तीन पटक म्याद थप्दा बल्ल कालोपत्र गरिँदै दुई जिल्ला जोड्ने सडक

डम्मर बुढा मगर, बागलुङ
बागलुङ र म्याग्दी जिल्ला जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटियाबजारदेखि ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रे गर्न थालिएको हो । स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि वि.सं. २०७६ कात्तिकमा सम्झौता गरि काम सुरु भए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन । चालु आर्थिक वर्षमा करिब सात किलोमिटर सडक कालोपत्र गर्ने गरि काम गरि रहेको छ । पूर्वधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रकसनलाई दुई वर्षमा सक्ने गरि जिम्मा दिएको थियो । वि.सं. २०७८ कात्तिक मसान्तसम्म सक्नु पर्ने काम तीन पटक म्याद थप गर्दा हालसम्म ७० प्रतिशत काम भएको छ ।

करिब दुई दशक अगाडि ट्रयाक खुलेको उक्त सडक कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् । निर्माण कम्पनीले यस वर्ष ९० प्रतिशत काम सक्ने गरि खटिएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले बताउनुभयो । यस वर्ष हटिया बजारदेखि ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म कालोपत्रे गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । निर्माण कम्पनीले १० किलोमिटर आठ सय मिटर कालोपत्रे गर्नका लागि जिम्मा पाएको थियो ।

ताराखोला खण्डमा नाली व्यवस्थापन र फराकिलो पार्ने काम गरि रहेको इन्जिनियर पुनले बताउनुभयो । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–४ साँदीसम्मका लागि पहिलो चरणमा काम भएको हो । अहिले गाईघाट झरनासम्म काम भइरहेको पुनको भनाइ छ । निर्माण कम्पनीले २८ करोडको जिम्मा लिएको पुनले बताउनुभयो ।

इन्जिनियर पुनले भन्नुभयो – “यो सडकको काम पहिलेनै सक्नु पर्ने हो, निर्माण कम्पनीले विभिन्न कारण देखाएर सकेन, अहिले धमाधम काम गरि रहेको छ, हालसम्म ७० प्रतिशत काम सकिएको छ, सात किलोमिटर सडक कालोपत्र गर्न थालेको छ, हटिया बजारदेखि गाईघाट झरनासम्म तयारी गरेको छ, त्यसभन्दा माथि मौसमले साथ दिए घुस्मेली बजारसम्मै गर्ने छ ।”

ताराखोला गाउँपालिका–४ का पूर्णबहादुर घर्तीले सडक कालोपत्रे नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनाएको भन्दै यात्रा निकै कष्टकर हुने गरेको बताउनुभयो । यो वर्ष घुस्मेलीसम्म कालोपत्रे भए पनि ताराखोलावासीलाई यातायातमा र सामान ढुवानीमा धेरै सहज हुने बताउनुभयो । कच्ची सडकमा यात्रा गर्न भाडा पनि बढी तिर्नु परेको र जोखिम मोलेर यात्रा गर्नु परेको भन्दै अब त्यो समस्या भोग्न नपर्ने उहाँको भनाइ छ ।

“यो सडक खुलेको धेरै वर्ष बित्यो तर पक्की हुन सकेको थिएन, यस वर्ष बल्ल पिच गर्ने काम सुरु गरेको छ, अब गाउँबाट बजार झर्न धेरै सजिलो हुने भयो, पक्की सडकमा यात्रा गर्दा भाडा पनि कम हुने छ, पहिलेको जस्तो जोखिम मोलेर हिड्नु पर्ने छैन” घर्तीले भन्नुभयो – “ढिलै भए पनि अब गाउँ नजिकको बाटो पिच हुने भयो, यसले हामीहरुलाई खुसी बनाएको छ, ढिलो भए पनि गाउँमा विकास आउँदैछ, पहिले हिँडेर सहर बजार पुग्नु पथ्र्यो, अहिले त जताततै बाटो पुगे ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *