आलम, अदालत र आदेश

सम्पादकीय
नेपालका अड्डा अदालत प्रतिको बिश्वास पनि पछिल्लो समय डगमगाएको छ । कर्मचारीतन्त्र लगायतका हर क्षेत्रमा राजनीतिक नियुक्ति र प्रभाव व्याप्त बन्दै जाने क्रममा न्यायालय पनि न्यायधीश नियुक्तिदेखि नै राजनीतिक चलखेल हुन थालेको छ । त्यसले अन्ततः न्याय निरुपणमा समेत प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्छ । जसबाट न्यायको खोजी र पर्खाइमा रहेकाहरु बञ्चित र निराश हुनुपर्ने बिडम्नबापूर्ण अवस्था बिद्यमान छ । सत्ता, शक्ति र आर्थिक पहुँच हैसियत भएकाहरुबाट न्याय पहिले देखि नै बाहिर आउन सकेको थिएन । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा केही बदलाव आए पनि अझै पूर्णतः न्यायको अनुभूति सहज पाउने अवस्था छैन । आजको समय र व्यवस्थामा पनि ‘जसको शक्ति, उसको भक्ति’ भन्ने उखान र प्रवृत्ति व्याप्त छ । यद्यपि, नेपालको न्यायालयले बेला बेलामा चौतर्फी दबाबका बाबजुद पनि विवेक सम्मत निर्णय, आदेश र फैसला गरिरहेको छ । बिहीबार मात्रै पूर्व सांसद समेत चार जनालाई जन्मकैदको फैसला एक अर्को उदाहरण हो ।

आलमसमेतका व्यक्तिहरु मिलेर मान्छेलाई जिउँदै इटाभट्टामा हाली ज्यान मारेको घटनाले आज पनि आममानिसलाई भयभित बनाउँछ । यस विरुद्ध १८ कात्तिक २०७६ मा दायर भएको मुद्दामा साढे चार वर्षपछि फैसला आएको छ । कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब, महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको छ । लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका छन् । उसो त यसघटनामा पूर्व सांसद पक्राउ परेर ज्यान मुद्दा लागे यता अत्यधिक राजनीतिक चलखेल भए । आलमलाई निर्दोष बनाउन अनेकन दुश्प्रयास गरियो । घटनाका तथ्य, प्रमाणहरु मेटाउने प्रयास भए । घटनाका प्रत्यक्षदर्शी, साक्षीहरुलाई धम्काएर, तर्साएर तथ्य मोड्न जिल्लादेखि केन्द्रीय नेताहरु समेत भरमग्दुर लागिरहे । यसले घटनामा ज्यान गुमाएका र पीडित परिवार प्रति थप अन्याय र अपमान हुने चौतर्फी संशय पैदा भएको थियो । जसलाई जिल्ला अदालत रौतहटले न्यायको गहिरो अनुभूति र सकारात्मक सन्देश प्रवाह हुने गरी निरुपण गरेको छ ।

नेपाली समाजमा मान्छेलाई जिउँदै इँटा भट्टामा हालेर मारेको घटना कुनै पनि हिसाबले क्षम्य थिएन । तर, राजनीतिक, आर्थिक चलखेलमा विगतमा गम्भीर अपराधमा संम्लग्न व्यक्तिहरु पनि निर्दोष सावित भएर रिहा हुने र उनीहरुकै जयजकार हुने प्रवृत्तिले पीडितहरु थप पीडित र भयभित भएर बाँच्नुपर्ने अवस्था र परिदृश्य थुप्रै थिए । अहिले जे होस्, ढिलै भए पनि अदालतले मान्छेलाई जिउँदै जलाउने दुष्कर्ममा सम्लग्न सांसद आलम सहितका व्यक्तिहरुलाई जुन जन्मकैदको सजायको फैसला सुनाएको छ । यसले न्यायालय प्रतिको डगमगाएको बिश्वास र सम्मानलाई बढाएको छ । राजनीति बेथिति र चरम अस्थिरता तर्फ उन्मुख भइरहेको अवस्थामा नेपालको न्यायालयले यस्तै विश्वास र गरिमालाई कायम राख्ने कर्म र सामथ्र्य राख्नु पर्छ । हरेक अन्यायमा परेका नेपाली नागरिकले न्याय पाउने वातावरण बन्नु र बनाउनु पर्छ । जुन देशमा हरेक नागरिकले न्यायमा समानताको सहज महुशुस गर्न सकुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *