विद्यार्थी संख्या घटेपछि विद्यालय समायोजन गर्दै गलकोट नगरपालिका

डम्मर बुढा मगर, बागलुङ
गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरि रहेको छ । नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वन गर्न गरि रहेको छ । हालसम्म गलकोटका १२ वटा विद्यालय समायोजन भइ सकेको छन् भने केही हुने चरणमा छन् । भौतिक रुपमा विद्यालय सम्पन्नता भए पनि विद्यार्थी नहुँदा पठनपाठनमा समस्या हुने गरेको छ । नगरपालिकाले विद्यालय समायोजनसँगै तहमिलामसमेत गरि रहेको छ । पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिका भरी ७४ वटा सामुदायिक विद्यालय थिए ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि नगरपालिका वि.सं.२०७५ देखि विद्यालय तह मिलान तथा समायोज गर्न थालेको हो । भौगोलिक दूरी र विद्यार्थी संख्याको आधारमा कतिपय विद्यालयलाई समयोजन र कतिपयलाई तह मिलान गर्दै आएको छ । अहिले गलकोट नगरपालिकामा ६२ वटा सामुदायिक विद्यालय संचालनमा रहेका छन् । जस मध्ये १३ वटा माध्यमिक तह र ५१ वटा आधारभूत तहका विद्यालय छन् । अघिल्लो वर्ष मात्रै नगरपालिकाले छ वटा विद्यालय समायोजन र पाँच वटा तह मिलान गरेको थियो । दिनप्रति दिन विद्यार्थी घटेपछि नगरपालिकाले तह मिलान तथा समायोज गर्दै आएको हो । विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई नगरपालिकाले यातायातको व्यवस्था गर्दै आएको छ ।

तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा १५ जना, १–५ मा २५, ६–८ मा २१, ९–१० मा २५ र ११–१२ मा २५ जना विद्यार्थी हुनु पर्ने मापदण्ड रहेको गलकोन नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले बताउनुभयो । ग्रामीण क्षेत्रका विद्यार्थी कम भएपछि यस वर्ष करिब पाँच वटा विद्यालय समायोजन गर्ने उहाँको भनाइ छ । हाल गलकोटमा अहिले आठ हजार विद्यार्थी अध्ययनरत रहेको खड्काले जानकारी दिनुभयो । विद्यालय समायोजन तथा तह मिलान गर्दा शिक्षक नपुगेका विद्यालयमा व्यवस्थापन गर्न सहज हुने र शैक्षिक गुणस्तरलाई बढाउन सकिने उहाँको भनाइ छ । विद्यायल समायोजनपछि शैक्षिक सुधारसमेत हुँदै गएको खड्काले बताउनुभयो ।

“चार÷पाँच वर्षदेखिनै विद्यालय समायोजन र तह मिलान गर्दै आएका छौँ, विद्यालयमा विद्यार्थी कम भएपछि नगरपालिकाले कार्यविधि बनाएरै काम गरि रहेको छ, समायोजन र तह मिलानले केही विद्यार्थीलाई समस्या पर्छ भन्ने थियो तर नगरपालिकाले उनीहरुलाई यातायातको व्यवस्था मिलाएको छ,” शिक्षा अधिकृत खड्काले भन्नुभयो – “हरेक वर्ष गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्दो छ, विद्यालयलाई यथावत रुपमा संचालन गर्नका लागि नगरपालिकाले कार्यविधि बनाएको छ, कार्यविधिमा भए अनुसार विद्यार्थी संख्या कम भएपछि मात्रै समायोजन तथा तह मिलान गर्ने काम भएको छ ।”

गलकोट नगरपालिकाका प्रवक्त हिमबहादुर भण्डारीले गाउँका अधिकांश मानिसहरु बजार झरेपछि विद्यालय खाली भएको बताउनुभयो । खाली विद्यालयमा शिक्षक खटाउनुभन्दा विद्यार्थीलाई एकै ठाउँमा राखेर पठनपाठन गर्ने र शैक्षिक गुणस्तर बढाउने गरि नगरपालिका लागि रहेको बताउनुभयो । यहाँबाट धेरै संख्यामा विदेश गएको र आफ्ना बालबालिका पनि उतै लैजाने गर्दा गाउँका विद्यालयका विद्यार्थी अभाव भएको भण्डारीको भनाइ छ । गत वर्षदेखि वडा नम्बर ७ मा विद्यार्थीका घर–घरमा गाडी लिन जाने र अन्य वडाका विद्यार्थीलाई नगरपालिकाले यातायात खर्च दिने गरेको उहाँले बताउनुभयो ।

प्रवक्ता भण्डारीले भन्नुभयो – “पहिला गलकोटका सबै ठाउँमा विद्यार्थीको चाप थियो, शिक्षक व्यवस्थापन र विद्यालयको भौतिक अवस्था कमजोर थियो, तर अहिले सबै विद्यालयहरुमा पूर्वाधार पर्याप्त भएका छन् तर विद्यार्थी घटेर कम छन्, गाउँ अहिले सुनसान बनेका छन्, गलकोट बजार क्षेत्र र मध्यपहाडी लोकमार्ग छेउछाउमा बस्ती विकास हुँदै गयो माथिल्लो क्षेत्रबाट सबै तल झर्न थाले, त्यसले गर्दा नगरपालिकाले विद्यालय समायोन गर्न थालेको हो, धेरै विद्यालयका शिक्ष एकै ठाउँमा हुनुहुने भयो, यसले गर्दा शैक्षिक गतिबिधि केही सुधार भएको छ ।”

विद्यालय समायोजनपछि आजाभोली विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन् । गाडी घरमै लिन आएपछि विद्यार्थीहरु पनि उत्साहित भएका छन् । दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्याथीहरु अहिले केही मिनेटमै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती टोकरी गाउँ हो । यस गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनु पथ्र्यो ।

विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किँदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् । हिउँदमाभन्दा बर्खाको समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताउनुभयो । थापाले पोहोर सालसम्म निकै समस्या भोगेको सुनाउँदै यस वर्षदेखि गाडी घरमै लिन आउने हुँदा घण्टौँ हिड्नु पर्ने बाध्यता हटेको उहाँको भनाइ छ ।

“घरभन्दा स्कूल टाढा छ, धेरै समय घण्टौँ हिँडेर पढ्न जानु पथ्र्यो, विहाज चाँडै हिड्नु पर्ने र चार बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, बाटोमा बाघ र चितुवाको डर हुन्थ्यो, बर्खाको समयमा भिज्दै हिड्नु पथ्र्यो, अहिले घरमै गाडी आउने हुँदा पहिलेको जस्तो समस्या भोग्नु परेको छैन” उहाँले भन्नुभयो – “पहिला दुई÷तीन घण्टासम्म हिँडेर स्कूल आउजाउ गर्दा थकाइ लाग्थ्यो, थकाइले गर्दा पढ्न मन पनि लाग्दैनथ्यो, त्यसले गर्दा पढाई पनि राम्रो हुन सकेको थिएन, अहिले पढाई पनि राम्रो भइराखेको छ, कति बेला चार बज्ला र घर पुगौँला भन्ने हुँदैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *