सहकारीको सकारात्मक विषय ओझेलमा पर्यो : काशीराज दाहाल

आदर्श अनलाइन, पोखरा
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी क्षेत्रले गरेका राम्रा तथा उदाहरणीय कामलाई आम जनताका बीचमा लैजान नसकिएको बताउनु भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति काठमाडौंले पोखरामा आयोजना गरेको २ दिने सहकारी संस्था : समस्या, समाधान र सुशासन प्रवद्र्धन विषयक गण्डकी प्रदेश स्तरीय कार्याशालाका सहभागीहरुसंगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

देशभर ३१ हजार भन्दा बढी सहकारी संघ संस्था छन, ति मध्ये केही सय सहकारीमा समस्या देखियो, समस्या देखिएका सहकारीहरुको बारेमा यति धेरै प्रचार भयो कि ? सबै सहकारी समस्यामा परे, सबै सहकारीका सञ्चालक बदमास हुन, भन्ने तरिकाले निरन्तर प्रचार भैरहेको अध्यक्ष दाहालको भनाइ छ ।

सहकारी विपन्न वर्गका जनताको संकटमोचन गर्ने माध्यम हो, समाजवादको आधार सहकारी हो तर केही सहकारीका समस्या देखाएर असल काम गरेका सहकारीहरुलाई ओझेल पार्ने काम भयो, अध्यक्ष दाहालले भन्नुभयो,–राज्य र अभियान मिलेर सहकारीका सवल पक्षको प्रचार प्रसार र कमजोरी सुधारका लागि काम गर्नु पर्दछ ।

संसारमै विपन्न वर्गका जनताको आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम सहकारी हो, नेपालमा पनि धेरै सहकारीहरुले पूँजी निर्माणदेखि समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको दाहालको भनाइ छ ।

म सहकारी क्षेत्रको मान्छे होइन, सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिए पछि सहकारीका बारेमा गंभिरताका साथ अध्ययन गरे, सहकारीमा नआउदासम्म सहकारीमा ठुलै समस्या छ जस्तो, धेरै सहकारी समस्यामा परेको जस्तो लागेको थियो, तर जव सहकारी क्षेत्रमा प्रवेश गरेर अध्ययन गर्न थाले, त्यसपछि मेरो निष्कर्ष छ कि सहकारीका सवल पक्षहरुका बारेमा अभियान, सरकार र सरोकारवालाहरुको ध्यान पुगेन, सहकारीका कमजोरी पक्षहरुको बारेमा सबैको चासो भयो र कमजोरीलाई दिन प्रतिदिन उछालेर सर्वसाधारणलाई त्रासमा पार्ने काम भयो, अध्यक्ष दाहालको भनाइ छ ।

छलफलका क्रममा सहभागीहरुले सहकारीको समस्यालाई समाधान भन्दा पनि बढाउने गरी राज्यका तर्फबाट गतिविधिहरु भैरहेको, नियमनकारी निकायबाट प्रभावकारी नियमन नभएको, सर्वसाधारणलाई सहकारीप्रति त्रास सिर्जना हुने गरी राज्यका निकायहरुबाट काम भएको भन्दै सहज रुपमा समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

ऐनमा भएको व्यवस्था कार्यान्वयन नगर्ने तर सहकारी क्षेत्रमा त्रास बढाउने काम राज्यपक्षबाटै भएको आरोप सहभागीहरुले लगाएका छन्, सहकारीमा वचत फिर्ताको दवाव छ, वचत फिर्ताका लागि ऋण असुली हुनु पर्छ भन्ने विषयमा मन्त्रालय बोल्दैन, विभाग बोल्दैन, सहभागीहरुको गुनासो थियो ।

कार्यशालामा सहकारी सुशासन प्रवद्र्धन लगायतका विषयमा ५ वटा कार्यक्रम प्रस्तुत हुने आयोजकले जनाएका छन् । शुक्रवार पहिलो दिनको कार्यक्रममा सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा सुशासनको स्थिति र अभियानको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

दोस्रो दिनको कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारीको समस्या : समाधानका रणनीति र उपायहरु, प्रदेश सहकारी रजिष्ट्रार भोला रिजालले गण्डकी प्रदेशमा सहकारी स्थिति, समस्या र समाधान, पोखरा महानगरपालिका तर्फबाट पालिका अन्तरगतका सहकारीको स्थिति, समस्या र समाधान, जिल्ला प्रहरी कार्यालय कास्कीको तर्फबाट सहकारी सम्बन्धी कसुर र कारवाहीको अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका तर्फबाट सहकारी संस्था समस्यामा पर्नुका कारण र समाधानका उपाय विषयमा कार्यपत्र प्रस्तुत हुने भएका छन् ।

कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिम्खडाले सहकारीलाई सदस्य केन्द्रीत गराएर काम गर्न सकेमा सहकारीमार्फत आम जनताको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सचिव सहदेव प्रसाद हुमागाई, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गण्डकी प्रदेशका जिल्ला सहकारी संघका अध्यक्षहरु, प्रदेश अन्तरगतका महानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहकारी शाखाका प्रमुख लगायतको सहभागिता रहेको कार्यशालामा भएका छलफलहरुलाई समेटेर सहकारीलाई सबल बनाउन सहयोग पुग्ने गरी गण्डकी घोषणा पत्र जारी गरिने समस्याग्रस्त सहमकारी व्यवस्थापन समितिका सदस्य सचिव केशव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *