बागलुङहुँदै पोखरा पुग्छ रायडाँडाको रायोको साग


खेमराज गौतम, बागलुङ
गाउँबाट खाली फर्केका सवारीसाधनहरु बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीय उत्पादनहरुको उपभोग हुने गर्दछ ।

तर बागलुङको रायडाँडामा भने यो लागु हुँदैन । यहाँका किसानहरुले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउनेगरेका छन् । यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ । अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरा सम्म पुग्ने गरेको छ । कृषिमा निकै संभावना बोकेको रायडाँडामा उत्पादन भएको साग अहिले ब्राण्ड बनिसकेको छ । यहाँका किसानले व्यवसायीक रुपमानै रायोको साग खेतिगर्दै आएका छन् । रायडाँडाबाट प्रत्येक बिहान रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गरेको छ ।

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मानिर्भर रहेको छ । यहाँका किसानले दैनिक एक पिक आप जिप भरी साग मात्रै बागलुङ बजार पठाउदै आएको स्थानीय हिरा बहादुर थापाले बताउनुभयो । थापाले यहाँको साग मौसमी र बेमौसमी दुबै समयमा उत्पादन भइरहेको बताउनुभयो । “दैनिक जसो एक जीप भरी रायोको साग बागलुङ बजार पुग्छ, चिसो ठाउँमा उत्पादन भएको रायोको साग बागलुङ बजारका व्यवसायीले धेरै मुल्य पार्न पोखरा पठाउने गरेका छन्” थापाले भन्नुभयो “हिले रायडाँडाको साग भनेपछि मुल्य समेत बढी पर्न थालेको छ, रायडाँडाको साग पाएपछि उपभोक्ताले समेत मुल्यमा सम्भलौता गर्दैनन्, अहिले ताराखोलाको आलु र भाङ्गो भनेजस्तै रयडाँडाको साग भन्ने ब्राण्ड नै बनिसकेको छ ।”

यहाँका बालिका थापा, रुद्र बहादुर थापा, दल बहादुर थापा, चन्द्र बहादुर थापा, तिल माया थापा, टिका बहादुर थापाले वार्षिक दुई लाख सम्म सागबाटै कमाउनेगरी पाखोबारी भरी साग खेती गर्दै आएको बताउनुभयो ।

रयडाँडा टढाको गाउँ भएकाले बर्खामा भने बजारीकरणका लागिे अझै समस्या रहेको थापाको भनाई छ । वर्खामा गाडी नचल्दा उत्पादन भएको साग गाई भैसीलाई हाल्नु पर्ने बाध्यता रहेको उनिहरुको भनाई छ । “एक वर्षमा रायोको साग मात्रै बिक्रि गरेर एउटा किसानले तीन लाख सम्म कमाएको रेकर्ड छ, बजारमा मुल्य भने स्थिर छैन, अहिले धारापानीबाट एउटा जीपभरी साग मात्रै बजार जान्छ, कहिले धेरै कहिले थोरै मुल्य पर्छ, न्यूनतम २० रुपैया मुठोमा बिक्रि भएको पाइन्छ, त्यहाँका व्यापारीले हाम्रो साग पोखरा पठाएको समेत पाइन्छ” साग किसान बालिका थापाले भन्नुभयो “यहाँको कालो माटोमा रायोको साग निकै झङ्गीन्छ, यहाँको साग खाएपछि अर्कोपटक माग आइहाल्छ, माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो, बजारको तीन वटा पसलमा रायडाँडाको रायोको साग जुन सकै समयमा खरिद गर्न सकिन्छ ।”

साग सस्तोमा विक्रि भएपनि उत्पादन धेरै गर्न सके राम्रो फाइदा हुँने स्थानीय रुद्र बहादुर थापाले बताउनुभयो । यहाँको साग दैनिकजसो टिप्न सकिने बताउदै थापाले माग बढेपछि उत्पादन बढाउन थालिएको बताउनुभयो । “अहिले प्रचार प्रसार धेरै भएपछि माग समेत बढेको छ, रयडाँडाको साग पोखराका ठूला होटलमा समेत पुग्न थालेपछि साग खेती विस्तार गरिरहेका छौं” उहाँले भन्नुभयो “गाउँबाट रित्ता सवारी पठाएर बजारबाट भरेर गाउँ ल्याउने चलनलाई रायडाँडाले फकर सन्देश दिएको छ, यहाँबाट प्रत्येक दिन रायोको साग, मुला, काउली र बन्दाले भरिएको जीप बागलुङ बजार पुग्छ ।”

बसाईसाईको चपेटामा रहेको रायडाँडाको धारापानीमा बगर बस्ती भएकाले कम बसाईसराई छ । उनिहरुले रायोको साग संगै मुला, काउली र बन्दा समेत उत्पादन गर्दै आएका छन् । बागलुङ नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको ११ नम्बर वडा रायडाँडा बसाईसराईले उजाडिएको गाउँ हो । तर यहाँको रायडाँडाको धारापानीका किसानले साग बिक्रिबाटै राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट भएपछि उपभोक्ताले खोजी–खोजी खाने गर्दछन् । यहाँको सागलाई शुरुमा सहकारीमार्फत बजारीकण गर्न सघाएको बागलुङ नगरपालिका–११का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले किसानलाई बजारीकरणमा सघाएपछि अहिले किसानले आफै विक्रि गर्न थालिसकेको गोतमको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *