सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले शुरु ग¥यो घुम्ति सेवा

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीहरुलाई परामर्श र अद्यावधिक गर्नका लागि घुम्ति सेवा सञ्चालन गरेको छ । सहकारीको अवस्था बारे जानकारी लिने, सहकारीहरुलाई आवश्यक कानुनी लगायत विविध खालका परामर्श दिने तथा अद्यावधिक नभएका सहकारीहरुलाई जिल्ला जिल्लामै पुगेर अद्यावधिक गर्ने उद्देश्यका साथ घुम्ति सेवा सञ्चालन भएको रजिष्ट्रार कार्यालयले जनाएको छ ।

प्रदेश रजिष्ट्रार कार्यालयको कार्यक्षेत्र भित्र रहेका सहकारीहरु संघीय संरचना कायम भएको लामो समयसम्म पनि अद्यावधिक नभएको पाइएपछि घुम्ति सेवा मार्फत अद्यावधिक गर्ने, आवश्यक परामर्श दिनका लागि घुम्ति सेवा सञ्चालन गरिएको गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार रमेश घर्तिले जानकारी दिनुभयो ।

घुम्ति सेवा अन्तरगत शुक्रवार नवलपुर जिल्लाका सहकारीहरुबीच सहकारीहरुको अवस्था पहिचान, आवश्यक परामर्श सेवा र अद्यावधिकको काम सम्पन्न गरिएको घर्तिले बताउनुभयो । नवलपुर जिल्लाका ५० वटा सहकारी संघ संस्था प्रदेश रजिष्ट्रार कार्यालय मातहत रहेकोमा २५ वटा सहकारी मात्रै अद्यावधिक भएका थिए, बाकीको अवस्था के छ, कसरी सञ्चालन भैरहेका छन्, सक्रिय छन् कि निष्क्रिय छन् भन्ने जानकारी नभएको अवस्थामा घुम्ति सेवा मार्फत थप ९ वटा सहकारी अद्यावधिक भएको उहाँले जानकारी दिनुभयो ।

३ वटा सहकारीको कागजात नमिलेकाले अद्यावधिक हुन सकेनन, केही सहकारी एकीकरण भइसकेको पाइयो र बाँकी सहकारीका सञ्चालकहरु पनि सम्पर्कमा आएको र छिटै अद्यावधिकका लागि आउने प्रतिवद्धता जनाएको रजिष्ट्रार घर्तिले बताउनुभयो ।

संघीय संरचना अनुसार तीन तहको सरकारले सहकारीको दर्ता, नियमन, अनुगमन र प्रवद्र्धन गर्दै आइरहेका छन् । प्रदेश रजिष्ट्रार कार्यालयको नियमन क्षेत्र भित्रका सबै सहकारीहरुलाई अद्यावधिक गराउने अभियान कार्यालय शुरु गरेको हो ।

सहकारीका सञ्चालकहरुले संघीय संरचना अनुसार आफ्नो संस्था कुन तहमा परेको छ सोही तहमा अद्यावधिक गर्नु पर्नेमा लामो समयसम्म पनि कतिपय सहकारी अद्यावधिक नभएको पाइयो, रजिष्ट्रार घर्तिले भन्नुभयो–‘पहिला अद्यावधिकका लागि समन्वय गर्छौ, त्यसपछि विधिसम्मत सञ्चालन भए नभएको अनुमगन गर्छौ, कानुन सम्मत सञ्चालनका लागि सुझाव दिन्छौ, त्यसपछि पनि सहकारीलाई विधिसम्मत सञ्चालन नगर्नेहरुलाई कार्वाहीको प्रक्रिया अगाडि बढाउछौ ।’

गण्डकी प्रदेश रजिष्ट्रार कार्यालयको नियमन क्षेत्र भित्र गण्डकी प्रदेशमा जम्मा ९ सय ३६ वटा सहकारी संघ संस्था रहेका छन् । कास्कीमा २ सय १२, स्याङ्जामा १ सय ३५, तनहुँमा १ सय २३, गोरखामा ५६, लमजुङमा ६४, बागलुङमा १ सय २६, पर्वतमा १ सय, म्याग्दीमा ७० र नवलपुरमा ५० वटा संस्था प्रदेश सरकार मातहत रहेका छन् ।

गण्डकी प्रदेशको नियमन क्षेत्र भित्रका सबै सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सबै जिल्लामा घुम्ति सेवामार्फत अवस्था पहिचान गर्ने, आवश्यक कानुनी परामर्श दिने, अद्यावधिक गर्ने कामको शुरुवात भएको रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *