चैते दशै मेलामा १० करोडको कारोबार


खेमराज गौतम, बागलुङ
यस वर्षको चैते दशैं मेलामा रु. १० करोडको कारोबार भएको छ ।
तीन सय वर्ष भन्दा पुरानो मेलाका रुपमा रहेको चैते दशैं मेला बागलुङमा निरन्तरता पाइरहेको छ । कालिका मन्दिर परिसरमा चैत ३० गते देखि लागेको बागलुङको चैते दशै मेला बिहिबार सकिएको छ ।

मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला, ठेका र मादाल लगायतको समेत स्टल राखिएको छ । मेलामा राखिएको १५० स्टलमा खाद्यन्न, लत्ता कपडा, कस्मेटिक र खेलौना लगायतका सामाग्रीको कारोबार भएको थियो । मेलाको समग्र कारोबार रु. १० करोड भएको आयोजकको अनुमान छ । बागलुङको पर्यटन व्यवसायमा समेत मेलाले चलयमान बनाउदै आएको छ ।

बागलुङ कालिका भगवती गुठीको आयोजना भएको नेपालकै ऐतिहासिक मेला मध्येको एक चैते दशै मेलामा स्थानीय र आयातित उत्पादनको खरिद विक्रि भएको थियो । कालिका मन्दिरसंग जोडिएको चैते दशैं मेलामा पाँच लाख भन्दा बढीले मेलाको अवलोकन गरेको अनुमान बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले गरेको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मेलामा रु. ८ करोड देखि १० करोड सम्मको कारोबार भएको छ । मेला भर्नका लागि गुल्मी, म्याग्दी, पर्वत जिल्लाबाट समेत आएका थिए ।

“३०० वर्ष पुरानो मेलाको रुपमा रहेको चैते दशैं मेलामा लाई संरक्षण संगै निरन्तरता दिइएको छ, मेलामा राम्रो आर्थिक कारोबार भएको पाइएको छ, स्टलमा खरिद गर्नेको भीड नै लागेको थियो” अध्यक्ष खड्काले भन्नुभयो “मेलालाई नाफा घाटाका रुपमा नलिई चैते दशैं मेला संरक्षणका लागि काम गर्दै आएका छौं, मेला सञ्चालनमा लागि कालिका गुठीको व्यवस्थापन मार्फत रु. ५५ लाख खर्च भएको छ ।” कालिका मन्दिरले प्रत्यक वर्ष रु. १० लाख चैते दशैं मेला सञ्चालनका लागि दिने गरेको छ । अन्य खर्च प्रायोजक, स्टलबाट उठाएर मेला सञ्चालन गरिदै आइएको छ ।

विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेको र राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइएको थियो ।

बिसाइएको भोलीपल्टपछि मूर्ति सहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापना भयो, पछि चैते दशैमा आउने भक्तजनहरुले स्थानीय उत्पादनको खरिद विक्रि गर्ने चलन बढ्यो र चैते दशैको मेलाका रुपमा अहिले सम्म निरन्तरता पाइरहेको छ ।

बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्दा मनोकाँक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौं खसी बोका, राँगा तथा हाँस कुखुराको बलि दिने गरिन्छ ।
पहिला पहिला चैते दशैलाई वर्षभरी रकम जम्मा गरेर घरायसी सामाग्री खरिद गर्ने गरिएको स्थानीय राम शर्माले बताउनुभयो । उहाँले पहिला पैसा खर्च गर्ने स्थान नै चैते दशै भएको भन्दै पहिला जस्तो चैते दशैको रौनकता घटेको बताउनुभयो । पहिला डाली, नाङ्ला, ठेका ठेकी, आँसी र बाउँसोको व्यापार राम्रो हुनेभएपनि पछिल्लो समय आयातित सामग्रीको व्यापार बढेको छ ।

चैते दशै मेलाका अवसरमा कालिका कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता, खुल्ला लोक दोहोरी प्रतियोगिता, छेलो, बिद्यालय स्तरीय नृत्य, कालिका मन्दिर परिसरदेखि शालग्राम संग्राहलयसम्म दांैड लगायतका प्रतियोगिता सम्पन्न गरिएको छ । चैते दशैंमा नेपालका विभिन्न जिल्ला चितवन, काठमाण्डौ सहित भारतीय धार्मिक पर्यटकहरु समेत सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *