बजेट र कार्यक्रम बनाएरै पर्यटकीय रुटको स्तरोन्नति गर्दै छौँ : अधिकारी

हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा पर्छ घरपझोङ गाउँपालिका । गाउँपालिकाले हालै पर्यटन महोत्सवको आयोजना गरेको थियो भने जिल्ला सदरमुकाम पनि रहेको पालिकामा के–कस्ता विकास निर्माण तथा अन्य कार्यहरु भएका छन् भन्ने सन्दर्भमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीसँग आदर्शकर्मी अमृत बास्कुनेले समसामयिक विषयमा गरेको कुराकानीको संपादित अंश :

मुस्ताङ जिल्लाको सदरमुकाम रहेको गाउँपालिकामा आउनु भएको छ कस्तो अनुभव गर्नुभएको छ ?

नेपालकै एक मनोरम, पर्यटकीय, ऐतिहासिक तथा धार्मिक रुपमा परिचित हिमाल पारीको जिल्लामा सेवा गर्न पाउनु मैले सौभाग्य मानेको छु । नेपाल सरकारको एक निजामती कर्मचारीको नाताले सबै भौगोलिक क्षेत्रमा सेवाको अनुभव लिनु आवश्यक पनि छ । अझ यस गाउँपालिकाका जनप्रतिनिधिज्यूहरु तथा कर्मचारीको समन्वयात्मक तथा सहयोगी व्यवहारप्रति खुशी लागेको छ । म यहाँ आएको धेरै भएको छैन, तर यहाँको काम गर्ने शैली अनि व्यवहार हेर्दा त निकै पुरानो भै सके जस्तो महशुष भएको छ ।

गाउँपालिकाको बजेट के कस्तो तयार भएको छ र लक्ष्य पुरा गर्न सम्भव देखिन्छ कि देखिदैन ?

यस गाउँपालिकामा आ.व. २०८०/८१ को लागि कूल रु. २८ करोड ५ लाख ५९ हजार ७ सय को बजेट गाउँ सभाबाट पारित भएको छ । जसमध्ये चालु खर्च रु. १९ करोड ३० लाख ६७ हजार ६ सय ४५ रुपैयाँ र पूँजीगत खर्च अर्थात विकास खर्च ८ करोड ७४ लाख ९२ हजार ५५ रुपैंयाँ अनुमान गरिएको छ । यस क्षेत्रमा विकासका पूर्वाधारहरु क्रमिक रुपमा निर्माण हुँदै गएको देखिएता पनि अझ धेरै प्रयास र बजेटको खाँचो पनि रहेको छ । असिमित आवश्यकता र सिमित स्रोत साधनको बीचमा तादम्यता मिलाउँदै गाउँपालिकाले बजेट निर्माण गरेको महशुस गरेको छु । यस आर्थिक वर्षमा गाउँपालिकाले तय गरेको सबै योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने गरी हामी अगाडी बढी रहेका छौँ । तसर्थ बजेट तथा कार्यक्रमको लक्ष्य हासिल गर्न असम्भव छैन भन्ने कुरामा पनि हामी ढुक्क छौँ ।

स्थानीय तहमा कर्मचारी व्यवस्थापन कसरी भएको छ ? का मगर्नलाई प्रयाप्त कर्मचारी छन् कि कस्तो अवस्था छ ?

हाम्रो गाउँपालिका दुर्गम हिमाली जिल्ला अन्तर्गत पर्दछ । दुर्गम भन्दा घर पाएक र सुगम जिल्ला तथा कार्यालयमा सेवा गर्न प्रायः कर्मचारीहरु इच्छुक रहने प्रवृत्ति देखिन्छ नै । तर पनि यस गाउँपालिकामा मुस्ताङ जिल्लाका अन्य गाउँपालिका भन्दा बढी नै कर्मचारीहरु, स्थानीय बासिन्दा रहेको हुँदा कर्मचारीको अति नै अभाव नभएता पनि दरबन्दी बमोजिम व्यवस्थापन हुन भने सकिरहेको छैन । रिक्त दरबन्दीमा हामीले प्रदेश लोक सेवा आयोगमा माग पनि गरिसकेका छौं । गाउँपालिकाको दैनिक सेवा प्रवाह र विकास निर्माणका कार्यकम सञ्चालन गर्न खासै समस्या रहेको छैन । तर पनि हाम्रोमा प्रयाप्त कर्मचारी भने रहेका छैनन् ।

गाउँपालिकामा राजस्व संकलनको अवस्था के छ ? करको दर निर्धारण कसरी गर्नुभएको छ ?

गाउँपालिकालाई आत्मनिर्भर बनाउन र संघीय सरकार तथा प्रदेश सरकारको अनुदान सहयोगमा मात्र निर्भर हुनु पर्ने परिस्थितिलाई न्यूनिकरण गर्न आन्तरिक आय नै सबल तथा निरन्तर वृद्धि हुनु आवश्यक छ । हाम्रो गाउँपालिकामा गत आर्थिक वर्षमा करिब १ करोड मात्र कूल राजस्व संकलन भएको देखिन्छ । जुन तुलनात्मक रुपमा सन्तोषजनक होइन । चालु आर्थिक वर्षमा पनि हाम्रो राजस्व प्रक्षेपण यसैको हाराहारीमा रहेको छ । यसका विविध कारणहरु रहेका छन् जस्तो कि हाम्रो गाउँपालिका दुर्गम स्थानमा रहेका कारण उद्योगधन्दा तथा व्यापार व्यवसाय न्यून मात्र रहेका छन् । अर्को तर्फ आन्तरिक आयको सम्भावना रहेको कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन् तथा बिक्री वितरण हो । यसमा सम्मानित सर्वोच्च अदालतको “स्टे अर्डर“ तथा अन्नपूर्ण संरक्षण क्षेत्रको पुरातनवादी, असंशोधित तथा संघीयतालाई नचिन्ने कानूनका कारण गाउँपालिका कानूनले गर्दा गाउँपालिकाले कुनै व्यवस्थापन गर्न नसकी हात बाँधेर बस्नुपर्ने अवस्थामा छ ।

जस्का कारण कालीगण्डकीको बहाव क्षेत्रमा ढुङ्गा, गिट्टी तथा बालुवा थुप्रिदै गई नदी तटिय बस्तीहरुमा नदी पस्ने खतरा बढी रहेको छ । यस तर्फ राज्यको ध्यान जानु अति आवश्यक महशुस गरेको छु । करको दर निर्धारण यहाँको जनसंख्या तथा भौगोलिक अवस्था अनुसार नै रहेको र दर भन्दा दायरा विस्तारमा नै ध्यान दिएको पाएको छु । आन्तरिक आय वृद्धिमा दायरा विस्तार गर्न हामी प्रयासरत रहेका छौं । यसको महत्वपूर्ण माध्यम कृषि तथा पर्यटनको विकास र प्रचार प्रसारमा विशेष ध्यान दिएका छौं ।

विश्वको ध्यान तान्ने मुक्तिनाथ मन्दिरको प्रवेश नाकाका रुपमा रहेको घरपझोङले आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो पालिका भित्र अड्याउन के कस्ता उपाय अपनाएको छ ?

तपाईँले भनेजस्तै हाम्रो गाउँपालिकाका नागरिकहरुको स्वरोजगारी, व्यापार व्यवसाय तथा आय आर्जनको महत्वपूर्ण माध्यम आन्तरिक तथा बाह्य पर्यटन नै हो । यसको लागि पर्यटकहरुको बसाई लम्ब्याउन सक्नु पर्ने हुन्छ । पर्यटकको बसाई लम्ब्याउन हाम्रा विविध पर्यटकीय, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थान तथा वस्तुहरुको संरक्षण, यातायातको सहज आवागमनको व्यवस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसारको आवश्यकता छ ।

हाम्रो मार्फा, ठिनी, जोमसोम लगायत सबै क्षेत्रमा फल्ने स्याउ, आलु, फापर लगायतका बालीहरुको व्यवसायिक तथा सामुहिक खेती विस्तार, पर्यटनको सम्भावना बोकेका ढुम्बा ताल, क्षमा ताल, निलगिरी बेस क्याम्प, घरपझोङ किल्ला, छैरों छहरा, इको म्यूजियम, तिलिचो जाने पदमार्ग, निलगिरी आइसफल, स्थानीय उत्पादनको थकाली खाना, होम्स्टेहरु, एप्पल ल्याण्ड जस्ता थुप्रै पर्यटकीय आकर्षणका माध्यमहरु रहेका छन् । हामी यिनीहरुको स्तरोन्नति तथा प्रचार प्रसारका माध्यमबाट पर्यटकहरुलाई पालिका क्षेत्रमा अड्याउन प्रयासरत छौं ।

यस गाउँपालिका भित्रका पर्यटकीय तथा धार्मिक महत्वका स्थानहरुको प्रचारका लागि के कस्ता योजना निर्माण गर्नुभएको छ ?

हामीसँग सिमित स्रोतसाधन परिचालन मार्फत आवश्यकताको परिपूर्तिको चुनौती त छँदैछ । हाम्रो कृषि उत्पादन, पर्यटन तथा धार्मिक महत्वका स्थानहरुको प्रचार प्रसारलाई तिब्रता दिने उद्देश्यका साथ गण्डकी प्रदेश, विभिन्न संघ संस्था, कार्यालय तथा सहयोगी हातहरुको साथ लिई यही असोज १८, १९ र २० गते ३ दिनसम्म गाउँपालिकाको प्राङ्गणमा कृषि तथा पर्यटन महोत्सव, २०८० सञ्चालन गरी भव्य रुपमा सम्पन्न गरेका छौं । यसले हामीलाई आगामी दिनमा पनि थप अरु कार्य गर्नकालागि प्रोत्साहन पनि मिलेकोछ ।

यस महोत्सवमा देखिएको मुस्ताङबासी तथा बाह्य पर्यटकहरुको उपस्थिति र सबैको साथ सहयोगले हामीलाई थप ऊर्जा मिलेको छ । आगामी वर्षहरुमा समेत थप व्यवस्थापनका साथ महोत्सवलाई निरन्तरता दिने हामीले योजना बनाएका छौं । त्यस्तै माथी उल्लेख गरिएका पर्यटनका सम्भावित गन्तव्यहरुमा थप सुधार तथा प्रचार प्रसार, फोहरमैला व्यस्थापन, बसपार्क व्यवस्थापन, सडक तथा पर्यटकीय रुटहरुको स्तरोन्नति लगायतका क्षेत्रमा बजेट तथा कार्यक्रम मार्फत हामी अगाडी बढी रहेका छौं ।

अन्त्यमा केही भन्नु छ कि ?
मुस्ताङ जस्तो रमणीय धार्मिक तथा पर्यटकीय जिल्लाको केन्द्रमा अवस्थित गाउँपालिकाको प्रशासकीय प्रमुखको रुपमा काम गर्ने जिम्मेवारी पाउँदा खुशी छु । जहिले सम्म म यस ठाउँमा रहन्छु तबसम्म यहाँका जनप्रतिनिधि, कर्मचारी लगायत स्थानीयबासीहरुको साथ, सहयोग र समन्वयमा घरपझोङ गाउँपालिकाको शान, उच्च राख्न मेरो सामथ्र्यले भ्याएसम्म लागि पर्नेछु ।

अन्तमा मलाई आफ्नो भनाई राख्ने मौका प्रदान गर्नु भएकोमा म मेरो व्यक्तिगत तथा घरपझोङ गाउँपालिका परिवारको तर्फबाट हजुरहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै सञ्चार माध्यमहरुले हाम्रो सकारात्मक कुराहरु उजागर गरिदिनु भएको र मलाइ थप राम्रो काम गर्न प्रेरणा प्रदान गर्नुभएकोमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *