महाभूकम्पको सम्झनाः सुस्त पुनर्निर्माण र सरकार

सम्पादकीय
२०७२ साल वैशाख १२ गते, नेपाली क्यालेण्डरको पानाको निरन्तरतामा मात्र छैन, सिंगो नेपाल र नेपालीका लागि एक कालो दिनको रुपमा स्मरणीय छ । त्यो कहालीलाग्दो क्षण अझै पनि मानसपटलबाट पूर्णत बाहिरिसकेको छैन । ०७२ को महाभूकम्पले पु¥याएको जनधनको क्षति अपुरणीय छ । महाभूकम्पमा परी ज्यान गुमाएका परिवारको पीडा त छदैछ, त्यसबाहेक तत्कालीन समयमा ध्वस्त भएका निजी तथा सार्वजनिक भौतिक संरचनाहरुको पुनर्निर्माणको प्रगति हेर्ने हो भने निराशाजनक अवस्था देखिन्छ । जसले नेपाल कति सुस्त गतिमा अघि बढिरहेको छ ? ९ वर्ष सम्म पनि ठोस उपलब्धि हासिल हुन नसक्ने बिडम्बनापूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको छ ।

महाभूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन बाँकी छन् भने सिंहदरबार र धरहराजस्ता ऐतिहासिक संरचना निर्माण पनि अधुरै छन् । यद्यपि, भूकम्पपछिको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ९ पुस ०७८ मा विघटन भइसकेको छ । बाँकी निजी आवास, सरकारी भवन तथा अस्पताल पुनर्निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गर्दै आएको छ । प्राधिकरण विघटन हुनु अघिल्लो दिनसम्म पुनर्निर्माणमा सरकारले तीन खर्ब ७१ अर्ब रुपैयाँ खर्च गरेको थियो । त्यसपछि विभागले मात्रै पुनर्निर्माणमा पाँच अर्ब ४८ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । भूकम्पबाट विस्थापित आठ लाख ३३ हजार ८२१ घर–परिवारमध्ये आठ लाख ३२ हजार पाँच सय ८२ लाभग्राहीसँग आवास निर्माणका लागि अनुदान सम्झौता भएको थियो । त्यसमध्ये सात लाख ४१ हजार सात सय ९८ लाभग्राहीले मात्रै सम्झौताअनुसार निजी आवास निर्माण गर्न सके । ९२ हजार २३ लाभग्राहीले भूकम्पमा ध्वस्त भवन निर्माण गर्न सकेका छैनन् । अर्थात्, भूकम्पबाट विस्थापितमध्ये ८८.९६ प्रतिशत लाभग्राहीको मात्रै निजी आवास बनेको छ ।

महाभूकम्प बिर्सनलायक घटना हो । सर्वसाधारण मात्र होइन, करोडपतिहरुलाई समेत कैयन दिन सम्म सडक र खुल्ला चौरमै बास बस्ने बनाएको महाभूकम्पले जीवन र देशको दिगो विकासका लागि धेरै पाठ सिकाएको थियो । तर, त्यो घटना र पाठ सरकार, सरोकारवाला र आम नागरिकहरुले बिर्सेर फेरि मनपरी संरचना निर्माण गर्ने क्रम जारी छ । जसले भूकम्पको उच्च जोखिम रहेको नेपालमा कुन दिन पुरानै नियतिमा पु¥याउँछ, केही भन्न सक्ने अवस्था छैन । अर्को तर्फ महाभूकम्प गएको नौ वर्ष सम्म पनि पुर्ननिर्माणको काम सम्पन्न हुन नसक्नुले देशको बेथिति र सुस्तता प्रष्ट हुन्छ । अब यी र यस्ता विषयमा गम्भीर छलफल, मन्थन गरेर अघि बढ्न अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *