घट्यो चैते दशैंको भेटी


खेमराज गौतम, बागलुङ
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दशैंको अवसरमा रु. ४० लाख भेटी संकलन भएको छ ।

कालिका मन्दिरमा वडा दशैं र चैते दशैंमा सबैभन्दा बढी भेटी संकलन हुँदै आएको छ ।
कालिका मन्दिरमा यस पटकको चैते दशैं (नवरात्री)को अवसरमा रु. ४० लाख ७२ हजार ५५८ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
खड्काका अनुसार गत वर्षको चैते दशैंको अवसरमा संकलित भेटीको तुलनामा यस पटक रु. ११ लाख कम भेटी संकलन भएको छ । गत वर्षको चैते दशैंको अवसरमा रु. ५१ लाख भेटी संकलन भएको थियो ।

नवरात्र शुरु भएपछि चैते दशैं अवधीभर पाँच लाख भन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेको थिए । उनिहरुले चढाएको भेटी, नगद सहयोग, बली लगायतबाट उक्त रकम रु.४० लाख ७२ भेटी चढाएका छन् ।

चैते दशैंको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलीको संख्या घटेकाले अघिल्लो चैते दशैंको तुलनामा रु.११ लाख कम भेटी संकलन भएको खड्काको भनाई छ ।

“यस पटकको चैते दशैंमा दर्शनार्थी बढेको तर बली घटेको पाइएको छ, बली घट्दासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको संख्या क्रमश बढ्दै आएको हामीले पाएका छौं, चैते दशैंमा पाँच लाख भन्दा बढी धार्मिक पर्यटकहरु मन्दिरमा आएका छन्” खड्काले भन्नुभयो “चैते दशैंको नवरात्र अवधीभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते दशैं)को दिनमा रु. ९ लाख १८ हजार भेटी संकलन भएको छ ।”

खड्काका अनुसार चैते दशैंको पहिलो दिनमा रु. ५ लाख ९९ हजार ८०, दोस्रो दिन रु.२ लाख ८७ हजार ३०, तेस्रो दिन रु. २ लाख ४७ हजार ५०, चौथो दिन रु.२ लाख ६८ हजार ८०, पाँचौं दिन रु. ८ लाख ४६ हजार ५०५, छैटौं दिन रु. २ लाख ४६ हजार ५८४, सातौं दिन रु.३ लाख ८२ हजार ५०५, आठौं दिन रु. ९ लाख १८ हजार ४६५ र चैते दशैंको अन्तिम नवौं दिन रु. ३ लाख ३८ हजार ४५९ भेटी संकलन भएको छ ।

यस पटकको चैते दशैं २०८० चैत २७ गते देखि २०८१ वैशाख ५ गते सम्म परेको थियो । कालिका मन्दिरमा चालु आर्थिक वर्षको साउन महिनामा रु. ८ लाख ६५ हजार, भदौं महिनामा रु.१५ लाख ९० हजार ४८१, असोजमा रु. १७ लाख ९७ हजार ९६१, कात्तिकमा रु.४८ लाख ३१ हजार, मंसिरमा रु. ३६ लाख ६६ हजार, पुषमा रु. २३ लाख ८९ हजार, माघमा रु. १९ लाख ७२ हजार, फागुनमा रु. ३५ लाख ११ हजार र चैतमा रु. ३७ लाख ६४ हजार भेटी संकलन भएको थियो ।

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु. ३ लाख १४ हज६४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *