काठेखोलाले रेशमा आधारभूत अस्पताल बनाउँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि पाँच शैयाको आधारभूत अस्पताल निर्माण गर्न थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको तीन करोड ६४ लाख ६५ हजारमा वडा नम्बर ७ स्थित रेशमा अस्पताल निर्माण गनै थालेको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको यस पालिकाले अघिल्लो वर्षमा गाउँ–गाउँमा आधारभूत स्वास्थ्य सेवा पु¥याए लगत्तै यस वर्ष आधारभूत अस्पताल बनाउन थालेको हो ।

पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइबाहेक अन्य स्वास्थ्य संस्था छैन । नागरिकलाई अल्ली जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार ल्याउनुको विकल्प छैन । सामान्य उपचार गाउँमै भए पनि काठेखोलाका नागरिकहरु घण्टौँ लगाएर बागलुङ बजार पुग्नु पर्ने अवस्था छ । पाँच वर्ष अगाडिसम्म गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी झाँक्री कहाँ पुग्ने गर्थे, गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् । तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ ।

गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका सात वडामा सात स्वास्थ्य चौकी, चार स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरि संचालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तंग्राम र लेखानी गाबिसमा १/१ वटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् ।

टाढाका रहेका गाउँ नागरिकलाई लक्षित गरि रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताउनुभयो । गाउँगाउँमा आधारभूत स्वास्थ्य इकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल खालका उपचार पनि गाउँमै गर्ने वातावरण मिलाउनका लागि आधारभूत अस्पताल निर्माण गर्न लागिएको उहाँको भनाइ छ । पाँच शैयाको आधारभूत अस्पताल निर्माणका लागि जुम्ली आरएस जेबीले पाएको जिम्मा पाएको प्रवक्ता विकले बताउनुभयो । वि.सं. २०८० चैत ३० सम्झौता गरि काम अगाडि बढेको भन्दै वि.सं. २०८२ असोजमा सक्ने गरि निर्माण कम्पनीले जिम्मा पाएको उहाँको भनाइ छ ।

विकले भन्नुभयो – “काठेखोला गाउँपालिकामा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको छ, पहिले गाउँहरुमा स्वास्थ्य संस्थाहरु थिएनन्, बिरामी परे घण्टौँ हिँडेर बागलुङ बजार पुग्नु पथ्र्यो अहिले त्यो अवस्था छैन, पछिल्लो पाँच वर्षमा वडा नम्बर ८ मा कादेस स्वास्थ्य इकाइ, वडा नम्बर १ दोबिल्ला स्वास्थ्य इकाइ, वडा नम्बर ४ मा फापरखेत स्वास्थ्य इकाइ र वडा नम्बर ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य इकाइ संचालनमा ल्याएका छौँ, यसले नागरिकलाई ठूलो टेवा पु¥याएको छ ।”

स्थानीय प्रेमबहादुर पुनले गाउँको स्वास्थ्य चौकीमा सामान्य उपचार मात्रै हुने हुँदा जटिल किसिमको रोग लागे बागलुङ पोखरा जानु पर्ने बाध्यता रहेको बताउनुभयो । गाउँपालिकाले रेशमा पाँच शैयाको अस्पताल बनाए हजारौँ रुपैयाँ ऋण गरेर बजार जान नपर्ने पुन बताउनुहुन्छ । पहिले गाउँमा ज्वरो आउँदा सिटामोलसमेत नपाइने भन्दै अहिले सानातिना रोगको उपचार यहीँनै हुने उहाँको भनाइ छ । गाउँमा दुई जना ठूला डाक्टर लिएर आधारभूत अस्पताल संचालन गरे नागरिकले बजार झरेर दुःख पाउनु नपर्ने पुनले बताउनुभयो ।

“पहिले चोटपटक लाग्दा पनि बजारमै पुग्नु पथ्र्यो, ज्वरो आउँदा ओक्तो (औषधी) मुलो पाइँदैनथ्यो, अहिले त फ्रिमै पाइन्छ, स्वास्थ्यकर्मीहरु पनि छन्” उहाँले भन्नुभयो – “अहिले चलेका भन्दा अल्ली ठूलो अस्पतालको खाँचो छ काठेखोलामा, गाउँपालिकाले पाँच ‘बेड’को अस्पताल बनाउन थालेको छ, यसले छिट्टै पूर्णता पायो भने गाउँमै राम्रो उपचार पाइने थियो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *