अर्नाकोट र सिँडेरीवासीलाई सधैँ पानी कै पिरालो

डम्मर बुढा मगर, बागलुङ
गाउँ वरपर खानेपानीको पर्याप्त मुहान छैन । धारा र कुवामा पानी सुक्दै गयो । भएको मुहानमा पनि पानी छैन । पानी आउन छोडेपछि धारामा कमिला डुल्छन् । एक गाग्री पानी भर्नका लागि बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयलाई घण्टौँ लाग्छ । धारामा पानी आउन छाडेको दशक बढी भयो । दिनप्रति दिन खानेपानी अभाव हुँदै गएपछि अर्नाकोटसँगै सिँडेरी र घम्पुका करिब ५०० घर परिवार काकाकुल जस्तै बनेका छन् । गाउँ नजिक खानेपानीको मुहान नहुँदा अर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य छन् ।

गाउँलेको हिजोआज गाउँलेको एक गाग्री पानी भोक्दैमा दिन बित्ने गरेको गर्छ । खानेपानीको हाहाकार हुँदै गएपछि एउटा धाराबाट ५० घरका नागरिकले पानी उपभोग गर्नु पर्ने बाध्यता छ । खानेपानी भर्नका लागि मध्यरातमै उठेर धारामा पुग्नु पर्छ । विहान को छिटो धारामा पुगेर पहिला पानी भर्ने भन्ने होडबाजी स्थानीय बीच हुने गरेको छ । छिटो पुग्न नसके लामो समय लाइन बसेर पालो कुर्नु पर्ने स्थिती छ । करिब एक दशक अगाडि गाउँमा खानेपानीको चरम अभाव बढ्दै गएपछि गाउँमा थुप्रै सिमेन्टका घ्याम्पाहरु निर्माण गरेर आकाशे पानी संकलन गरेर प्रयोग गर्नु पथ्र्यो । घ्याम्पोमा संकलन भएको पानी करिब डेढ महिना पु¥याउनु पर्ने बाध्यता रहेको छ ।

यहाँका अधिकांश स्थानीयहरु पानी बोक्नको लागि ढोरपाटन नगरपालिका वडा नम्बर ५ को बसुन्धरा, बाँसखोला र बराहथान जान बाध्य छन् । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले सुनेको छैन । अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान त्यस वरपर छैन । सानोतिनो भएको मुहान पनि सक्दै गएको छ । खानेपानी अभाव हुँदा दैनिकी नै कष्टकर बनेको स्थानीय प्रेमबहादुर विकले बताउनुभयो । बर्खामा संकलन गरेको पानी महिनौसम्म पु¥याउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार मच्चिने बताउनुहुन्छ । प्लास्टिकका ड्रमहरुको प्रचलन नआउँदा घ्याम्पोमै पानी संकलन गरेर प्रयोग गरेको भन्दै अहिले धेरै घर–घरमा ठूला प्लास्टिकका ड्रमहरु राखेको विकले बताउनुभयो ।

उहाँले भन्नुभयो – “पानी नभए बाँच्न सकिन्छ, सरकारले सफा र शुद्ध पानीको नारा लगाउँछ, तर हामीहरुले धमिलो पनि पानी देख्न पाउँदैनौँ, एक गाग्री पानीका लागि दिन बिताउनु पर्छ, हामीहरुले कस्तो नियती भोगि रहेका छौँ, यस क्षेत्रको समस्या बारेमा धेरै पटक नेता ज्यूहरुलाई सुनायौँ तर कुनै सुनुवाईनै भएन, दुर्गम ठाउँ भए पनि अहिले अरु विकास विस्तारै हुँदै छ, तर खानेपानीको सुविधा भने अझैसम्म आउन सकेन, काम नगरेपछि मान्छेहरुलाई खान लाउन पनि गाह्रो हुन्छ, पानीको दुःखले गर्दा दैनिकी चलाउन पनि सकस भइरहेको छ ।”

गाउँमा पहिला सानो मुहान भए पनि अहिले पानी सुक्दै गएपछि खानेपानी आपूर्तिमा समस्या भएको स्थानीय मनकुमारी सुनार बताउनुहुन्छ । केही वर्ष अगाडि गाउँमा पानीको हाहाकार मच्चिए पछि युनिका फाउण्डेसनको सहयोगमा निसीखोला गाउँपालिका वडा नम्बर २ बाँसखोलाबाट ३ सय ३५ मिटर दुरीमा लिफ्टिङ मार्फत् खानेपानी आयोजना निर्माण गरिएको थियो । यसबाट पनि अहिले पिउने पानी अपर्याप्त भएको उहाँको भनाइ छ । गाउँ भन्दा धेरै टाढा खानेपानीको धारो भएको हुँदा आउजाउ गर्दा तीन÷चार घण्टा बित्ने सुनारले बताउनुभयो । पानीको अभावले गर्दा सरसफाई गर्नदेखि पशुचौपायालाई खुवाउनसमेत निकै गाह्रो भएको दुखेसो पोख्नुभयो ।

“यो ठाउँमा निकै खानेपानीको समस्या छ, हामीहरु निकै सस्यामा छौँ, सधैँ खानेपानीकै पिरलो हुन्छ, यसो बारीमा तरकारी लगाउँ, केही खेती गरौँ भने पनि पानीको कारण गर्न पाएका छैनौँ, चामल, नुन त बरु गाडीले बजारबाट ल्याउँछ, पानी भने घण्टौँ लगाएर बोक्नु पर्छ” उहाँले भन्नुभयो – “यसले गर्दा हामीहरु निकै मर्कामा परेका छौँ, यो ठाउँ खेतीपातीका लागि उर्वर भूमि हो, जुनसुकै खाद्यबाली उत्पादन हुन्छ, तर के गर्ने पानी छैन, कसरी उत्पादन गर्न सकिन्छ र ?”

अर्नाकोट क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि धेरै प्रयासहरु भए पनि सफल हुन सकेको छैन । निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुविर विश्वकर्माले अर्नाकोटदेखि करिब २७ किलोमिटर पश्चिममा रहेको हाँचदह मुहानबाट पाइपलाइन मार्फत पानी ल्याउने भने पनि स्थानीयको अवरोधका कारण काम गर्न नसकिएको बताउनुभयो । वडा नम्बर ६ को हाँचदहमा पानी पर्याप्त हुँदा धेरै पटक स्थानीयसँग छलफल गरे पनि पानी ल्याउन नसकेको उहाँको भनाइ छ । दुई वर्ष अगाडि ढोरपाटन नगरपालिकासँग सहकार्य गरेर फुर्तुङबाट पाइप लाइन मार्फत पानी पु¥याए पनि त्यो पर्याप्त नभएको बताउनुभयो ।

अध्यक्ष विश्वकर्माले भन्नुभयो – “यहाँ खानेपानीको समस्य अहिले भएको होइन, वर्षौँदेखिको हो, हामीहरुले यो समस्यालाई समाधान गर्न धेरै प्रयासहरु गरि रहेका छौँ, खासगरी अर्नाकोट, सिँडेरी, घम्पु गाउँका पाँच सय घर परिवारले खानेपानीको अभाव भोगी राख्नु भएको छ, यहाँ रहेको विद्यार्थीले प्यास मेटाउने गरि पानी पिउन पाएका छैनन्, राम्रोसँग सरसफाइ गर्न पाएका छैनन्, हाँचे दहदेखि पाइपलाइन मार्फत ल्याउने भने पनि मुलको सहमति नभएपछि ल्याउन सकिएन, अब वडा नम्बर २ बाँसखोलाबाट खानेपानीको व्यवस्थाप गर्ने गरि काम अगाडि बढाएका छौँ, यो योजना सफल भयो भने थोरै भए पनि यस ठाउँका नागरिकलाई राहत मिल्ने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *