तमानखाेलामा मातृशिशु मृत्युदर शून्य

डम्मर बुढा मगर, बागलुङ
अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारै तिर भिर पहरा । एक गाउँदेखि अर्को गाउँसम्म पुग्न घण्टौँ लाग्ने । वर्षौँदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपि रहेको बागलुङ तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ । आधा दशक अगाडिसम्म सामान्य स्वास्थ्य सेवा लिनका लागि दिनै भरि लगाउने पर्ने तमानखोलावासी अहिले प्रत्येक गाउँबाट आधा घण्टा हिँडे पुग्छ ।

छोटो समयमै स्वास्थ्य क्षेत्रमा फड्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रुपमा लिइन्छ । दुर्गम हुँदा हुँदै पनि तमानखोलामा मातृशिशु मृत्युदरमा शून्य छ । जसको कारण हो, गाउँ–गाउँमा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सचेतना । बिरामी हुँदा झाँक्री धामीको झारपुकमा विश्वास राख्ने स्थानीय अहिले अस्पताल पुग्छन् ।

नजिकैको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी व्यथा लाग्नु अगाडिनै बर्थिङ सेन्टर पुग्ने हुँदा यस पालिकामा मातृशिशृ मृत्युदर शून्यमा झरेको छ । गाउँपालिकाका हरेक बस्तीका महिलाहरुलाई नियमित गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामै सुत्केरी हुनु पर्छ भन्ने सोँचको विकास भएको छ । स्थानीय तह आउनु पूर्व तमानखोला गाउँपालिकामा तीन वटा स्वास्थ्य चौकी मात्रै थिए । तर अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्थाहरु स्थापना भएर सेवा प्रवाह गरि रहेका छन् ।

तीन वटा स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका हजारौँ तमानखोलावासीलाई अहिले ठाउँ–ठाउँमा स्वास्थ्य संस्थाले उपचारमा सहजता पु¥याएको छ भने स्वास्थ्य समबन्धि सचेत पनि गराई रहेको छ । स्वास्थ्य चौकी टाढा हुँदा घरमै सुत्केरी हुने महिला अहिले बर्थिङ सेन्टरमै पुगेर बच्चा जन्माउने गरेका छन् । जसले गर्दा आमा र बच्चा सुरक्षित हुने गरेका छन् ।

तमानखोला गाउँपालिकाले अहिले वडा नम्बर १ को बोङ्गादोभान स्वास्थ्य चौकी, वडा नम्बर ३ को तमान स्वास्थ्य चौकी, वडा नम्बर ५ को खुङ्खानी स्वास्थ्य चौकी र वडा नम्बर ६ को आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर संचालन गरेको छ । तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बर्थिङ सेन्टर बढाएर सेवा दिन थालेसँगै महिलाहरु सचेत भएको मातृशिशु मृत्युदर शून्य भएको बताउनुभयो ।

पहिले जनचेताको कमी र स्वास्थ्य संस्था टाढा हुँदा धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको भन्दै अहिले स्वास्थ्य संस्थाको दायरा बढाए समुदायसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वएंसेविकाहरु पुगेर जनचेतना मुलक कार्यक्रम गर्न थालेपछि त्यो समस्या अन्त्य भएको संयोजक छन्त्यालले बताउनुहुन्छ । अहिले ‘होमडेलीभरी’ पनि शून्य भएको उहाँको भनाइ छ ।

“पछिल्लो समय स्वास्थ्यमा धेरै परिवर्तन भएको छ, गाउँका महिला दिदीबहिनीहरु पनि सचेत बन्दै जानु भएको छ, अहिले उहाँहरुलाई बिरामी पर्दा साथ अस्पताल जानु पर्छ भन्ने लागेको छ, नियमित गर्भ जाँच गर्ने, केही समस्या भए, स्वास्थ्यकर्मीलाई फोन गर्ने गर्नुहुन्छ, समय–समयमा हामीहरु पनि समुदायमा पुगेर सचेत गराउने काम गरेका छौँ” छन्त्यालले भन्नुभयो – “पहिले घरमै सुत्केरी हुने गर्थे, गर्भ जाँच गर्दा लगाउने अस्पताल आउन नमान्ने अवस्था थियो, त्यसले गर्दा आमा र बच्चाको मृत्यु भएका घटनाहरु धेरै थिए, तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।”

स्थानीय मनकुमारी रसाइलीले घर नजिकै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँ धेरै महिलाहरु नियमति चेकजाँचका लागि जाने गरेको बताउनुभयो । भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म महिलाहरुलाई सुत्केरी ब्यथाले च्याप्यो भने डोकोमा बोकेर अस्पताल पु¥याउने गरेकोमा अहिले त्यो अस्थिती नरहेको उहाँको भनाइ छ । त्यसरी डोकोमा बोकेर लैजाँदा कोहीले अस्पतालमा पुगेर बच्चा जन्माउने गरेको र कोही बाटोमै सुत्केरी हुने गरेको रसाइलीले बताउनुभयो ।

उहाँले भन्नुभयो – “पहिले–पहिले गाउँमा अहिलेको जस्तो बाटोघाटो थिएन, गाडी चल्दैनथे, गाउँमा अस्पताल पनि थिएन, अहिले मोटर गाडी पनि गाउँमा आएर गाउँमै बिमार भएर उपचार गराउन पाइयो, उति बेला कोहीलाई सुत्केरी ब्यथा लागेर बच्चा जन्मेन भने डोकोमा बोकेर दिनभरी हिँडालेर अस्पताल पु¥याउनु पथ्र्यो, त्यसरी अस्पताल लैजाँदै गर्दा कोही बाटोमै सुत्केरी हुन्थे, कोही अस्पतालमा, कोहीको बीच बाटोमै मृत्यु हुन्थ्यो, नजिक अस्पताल भएपछि त्यस्तो घटना भएको छैन ।”

छ वटा वडा रहेको तमानखोलामा चार स्थानमा बर्थिङ सेन्टर रहेका छन् । बर्थिङ सेन्टर छ वटै वडाका नागरिकका लागि पायक पर्छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले आम नागरिकलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य चौकीसँगै स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको बताउनुभयो ।

गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको उहाँको भनाइ छ ।

“हामीहरु सुरुवाति दिनदेखिनै यहाँको स्वास्थ्य क्षेत्रको सुधार गरेर नागरिकको जीवन रक्षा गर्नु पर्छ भन्ने हिसाबले काम गरि रहेका छौँ, कोही पनि नागरिक सामान्य उपचारका लागि दिन भरि लगाएर स्वास्थ्य संस्था पुग्नु पर्ने अवस्था छैन, पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले आधा घण्टामै पुग्न सक्ने भएका छन्,” अध्यक्ष बुढा मगरले भन्नुभयो – “स्वास्थ्य संस्थाको विस्तार, स्तरोन्नती र प्रभावकारी सेवा प्रवाहसँगै गत वर्षदेखि एम्बुलेन्स सेवा पनि सुरु गरेका छौँ, जसले यहाँका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *