हनि हन्टिङ) गरेर पनि पर्यटकलाई लोभ्याउन सकिन्छ,’उनले भने,‘तमानखोलामा उत्पादन हुने आलु, सिमी, जौ लाई व्यसायिक बनाई कृषि पर्यटनसंग पनि जोड्न सकिन्छ । यहाँ आउने पर्यटकलाई आलुका विभिन्न परिकार, जौ÷मकैको आटो, सिमीको दाल र मोही (गोरस) खुवाउन सकियो भने तमानखोलाको पर्यटन प्रवद्र्धनमा ब्राण्ड बन्नसक्छ ।’ तमानखोलाको मौलिक संस्कृति सोरठी र यानीमायाको संरक्षण र प्रवद्र्धनबाट पनि पर्यटकलाई आकर्षित सकिने उनको भनाई छ ।

कार्यक्रममा टिप्पणी गर्दै नेपाल नेपाल महासंघ बागलुङका सचिव विजय रानाले तमान आउने पर्यटकलाई सुरक्षित महसुस गर्ने वाताबरण सिर्जना गर्नुपर्ने बताए । ‘यहाँ आउने पर्यटक एक पटक आएपछि अर्को पटक पुनः आउने बनाउनका लागि यो ठाउँ सुरक्षित छ भन्ने आभास दिलाउनुपर्छ, त्यसका लागि यहाँको नागरिकले भूमिका खेल्नुपर्छ,’ उनले भने,‘यहाँ घुम्ने पर्यटकहरु आउँदै गर्दा यहाँको नागरिकको आर्थिक आम्दानी पनि बढ्नुपर्छ । त्यसका लागि यहाँको स्थानीय उत्पादनमा जोड दिनुपर्छ ।’ तमानखोला गाउँपालिका—२ का वडाध्यक्ष नारायण सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य र सञ्चालन पत्रकार डम्मर बुढा मगरले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *