कोरोना जितेका सहकारीकर्मीको अनुभव

सिंगो विश्वसंगै नेपाल पनि कोरोना संक्रमणका कारण आक्रान्त छ । दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोना संक्रमणबाट निको हुने दर पनि बढ्दो नै छ । आर्थिक लगायत विभिन्न क्षेत्रमा कोरोनाको प्रभाव परेको छ । सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरु यसबाट बढी प्रभावित हुने अवस्था रहेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा प्रस्तावित कर्णाली प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष सुर्खेत निवासी हरिहरनाथ योगी २४ दिनमा कोरोनालाई जित्न सफल हुनु भएको छ । कोरोना संक्रमणको २४ दिनको अनुभवका बारेमा योगीसंग आदर्शअनलाइन प्रतिनिधिले गरेको सक्षिप्त कुराकानी ।

१. तपाई कसरी कोरोना संक्रमित हुनु भयो ?
म सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति हुँ । समाजका विभिन्न क्षेत्रमा काम गर्ने क्रममा धेरै व्यक्तिहरुसंग भेटघाट, छलफल, अन्तरक्रिया हुने गर्दछ । मुलुक कोरोना संक्रमणको अवस्थामा भएकोले मलाई पनि कोरोना लाग्न सक्छ भन्ने कुरामा म सचेत थिए । २ पटकसम्म मैले कोरोना परिक्षण गराएको पनि थिए । तर नेगेटिभ आयो । पछिल्लो पटक केही साथीहरुका बीचमा काम गर्ने अवस्था सिर्र्जना भयो । त्यसपछि हल्का टाउको दुख्ने, जिउ गह्रौ हुने भयो । कोरोनाको परिक्षण गरि सकेको हुनाले सामान्य टाउको दुखेको होला भनेर सिटामल खाएर बसे । म संगै कामका क्रममा भेट भएको एक जना साथीलाई कोरोना पोजेटिभ देखिए पछि कन्ट्रयाक ट्रेसिङमा परिक्षण गर्दा मेरो पनि पोजेटिभ देखियो । जिल्ला जनस्वाथ्य कार्यालय सुर्खेतमा गएर मैले परिक्षण गराएको थिए ।

२. कोरोना संक्रमण पुष्टी भएपछि कहाँ बस्नु भयो ?
भदौ २४ गते मलाई कोरोना पुष्टी भयो । त्यसपछि म घरमै आइसोलेशनमा बसे । मलाई देखिएपछि परिवारका सदस्यहरुको पनि परिक्षण गरियो । मलाई संक्रमण पुष्टी भएको ३ दिन पछि मेरो श्रीमती पवित्रा योगी र छोरी समिक्षा योगीलाई पनि पोजेटिभ देखियो । छोरा संगम योगीलाइृ भने देखिएन । त्यसपछि हामीले छोरालाई आफन्तको घरमा पठायौ र हामी ३ जना संक्रमितहरु घरमै बस्यौ । खानासंगै खायौ । सुत्ने कोठा फरक फरक थियो ।

३. आइसोलेनमा बस्दाको अनुभूति कस्तो रह्यो ?
घरमै बसेको हुनाले त्यति धेरै अहसज त भएन, फेरी पनि कोरोना संक्रमण भनेपछि आफन्तजन, छिमेकीहरुमा समेत चिन्ता चासो हुने कुराले अलिक सचेतना अपाउनु पर्ने देखियो । सकारात्मक सन्देश दिने खालका किताव, पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने, हल्का ब्यायाम गर्ने, ध्यान योग गर्ने, टेलिफोनमार्फत आवश्यक कामका कुराहरु गर्ने गरेर बसियो । खासै त्यस्तो नकारात्मक अवस्था रहेन । कोरोनाको संक्रमण शुरु भएपछि र देश तथा विदेशमा यसले प्रभाव बढाउदै लगेपछि कुनै न कुनै दिन कोरोना संक्रमण भइन्छ भन्ने लागेको थियो । सामाजिक कार्यमा हिड्न पर्ने भएकाले त्यस्तो आशंका थियो । तर कोरोनालाई जित्छु भन्ने आत्मविश्वास थियो । मलाई लाग्यो भने पनि अरुलाई जोगाउनु पर्छ भन्ने सोच्थे तर परिवारका सदस्यलाई नै संक्रमण भयो । यद्यपी हामी सबैलाई पोेजेटिभ देखियो । मैले १६ दिनमा स्वाव परिक्षण गराए, पोजेटिभ नै आयो । २३ दिनमा गराएको परिक्षण पछि २४ दिनका दिन नेगेटिभ आयो र २५ औ दिनबाट बाहिर निस्के ।

४. तपाईहरु कोरोना संक्रमित भएको समयमा स्वास्थ्यकर्मीहरु र समाजबाट कस्तो व्यवहार भयो ?
हामी घरमा राम्रो संग बसेका थियौ । जिल्ला जनस्वास्थ्य कार्यालय र प्रदेश मन्त्रालय अन्तरगत कोरोना अस्पतालबाट स्वास्थ्यकर्मीहरुले बेला बेलामा फोन गरेर तपाईहरुलाई कस्तो छ ? केही समस्या छ कि ? हामीले केही सहयोग गर्नु पर्छ कि ? भनेर सोधि रहनु हुन्थ्यो । स्वास्थ्यकर्मीहरुको व्यवहारले हामीलाई उत्साहित बनाउथ्यो । हामीसंग सिंगो स्वास्थ्य क्षेत्र छ भन्ने अनुभूति उहाँहरुले गराउनु भएको थियो । जहाँसम्म समाजको कुरा छ, मेरो ८५ वर्ष पुगेका बुवा र आमा हुनुुहुन्छ । आमा त सुर्खेतमै दाईको घरमा हुनुहुन्छ । बुवा विरामी हुनुहुन्छ, उहाँ काठमाडौंमा रहेकोले सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उहाँले चिन्ता लिनु होला भनेर सार्वजनिक गरिन् त्यसकारण धेरैको बीचमा कुरो पुग्न सकेन । तर जसले जानकारी पाउनु भयो उहाँहरुले असाध्यै पीर मानेर सहानुभूति प्रकट गर्नु हुन्थ्यो । साथीहरुको सहानुभूति आउदा मलाई हास पनि उठ्थ्यो किनकी उहाँहरु कोरोना लागेको भनेर असाध्यै पिर गरेर सहानुभूति प्रकट गर्नु हुन्थ्यो ।तर मेरो अवस्था सामान्य थियो । म र परिवारका सदस्यहरुको स्वास्थ्य अवस्था सामान्य नै भएकोले पनि खासै तनाव भएन ।

५. कोरोना संक्रमण पछि तपाई र परिवारका सदस्यको खानपान कस्तो रह्यो ?
सामान्य नै रह्यो । बिहान बेलुका खाना खाने, दिउसो खाजा समयमै खाने ग¥यौ । त्यो समयमा गुर्जाे, बेसार लगायत विभिन्न खाले जुडिबुटीको रस बनाएर खायौ । बिहान, दिउसो, बेलुका चियाको सट्टा जडिबुटीको रस बनाएर खाने, बेसार सहितको तातोपानी नियमित खाने ग¥यौ । भोक नलाग्ने, अरुची हुने अवस्था थिएन । स्वास्थ्यकर्मीहरुको निर्देशन अनुसार खानपानमा ध्यान दियौ ।

६. कोरोनाबाट जोगिन र कोरोना संक्रमण भएकाहरुलाई तपाईको सन्देश के छ ?
पहिलो कुरा त कोरोना रोगलाई सामन्य ठान्नु भएन । नेपाल सहित विश्व नै कोरोनाबाट ग्रस्त छ । विश्वका सुविधा सम्पन्न, प्रविधिको अधिकतम प्रयोग गर्ने देशहरुमा समेत यसका कारण ठुलो संख्यामा मानिसहरु मरिरहेका छन् । जोगिने उपायहरुका बारेमा सचेत हुनु नै पहिलो सुझाव हो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्ने, खानपान, ध्यान योग, ब्यायाम गर्ने, सकारात्मक सोचको विकास गर्न पर्दछ । विशेष गरी नाक र घाँटीमा यसको संक्रमण हुने भएकाले बेसार राखेर तातोपानीको प्रयोग गर्ने, औषधीजन्य जडिबुटीहरुको रस बनाएर खाने गर्न सक्यो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ र संक्रमणबाट जोगिन सकिन्छ । त्यस्तै भीडभाडमा नजाने, भौतिक दुरी कायम राख्ने, स्यानीटाइजर साथ मै राख्ने र केही काम गर्दासाथ हात धुने गर्न सकियो भने कोरोनाबाट बच्न सकिन्छ । कोरोना पुष्टी भयो भने पनि मैले कोरोनालाई जित्न सक्छु भन्ने आत्मविश्वास बनाउनु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *