सहकारीलाई सक्न, बदनाम गर्न गिरोह लागेको छ, सहकारीकर्मी एकजुट हुनुपर्छ : थापा

बिकट तथा दुर्गम क्षेत्रका नागरिकहरुको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख वित्तिय संस्था सहकारी हो । सबैसँग सँगसागै मिलेर काम गर्ने उद्देश्य सहित स्थापना भएका सहकारीहरुले राष्ट्र निर्माणको सन्दर्भमा पनि महत्वपूर्ण योगदान दिंदै आएका छन् । अहिलेको अवस्थामा पनि ग्रामिण भेगका नागरिकहरुको आर्थिक आवश्यकता पुरा गर्नका लागि सहकारीको भूमिका अतुलनिय छ । यसै सिलसिलामा म्याग्दीको बेनी नगरपालिका–८, बेनी बजारमा कार्यालय रहेको बेनी कोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष विरबहादुर थापासँग गरिएको कुराकानीको सम्पादित अंशः

बेनी कोट सहकारीमा तरलताको अवस्था कस्तो रहेको छ ?
हाम्रो संस्थामा शेयर सदस्यहरुको सक्रियतामा कुनै कमी आएको छैन् । कुनै पनि सदस्यहरुले आफ्नो जिम्मेवारी पुरा गर्नबाट रोकिनु भएको छैन् । त्यही कारणले गर्दा हामीले राज्यले तोके अनुरुपको तरलताको व्यवस्था सहकारीमा गरेका छौं । दिगो योजना र निरन्तर बचतलाई मुख्य तबरले अगाडी बढाइएको हाम्रो संस्थाको अवस्था मात्रै नभएर संस्था प्रतिको सदस्यको धारणा र बुझाई पनि सकारात्मक छ । त्यही सकारात्मक सोच र सकारात्मक बिचारले गर्दा नै हामीहरुले सहकारीमा तरलतालाई मजबुत तबरले व्यवस्था गरेकै छौं । सहकारी संस्थामा हुन पर्ने तरलता अनि राज्यले तोकेको अवस्था र हामीले गरेको व्यवस्थापन हेर्ने हो भने सहकारीमा कुनै समस्या छैन् र अरु पनि यदी सहकारीहरु सहकारी नीति नियम अनुसार चलेको खण्डमा कुनै पनि प्रकारको समस्या हुँदैन भन्ने हाम्रो बुझाई हो । त्यसेले हामीसँग सरकारले तोकेको नीति अनुरुपको तरलता हामीले राखेका छौं र मजबुत अवस्था नै सृजना भएको छ ।

वित्तिय संस्थाहरुमा बढ्दो तरलता अभावको कारण देखाएर कर्जा माग्ने सदस्यलाई भाखा दिदैं आएका गुनासा आउन थालेका छन्, तपाईंकोमा अवस्था कस्तो छ ?
सहकारी भनेकै सदस्य केन्द्रीत भएर उनीहरुको जीवन स्तर उकास्नका लागि सञ्चालन हुने भएको हुनाले हामीले सदस्यको समस्या समाधानका लागि नै प्रयाश गरेका छौं । अहिलेको अवस्था के कस्तो भन्ने विषयमा मैले भनी रहन पर्ला जस्तो लाग्दैन । किनकी अहिलेको अवस्थाको बारेमा सबै ज्ञान सबैलाई छ । किन भने सहकारी सकियो वा बिग्रियो भन्दा पनि कसरी सहकारीलाई सक्नु पर्छ भन्ने मुख्य ध्येय लिएर केही ठूला घरानिया भनिएकाहरु वा भनौं केही निश्चित तबरका ठूला बैंकका शाहुहरुले गरेको चलखेलले गर्दा सहकारीलाई समस्याग्रस्त सावित गर्नका लागि भएको बदनियतको सिकार राम्रा सहकारी भएका छन् । त्यसैले गर्दा कतिपय संस्थाहरुमा तरलताको अभाव देखिन थालेको भएको भए पनि हाम्रोमा त्यो समस्या छैन र हामीले सदस्यले माग गरेको ऋण लगानि आवश्यकता र अवस्थाका आधारमा गरी रहेका छौं । यो सबै रोक्नको लागि सहकारीकर्मी एकजुट हुनुपर्ने बेला आएको छ ।

सर्वसाधारणमा सहकारी प्रति बढ्दो गुनासाहरु समधानको लागि के गर्नुपर्ला ?
अहिले समाजमा निकै चलेको प्रश्न हो यो । समाजमा प्रश्न चल्नु पनि स्वभाविक हो । किन भने कतिपय आर्थिक कारोवारको भोल्युम निकै मजबुत भएको भन्ने अवस्था र कतिपय संस्थाहरुले देखाएको अवस्थाले गर्दापनि प्रश्न गरिनु स्वभाविक हो । तपाईं कल्पना गर्नुस् कि म्याग्दीको सबै भन्दा दुर्गम स्थान भनेको गुर्जा हो । गुर्जा पुग्न नजिकको बस्ती लुलाङबाट त्यही क्षेत्रका हिड्नुपर्ने व्यक्तिलाई पनि कम्तीमा ६ घण्टा लाग्छ । गुर्जाका जनतालाई कुनै बाणिज्य बैंक तथा बिकास बैंक वा लघुबित्त र फाइनान्स कम्पनिले ढुक्कसँग लगानी गर्छन् कि गर्दैनन् होला कल्पना गरौं । तर सहकारी संस्था त्यस्तै दुर्गम स्थानका जनताको जीवनस्तर उकास्ने तथा उनीहरुको माग धान्नका लागि सहकारीहरुले प्रयास गरेका छन् । सदस्यसँग जम्मा भएको पैसा बचत गर्न र उनीहरुलाई आवश्यक परेको समयमा ऋण लगानि गर्नका लागि नै सहकारी स्थापना भएका हुन् । सहकारी नीतिमा अडिएर नियम संवत तबरले रहेका सहकारीमा कुनै समस्या छैन् र उनीहरुलाई आवश्यकताको आधारमा हामीले लगानी सम्म गर्ने अवस्था भएको खण्डमा कुनै पनि हालतमा विश्वास गुम्दै गुम्दैन । त्यसैले सहकारीका सदस्यहरुले जब सम्म सहकारी संस्था मेरै हो भनेर बुझ्दैनन् त्यो समय सम्म समस्या हुने हो अन्यता कुनै पनि हालतमा केही समस्या हुदैन् । यदी विश्वास गुमेको छ भने मेरो घर र मेरै परिवार हो सहकारी भन्ने बुझाउन सकेको खण्डमा कसैले पनि सहकारीलाई गलत तबरले हेर्नेवाला छैन् ।

वित्तिय संस्थाहरुमा बढ्दो तरलताको समस्याबाट बाहिर निस्कन के गर्नुपर्ला ?
अहिले हाम्रो संस्थामा हेर्ने हो भने सञ्चालक समितिको नियमित भेटघाट एवम् छलफल भै रहेको छ । छलफल मात्रै छलफल केन्द्रीत नभएर निचोड निकाल्ने तबरका हुन्छन् । अहिले हाम्रो संस्थामा आर्थिक रुपमा कुनै समस्या देखिएको छैन् । केही सामान्य खराब ऋणीहरु भए पनि उनीहरुलाई नियम सम्बत तबरले असुल उपर गर्ने कार्य पनि भै रहेको अवस्था हो । हाल हामीले के गर्न सक्यौं भन्दा पनि कसरी अगाडी बढ्ने भन्ने बारेमा हुने छलफल तथा अभ्यासले गर्दा हामीलाइ अन्य केही प्राविधिक समस्या देखिएको छैन् । राज्यले हामीलाई निर्देशन गरे अनुरुपको तरलता हामीमा छ । कतिपय सहकारीले शेयर सदस्य थप्नका लागि बन्द गर्ने भन्ने कुरा पनि नसुनिएको होइन तर सहकारी नियम अनुसार हामीले कार्यक्षेत्र भित्रका नियम अनुसार शेयर खरिद गर्न मिल्नेहरुलाई शेयर बिस्तार गर्ने कार्य रोकेका छैनौ । त्यस्तै हाम्रो ध्येय भनेको सामाजिक उत्थान हो त्यसका लागि सदस्य केन्द्रीत कारोवार अनि सदस्यको मागको सम्बोधनका लागि हाम्रो प्रयाश सदैब जारी छ । यदी सबैले सदस्यहरुलाई आफ्नो उत्तरदायीत्व बोध बनाउँदै सहकारी संस्थामा पुग्ने र कार्यालयको सम्पर्कमा कम्तीमा एक महिनामा पुग्ने खालको वातावरण बनाउन सकियो भने तरलताले कहिल्यै समस्या हुँदैन जस्तो लाग्छ ।

अन्त्यमा सहकारी क्षेत्रको सुधारका लागि भन्नुपर्ने केही छ कि ?
बेनी कोट सहकारी संस्थालाई केही कुराहरु राख्ने मौका दिनुभयो त्यसका लागि आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका प्रकाशनलाई धन्यवाद दिन चाहन्छु । सहकारीका विषयमा कुरा राख्ने मौका पाइयो र सञ्चार सहाकारीद्वारा सञ्चालित मिडियामा आउँदा आम पाठकले हाम्रो बारेमा पनि सत्य तथ्य थाहा पाउने भएकोले खुशी लागेको छ । राज्यले तोकेको र अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको मुल मर्म अनुरुप सहकारी संस्थाहरु सञ्चालन भएको खण्डमा कुनै पनि हालतमा सहकारी संस्थाहरु केही पनि हुँदैन भन्ने थयार्थ सबै ठाउँमा प्रमाणित भएको अवस्था हो । युरोपमा सञ्चालित बैंकहरुको अवस्था हेर्ने हो भने पनि सहकारी बैंक भन्दा अरु प्राय टाट उल्टेको अवस्थाले पनि हामी के बुझ्न जरुरी छ भने सहकारीहरु आफ्नो नीति तथा नियम अनुसार चलेको खण्डमा कहिल्यै पनि खराब हुँदैन र बन्दैन भन्ने हेक्का राखेर अगाडी बढौं सबैको भलो हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *