शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा भित्रियो पाठ्यपुस्तक

आदर्श अनलाइन, म्याग्दी

हिमाली जिल्ला म्याग्दी जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्य पुस्तक भित्राइएको छ ।

नयाँ शैक्षिक सत्र अगावै कक्षा १ देखि १० सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पुग्ने गरी पुस्तक बेनी आइपुगेको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा महासंघका अध्यक्ष नारायण शर्माले चैत १५ गते नै जिल्लालाई पुग्ने गरी पुस्तकहरु बेनी आइपुगेको बताउनुभएको हो ।

हाल सम्म कक्षा १ देखि ५ सम्मको लागि एक हजार दुई सय सेट जिल्ला आइ पुगेको छ । जिल्ला भित्रका विद्यालयहरुले दिएको तथ्याङ्क अनुसार उनीहरुलाई आवश्यक पर्ने पुस्तक आइपुगेको उहाँको भनाई छ । त्यस्तै कक्षा ६ र ७ का एक हजार सात सय सेट, ८ को एक हजार नौ सय सेट, कक्षा ९ को दुई हजार दुई सय सेट र कक्षा १० को दुई हजार एक सय सेट पुस्तक म्याग्दी आइपुगेको छ । त्यस्तै दुई सय सेट हाराहारी अंग्रेजी माध्यमको पुस्तक पनि बेनी आइपुगेको उहाँको भनाई थियो ।

जिल्लाका सबै क्षेत्रकालागि पायक पर्ने गरी पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले एकै ठाउँबाट पुस्तक वितरणको व्यवस्था मिलाएको सचिव ध्रुवराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला भित्रका पुस्तक तथा स्टेसनरी व्यवसायीहरुले एकै ठाउँबाट पुस्तक विक्रि वितरणको व्यवस्था मिलाएको छ । पहिलो चरणमा चैत १६ गते देखि नै जिल्लाका दुर्गम धवलागिरी गाउँपालिका र अन्नपुर्ण गाउँपालीकाका विद्यालयहरुका लागि पुस्तक विक्री गर्ने र त्यसपछि क्रमशः मालिका गाउँपालिका, मंगला गाउँपालिका तथा रघुगंगा गाउँपालिकालाई पुस्तक लैजाने व्यवस्थापन गरीएको छ । बेनी नगरपालिका क्षेत्रका विद्यालयले आफ्नो अनुकुल अनुसार पुस्तक लैजान सक्ने सचिव शर्माको भनाई थियो ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीका पूर्व अध्यक्ष नवराज पौडेलले जिल्लाका लागि आवश्यक पर्ने एक करोड रुपियाँ मुल्य बराबरको पुस्तक म्याग्दी आइसकेको जानकारी दिनुभयो ।

जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख दलबहादुर थापा मगरले जिल्लालाई आवश्यक पर्ने पुस्तकहरु शैक्षिकसत्र शुरु हुनु भन्दा १५ दिन अघिनै आउँदा सबैलाई सहज हुने बताउनुभयो । उहाँले जिल्लामा आवश्यक पर्ने पुस्तक शैक्षिकसत्र सुरु हुनु पहिल्यै आउँदा विद्यार्थी तथा अभिभावक एवम् शिक्षकहरुलाई पनि आगामी शैक्षिक सत्रमा पुस्तक अभाव भयो भनेर चिन्ता लिन नपर्ने तर्क गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *