अरुणा शाहीको राष्ट्रिय टिम सम्मको यात्रा

आदर्श अनलाइन, म्याग्दी
नेपाली राष्ट्रिय भलिबल टिमको बलियो खम्बा हुनुहुन्छ अरुणा शाही । म्याग्दीको रघुगंगा गाउँपालिका म्याग्दीकी स्थायी बासिन्दा शाही अहिले राष्ट्रिय टिमकी सफल कप्तानको रुपमा हुनुहुन्छ । नेपाली टोलीको कप्तानीको जिम्मा शाहीको काँधमा आएपछि भएका खेलहरुमा पाएको सफलताले पनि उहाँलाई थप सहज भएको छ । नेपाली टिमको सदस्यहरु रहेका पुराना खेलाडीहरलाई हटाएर नयाँ टोलीलाई राष्ट्रिय टिममा ल्याउँदा निकै हल्लीखल्ली भएको थियो तर अरुणाको कप्तानीमा सहभागीता जनाएको नेपाली टोलीले उपाधि नै जिते पछि भने बिरोध गर्नेहरुले वाहवाही गर्न थालेका थिए ।

बाल्यकाल
रघुगंगा गाउँपालिका–३ पिप्लेकी अरुण शाही बाल्यकालमा धेरै कम बोल्ने स्वभाव थियो । निकै कम बोल्ने हुँदा यसले के गरेर खाली भन्ने चिन्ता परिवारमा रहन्थ्यो । भाइहरु सँग स्कुल जाने र उनीहरु सँगै हरेक प्रकारको खेल खेल्ने स्वभाव उहाँको थियो । उहाँ भलिबल मात्रै खेल्ने नभएर फुटबल तथा अन्य सबै खेल खेल्ने गर्नुहुन्थ्यो । आफ्नो रुचिमा भलिबल भन्दा पनि हरेक खेल रुचि र चाख हुन्थ्यो । कुनै पनि खेल खेलेको देखे त्यो खेलिहाल्ने स्वभाग अरुणाको थियो ।

खेल प्रतिको चासो
उहाँका दाइहरु घर नजिकै भएको भलिबल ग्राउण्डमा खेल्ने हुँदा त्यसैको प्रभावले खेलमा रुचि बढाएको थियो । उहाँ भन्नुहुन्छ घर नजिकै भलिबल ग्राउण्ड थियो त्यहाँ दाइहरु सँग पनि खेल्थे । विद्यालय स्तरीय खेल हुँदा मुक्तीधाम माध्यमिक बिद्यालयबाट प्रतिनिधित्व गरेर सदरमु बेनी सम्म आएँ । त्यो समय पश्चिमाञ्चल क्षेत्रीय खेलकुदको भलिबल प्रशिक्षक कौशिल्या खत्रीले देखेर म मा सम्भावना रहेको ठम्याउनु भएछ । उहाँले मलाइ ज्ञानुबाबामा पढ्ने र खेल्ने चाँजोपाँजो मिलाइदिनु भयो । त्यहाँ पुग्दा अग्रज खेलाडी राष्ट्रिय टिमकी उपकप्तान मञ्जु गुरुङहरुको खेल देखेर मलाई उहाँहरु जस्तै खेल्नु पर्छ भन्ने मनमा आयो । त्यस पछि भलिबलाई थप अभ्यास गर्दै अगाडी बढ्न अलि सजिलो भयो । पोखरामा आएर हेर्दा खेलमा बढी रुचि भयो र राम्रो खेल्नु पर्छ भन्ने पनि मनमा लागेको कारणले गर्दा अलिक हौसला बढ्न थाल्यो । मलाइ स्कुलले पुरै छात्राबृत्ति दिएको थियो त्यसले पनि मैले खेलमा मेहनत गर्नु पर्ने थियो । स्कुलले मलाइ सबै प्रकारका सुविधा सहित निःशुल्क पढ्ने व्यवस्था गरेको थियो भने मैले पनि त खेलबाट स्कुललाई केही दिनु पर्ने थियो नि ।

पहिलो सहभागितामै उत्कृष्ट खेलाडी
पहिलो पटक साहेद २०६४ तिर बिद्यालय स्तरीय खेलकुद प्रतियोगिता(तत्कालिन बिरेन्द्र शिल्ड)मा सहभागी भएको थिएँ । मुक्तिधाम माध्यमिक विद्यालयबाट बेनीमा खेल्न आएकोमा स्कुलले त सफलता हात पारेन म भने जिल्लाको प्रतिनिधित्व गर्दै क्षेत्रीय खेलका लागि छनौट भएँ । त्यस पछि स्याङ्जाको वालिङमा पुगेर खेले र त्यहाँ जिल्लाले खेल जित्यो म उत्कृष्ट खेलाडीको रुपमा अगाडी बढ्ने मौका मिल्यो । त्यस समय पश्चिमाञ्चाल बिकास क्षेत्रबाट जितेर राष्ट्रिय खेलका लागि काठमाडौं पुगँे र राष्ट्रिय प्रतियोगिता पनि पश्चिमाञ्चल बिकास क्षेत्रले जित्यो । मैले सहभागिता जनाएको पहिलो प्रतियोगिता थियो त्यही प्रतियोगितामा म सर्वोत्कृष्ट खेलाडी भएको थिएँ । त्यो पाउँदा निकै खुशी लाग्यो र खेलेर यस्तो हुने रहेछ भनेर दिमागमा बसेको थियो ।

परिवारको साथ
हाम्रो समाजले अहिले पनि खेलेर हुँदैन भन्ने धारणा राख्ने भएकाले मेरो पनि परिवार डराउथ्यो । त्यही डरले बाबा भन्दा पनि बढी आमालाइ पिरोल्थ्यो । अनि मेरी आमालाई खेलको बारेमा ज्ञान खासै थिएन । त्यसले गर्दा पनि उहाँले अरुले खेलेरै के हुन्छ भन्दा डराउनु हुन्थ्यो । जब मैले ज्ञानुबाबामा आएर पढ्ने र खेल्ने भन्ने भयो त्यसपछि गाउँबाट पोखरा आएर खेल्दा खासै नखेल भनेर दवाव दिनुभएन तरपनि डाराउनु चाँही भएको हुन्थ्यो । मैले ज्ञानुबाबामा पुरै छात्रबृत्ती पाएपछि भने मलाइ खेल्नका लागि परिवारबाटै बढी प्रोत्साहन गर्नुभयो । म धेरै नबोल्ने हुँदा खासगरी आमाबाबा डराउनु हुन्थ्यो । म कम बोल्ने अनि खेल्ने भएको कारणले गर्दा पनि खेलबारेका ज्ञान खासै नहुँदा डराउनु स्वभाविक हो तर अहिले भने निकै राम्रो साथ र सहयोग पाउँछु । अनि बाबा आमाले नै मलाई खेलबाटै केही गर्ने हो र देशका लागि काम गरेकी छौ त्यसलाई अरु मजबुत बनाउ भन्नुहुन्छ ।

राष्ट्रिय टिमसम्मको यात्रा
अहिले परिवारले पनि खेलबाटै गर्नुपर्छ भन्नु हुन्छ । यहाँ सम्म आइपुग्न स्कुल स्तरीय खेले पछि जिल्ला पश्चिमाञ्चल अनि राष्ट्रियमा खेलेको थिएँ । विद्यालय स्तरीय खेलकुदबाटै म मााथि उठ्दै आएको हो । मैले पाँचौं राष्ट्रिय खेलकुदबाट मैले सिनियर टिममा मौका पाएको थिएँ । झण्डै ८÷९ वर्ष भलिबल खेल्दै गएपछि मात्रै मैले राष्ट्रिय टिममा खेल्ने मौका पाएको थिएँ । कुनै पनि खेलाडीलाई देशको प्रतिनिधित्व गरेर खेलने रहर हुन्छ र मेरो पनि थियो । मैले प्रयास गर्दा झण्डै ९ वर्ष खेलेपछि मात्रै राष्ट्रिय टिमका लागि छनौट भएको थिएँ । घर भन्दा टाढा बसेर खेलका लागि मात्रै मेहनत गरेको मान्छे देशको प्रतिनिधित्व गरेर खेल्ने टोलीमा पर्नु कुनै स्वर्ग पुगे भन्दा ठूलो खुशीको पल हुँदो रहेछ ।

नेपालमा भलिबलको सम्भाना
नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलमा सम्भावना धेरै रहेको शाहीको भनाई छ । भलिबलका धेरै प्रतियोगिताहरु हुन्छन् र यसलाई व्यवसायीक रुपमा अगाडी बढाइनु पर्छ । अहिलेकै अवस्था हेर्ने हो भने पनि भलिबलको राम्रो सम्भावना देखिन्छ । हुन त कुनै पनि चिजलाइ आफूले कसरी लिइन्छ भन्ने पनि हो तर अझै व्यवसायीक रुपमा अगाडी बढाउन सक्यो भने देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदकको सम्भावना नेपालको रहन्छ । भलिबल राष्ट्रिय खेल पनि हो र सानै क्षेत्रमा पनि खेल्न मिल्ने हुँदा पनि सहज र सजिलो हुने भएकाले पनि यसलाइ व्यवसायीक रुपदेखि लैजाने र ग्रास रुट तथा अण्डर एजको प्रतियोगिताहरु पनि मजबुत तबरले बनाएको खण्डमा मात्रै सिनियर खेलाडीहरु राम्रा निस्कने हुन्छन् । यसलाई मजबुत बनाउनका लागि भलिबल संघ तथा खेलकुद परिषद्, खेलकुद मन्त्रालय र सरकराले पनि ध्यान दिएर सबै प्रदेश र क्षेत्रमा भलिबलका पूर्वाधार तयार पार्ने र त्यसलाई अगाडी लैजाने गरिनु पर्छ ।

कप्तानी अगाडी र पछाडिको अवस्था
मलाइ खासमा पहिला त भलिबल नै खेल्छु भन्ने पनि थिएन सानोमा । तर पछि समय सँगै खेल्न थालियो र स्कुल, जिल्ला, विकास क्षेत्र हुँदै राष्ट्रिय सम्म खेलेपछि भलिबलमा मेरो सम्भावना छ भन्ने हेक्का हुन थाल्यो । त्यस पछि पनि कप्तानी गर्ने भन्ने लागेकै थिएन मलाइ । तर सिनियरहरु सबैलाइ बिदा गरेपछि भने मैले मौका पाएँ । तर पनि डर थियो कसरी गर्ने के गर्ने भनेर । भलिबलका गुरुहरुको सहयोग अनि टिमका खेलाडी साथीहरुको पनि सहयोगले गर्दा निकै सहज र सजिलो तरिकाले अगाडी बढ्न हौसला मिल्यो । कप्तानी सम्हाले पछिको पहिलो प्रतियोगितामै जित हासील गरेपछि भने उत्साह र उर्जा थप मिल्दै गएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *