एकता सहकारीको पच्चिसौँ साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
एकता सहकारी संस्था लिमिटेड बानपा–२, बागलुङको पच्चिसौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नु भएको थियो । सो अवसरमा बोल्दै श्रेष्ठले सहकारीलाई सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय बनाउनका लागि नीति नियमको पूर्ण पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका केही नकरात्मक घटनाहरुले सबै सहकारीहरु उस्तै हुन् भन्ने खालको अवस्था सिर्जना भएको भन्दै नगरप्रमुख श्रेष्ठले सहकारीका असल अभ्यास र क्रियाकलापहरु आम जनताका बीचमा लैजान आव्हान गर्नु भयो । सबै सहकारीहरु एउटै वा उस्तै होइनन्, धेरै सहकारीले सदस्यहरु लगायत समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेका छन्, केही सहकारीको गलत कार्यका कारण सबैलाई एउटै डालोमा हालेर नबुझौ, प्रमुख श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा संस्थाका संरक्षकहरु देव बहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठ, कानुनी सल्लाहकार काजीगाउँले श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र सहसचिव सुनिता पुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव महेन्द्र कंडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पवनलाल राजभण्डारीको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक एक बहादुर केसीले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित भएको छ ।

१६ सय ३४ जना शेयर सदस्य रहेको एकता सहकारीमा गत आर्थिक वर्षसम्म ९ करोड ५६ लाख शेयर रकम, २७ करोड १५ लाख वचत, ३३ करोड ऋण लगानी रहेको प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *