कतारका राजाको नेपाल आगमन र अपेक्षा

सम्पादकीय
नेपालीको वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्येको एक हो कतार । जुन देशका राष्ट्राध्यक्ष अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । भ्रमणका अवसरमा नेपाल सरकारले मंगलवार देशभर सार्वजनिक बिदासमेत दियो । राष्ट्रपति रामचन्द्र पौडेल स्वंयम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर शेखलाई स्वागत र विदाइ गरे । संयोग, गणतन्त्र स्थापना गर्ने निर्णायक आन्दोलन सफल भएको बैशाख ११ गते नै कतारमा राजा अमिरलाई नेपालमा भव्य स्वागत गरियो । विसं २०६३ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनकारीहरूका सबै माग स्वीकार गरेका थिए । त्यही शान्तिपूर्ण आन्दोलनको उपलब्धिमध्ये गणतन्त्र पनि एउटा हो ।

कतारका राष्ट्र प्रमुखको भ्रमणका क्रममा नेपाल कतार बिच केही महत्वपूर्ण सम्झौता र समझदारी भएको छ । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य हुने भएको छ । जनसंख्या र क्षेत्रफलका आधारमा कतार नेपाल भन्दा करिब १० गुना सानो छ । तर, कतारको प्रतिव्यक्ति आय भने नेपालका तुलनामा ४२ गुना बढी छ । मूलतः खनिज तेलको आयबाट समृद्ध भएको कतारले मध्यपूर्वको राजनीतिमा विशेष रणनीतिक भूमिका खेल्दै आएको छ । आर्थिक हैसियतसँगै कूटनीतिक सक्रियताका कारण कतारका अमिर थानीको भूमिका महत्वपूर्ण छ । यसलाई नजिकबाट राम्ररी नियालेको नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालमा कतारका अमिरको स्वागत र सम्मानमा कुनै कमी हुन नदिने प्रयास ग¥यो । नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक भएकाले कतारका शासक अमिरको भव्य स्वागत गरिनु सायद अनपेक्षित पनि होइन । भलै उनको स्वागत सम्मानका खातिर सरकारले सार्वजनिक विदा दिने र अमिरको स्वागत गर्न राष्ट्रपति स्वयं विमानस्थल जाने निर्णयको व्यापक आलोचना भयो ।

थानीको भ्रमणले दुई देश बिचको आपसी सम्बन्धलाई थप मजबुत बनाएको छ । आर्थिक सहयोग, वैदेशिक लगानी, रोजगारीजस्ता विषयहरू परस्परको लाभमा आधारित भए पनि भ्रमणले यसलाई थप सहज र सकारात्मक वातावरण बनेको छ । धनी मुलुक कतार नेपालीको वैदेशिक रोजगारको प्रमुख गन्तव्य भएकाले कामदारको सुरक्षा, रोजगारलाई थप मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउने सवाल छ । रोजगार र सहायताका प्रस्तावित सम्झौताहरूका साथै कतारको प्रत्यक्ष वैदेशिक लगानीको विषय पनि नेपालले प्राथमिकताका साथ प्रस्तुत गरेको छ । यसमा थानीले सकारात्मक रुपमा लिएर केही नीतिगत र ठोस काम हुन सके भ्रमणले सार्थकता पाउने छ । यस भ्रमणमा गत वर्ष इजरायलमा गरेको आक्रमणका क्रममा हमासले अपहरण गरी बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ र कतारको रङ्गशाला निर्माणका क्रममा नेपाली श्रमिकहरूको ज्यान गएको घटनाप्रति पनि कतारका अमिरको ध्यान आकृष्ट गरेको छ । हमासको नेतृत्वलाई प्रभावित गर्न सक्ने प्रमुख व्यक्तिहरूमा कतारका अमिर थानी पनि मानिन्छन् । तर, विपिन जोशीको रिहाइका लागि कतारका अमिरले नेपालको आग्रह अनुसार मानवीय संवेदना र सदाशयता देखाएर सार्थक पहल गरेमा भ्रमणको अर्को एक महत्वपूर्ण उपलब्धि हासिल हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *