सहकारीको साख बढाउन सबै सक्रियता पूर्वक लागौ : अध्यक्ष कँडेल

आदर्श अनलाइन, पोखरा
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गरी सहकारीको साख बढाउन सबैको सक्रिय र रचनात्मक सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड कास्कीको ५० औं वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन पछि बोल्दै अध्यक्ष कंडेलले सहकारीको साख बढाउन सबैलाई आव्हान गर्नु भएको हो ।

सहकारीका मूल्य मान्यता नमान्ने केही सहकारीले गरेको बद्मासीका कारण आम सहकारी क्षेत्रको साखमै प्रश्न चिन्ह खडा भएको भन्दै अध्यक्ष कंडेलले सहकारीको साख पुरानै अवस्थामा लैजानका लागि सबै सहकारी संघ संस्था र सहकारीकर्मीहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

सहकारीलाई सहज रुपमा अगाडि बढाउनका लागि कर्जा सूचना केन्द्रको स्थापना लगायत सहकारी ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकारलाई आग्रह गर्दै कंडेलले सहकारी र सरकार मिलेर सहकारीको साख बढाउनु पर्ने बताउनुभयो ।

सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले स्वनियमबाट सहकारी सञ्चालन हुनुपर्ने खाँचो औंल्याउनुभयो । उहाले सहकारी ऐन, नियम, नीति र विधिबाट सञ्चालन गर्नुपर्ने भन्दै स्वार्थ केन्द्रित भएर सहकारी सञ्चालन गर्दा विभिन्न खालका समस्या निम्तिने बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष सावित्रा कोइरालाले संस्थाको वार्षिक गतिविधि र भावी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरी, राष्ट्रिय सहकारी बैंक लिमिटेडका लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्र कुमारी पराजुली, सप्तगण्डकी दुग्ध उत्पादक संघका अध्यक्ष पूण्यप्रसाद पौडेल, सहकारी म्यानेजर्स क्लव कास्कीका अध्यक्ष अपिल कोइराला लगायतले सहकारीहरुको पछिल्लो समस्या समाधान गरेर अघि बढ्नुपर्ने र सहकारी क्षेत्रमा देखिएका विकृति, विसंगति अन्त्य गर्नुपर्नेमा जोड दिनु भएको थियो । ।

संघका अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्विका गौतमले सहकारी सिद्धान्त वाचन र महासचिव दीपक बास्तोलाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सो अवसरमा सहकारीको क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *