बानपाको सार्वजनिक सुनुवाई तित्याङमा


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकसम्म ३४ प्रतिशत पुँजीगत खर्च गरेको छ । बागलुङ नगरपालिका—९ तित्याङमा बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले उक्त प्रगति सार्वजनिक गर्नुभएको हो ।
कँडेलले सार्वजनिक गरेको विवरणमा ३४.०६ प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे । ‘अहिलेसम्म पुँजीखच भएको खर्च ३४ प्रतिशत छ धेरै योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा छन्’उहाँले भन्नुभयो ‘पुँजीगत खर्चको प्रगति ह्वात्तै बढ्छ ।’ उहाँले चालुतर्फ ५९.८७ र वित्तीयतर्फ ४१.८६ प्रतिशत प्रगति भएको जानकारी दिए । समग्रमा यो आर्थिक वर्षको दोस्रो चौमासिकसम्म ५०.५३ प्रतिशत आर्थिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।



बागलुङ नगरपालिकाले यो आर्थिक वर्षमा कुल चार सय ५९ योजना सम्झौता गरेकामा १७४ योजना निर्माण सम्पन्न भैसकेका छन् । ४१ योजनाको पेश्की निकासा भएर काम भैरहेको छ भने दुई सय ८५ योजना निर्माण सम्पन्न हुन बाँकी रहेको छ । यो आर्थिक वर्षमा १८ किलोमिटर सडक मर्मत, ८४ मिटर तारबार निर्माण, एउटा खानेपानी ट्याङ्की निर्माण, चार सय ६५ मिटर पाईप खरिद, एउटा भवन निर्माण र एउटा ट्रस भवन निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका भित्रका ६ सय ५८ लाभग्राहीलाई कुल एक करोड ८८ लाख दुई हजार एक सय ९५ रुपैयाँ सामाजिक सुरक्षा भत्ता तेस्रो त्रैमासिकसम्मको भुक्तानी गरेको पनि नगरपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय गणेश बहादुर जिसीले चिनीयाँ कम्पनीले अघिल्लो पटक आएर उत्खनन् सुरु गरेको तामाखानीले आफुहरु असुरक्षित भएको भन्दै आफुहरुको सुरक्षाका लागि के व्यवस्था हुन्छ र अहिले भागेर गएको कम्पनी कहिलेबाट पुनः काममा फर्किन्छ भनेर प्रश्न राखेका थिए । देवबहादुर थापाले विद्युतको पोल ढलेको वषौं हुँदासम्म पुनः पोल गाड्ने काम नभएको, बोमबहादुर केसीले खानेपानीको समस्या भएको र एक घर एक धारा कहिलेसम्म बन्छ ?, प्रेमराज पौडेलले रायडाँडा जाने बाटोले कुलो पुरेको र त्यसको मर्मत हुन नसकेको गुनासो राख्नुभएको थियो ।


विष्णु थापामगरले बजारमा रहेको वडाबासीलाई वडाको सेवा कसरी उपलब्ध गराउन सकिन्छ, ग्रामिण सडकहरुमा पक्की नाली निर्माण कहिले हुन्छ भनेर प्रश्न राखेकी थिईन् । टेकबहादुर परियारले निर्वाचनको बेला ठूल ठूला बाचा गर्ने जनप्रतिनिधिहरुले जनताको समस्या सुन्न कहिले गाउँ आउँछन् भनेर जिज्ञासा राखेका थिए । लोकराज पौडेलले पदमार्गको व्यवस्था गर्नुपर्ने, राबहादुर खड्काले खानेपानी योजनाका लागि निर्माण भएका ट्याङ्की खाली रहेको, विद्यालय स्थगन र डाउनसाईज गर्दा बालमैत्री नगर अभियानलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर प्रश्न गर्नुभएको थियो ।

मनिष थापाले सडकको दुरावस्थाबारे प्रश्न उठाउँदा अर्जुनचन्द्र शर्माले नगरप्रमुखले तोक लगाएको कागज कर्मचारीले कार्यान्वयन नगरेको गुनासो गरेका थिए । बद्रप्रसाद पौडेल, शिव खड्का र गणेश जिसीले अदालत चौपारीबाट तित्याङ हुँदै रायडाँडा जोड्ने सडक कहिले बन्छ ?, सरकारी कर्मचारी शिक्षक, जनप्रतिनिधिले आफ्ना छोराछोरी कहिले सामुदायिक विद्यालयमा पढाउँछन् ? आफतकालिन एम्बुलेन्स सेवा सञ्चालन गर्न सकिन्छ सकिदैन भनेर प्रश्न गरेका थिए । कार्यक्रमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नागरिकलाई सहज र सरल सेवा प्रवाह गर्दै विकास निर्माणको कामलाई गति दिने प्रयास गरिरहेको बताउनुभयो ।
‘हाम्रा आवश्यकताहरु धेरै छन्, तर हामीसंग स्रोतको सिमितता छ’ उहाँले भन्नुभयो ‘सिमित स्रोतको उपयोग गर्दै अधिकतम काम गर्ने र नागरिकलाई राहत दिने पक्षमा हामी लागेका छौं ।’ उहाँले नागरिकका माग अनुसार स—साना काम र योजनाहरु बजेट विनीयोजन गर्नुपरेका कारण ठूलो र देखिनेगरी काम गर्नका लागि समय लागेको बताउनुभयो ।

बानपा—९ तित्याङमा झण्डै २५ करोड लागतको ब्लुहिल पर्यटन योजना अगाडि बढेको भन्दै अन्य ठाउँहरुमा यस्तै खालका योजना अगाडि बढाउने जानकारी गराउनुभयो । ‘८ वर्ष अगाडि पञ्चकोट सुनसान डाँडो थियो, अहिले सबैका लागि गन्तव्य बनेको छ’ उहाँले भन्नुभयो ‘त्यसरी नै हरेक वडामा ठूला योजना सञ्चालन गरेर गौरवको योजना रुपमा अगाडि बढाउने र त्यसबाट नागरिकले लाभ लिने वाताबरण सिर्जना गर्ने पक्षमा छौं । ठूला योजनाहरु अगाडि बढ्दा साना योजनाहरुसंगै जोडिएर आउँछन् ।’ सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न र छरिएर रहेको स्रोत र जनशक्तिको सदुपयोगका लागि विद्यालय स्थगन र डाउनसाईजिङको प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

‘यो पटक आधारभूत तहमा गरेका छौं, अर्को वर्ष माध्यमिक तहमा पनि हुन्छ’ उहाँले भन्नुभयो ‘उपलब्धी नहुने ठाउँमा स्रोत साधन खर्च नगरी त्यसलाई व्यवस्थीत गर्ने र सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम गर्ने हाम्रो प्रयास हो ।’

उहाँले बागलुङ बजार क्षेत्रमा सडकपेटी व्यवस्थीत गर्ने काम सुरु भएको, ढल व्यवस्थापनका योजना सञ्चालनका लागि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी, पत्रकार संगम घर्ती मगरले सहजीकरण गरेकोे कार्यक्रममा पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले नागरिक सन्तुष्टी सवेक्षण प्रतिवेदन र सदस्य नारायण रिजालले सार्वजनिक सुनुवाई आचारसंहिता बारेमा जानकारी गराउनुभएको थियो । बागलुङ नगरपालिका—९ का वडाध्यक्ष राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बागलुङ नगरउपप्रमुख राजु खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *