सहकारीको दिगोपनका लागि सदस्यको सक्रियता बढाऔ : जिसी

आदर्श अनलाइन, पर्वत

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीलाई दिगो रुपमा सञ्चालनका लागि सदस्यहरुको सक्रियता बढाउनु पर्नेमा जोड दिनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड पर्वतको वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले सदस्यहरुको सक्रियता र सहभागितामा मात्रै सहकारीलाई दिगो र व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने बताउनु भएको हो ।

सहकारीको सिद्धान्तले सदस्यहरुलाई बढी भन्दा बढी सहकारी शिक्षा प्रदान गर्ने व्यवस्था गरेको छ, सहकारीको खुद मुनाफा वितरणमा सहकारी शिक्षाकोषको व्यवस्था छ, तर सहकारी शिक्षा प्रदान गर्ने कुरा भन्दा पनि नाफामा केन्द्रीत भएका कारण सहकारीहरुलाई प्रभावकारी बनाउन नसकिएको जिसीको भनाइ छ ।

सहकारीका संघहरुले आफ्ना सदस्य संस्थाहरुका लागि नियमित शिक्षा लगायत कानुनी र व्यवहारिक विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेमा सहकारीका धेरै समस्या समाधानमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

साधारणसभामा संघका अध्यक्ष शेषराज रेग्मीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष देवी लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सहभागी सबै संस्थाका प्रतिनिधिहरुले सहकारीलाई थप व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सहकारीको मर्म र भावना अनुसार संस्था सञ्चालन गर्नु पर्ने, छाता संघ र राष्ट्रिय सहकारी बैंकमा आवद्ध भएर समन्वय र सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम संघका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष लाल बहादुर अधिकारीको स्वागत र कोषाध्यक्ष देवी लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *