पर्वका नाममा मौलाउँदो बेथिति र अराजकता

सम्पादकीय

रंगहरुको पर्व फागु पूर्णिमा अर्थात् होली अचेल त विश्वभर, जहाँ जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ बिभिन्न मेला, उत्सव र कार्यक्रम आयोजना गरेर दुई दिन सम्म मनाइयो । पहाडी र हिमाली क्षेत्रमा अघिल्लो दिन र त्यसको भोलिपल्ट तराई क्षेत्रमा यो पर्व मनाइन्छ । यस पर्व मनाउँदै गर्दा मानिसहरुमा एक खालको खुशी, उत्साह र भिन्न रौनकता त देखिन्थ्यो नै, त्यो सँगै कैयन बेथिति र अराजकता पनि उस्तै देखियो । जसले चाडपर्वका नाम र बाहनामा समाजमा बिकृति, बिसंगति बढाउन मात्र भूमिका खेलेको छैन, अत्यधिक मदिरापान, झैझगडा, दुव्र्यवहारले अकालमै ज्यानै लिने सम्मको घटना भएको छ । यसले मृतक परिवारको तत्कालको खुसी मात्र होइन, भविष्यको भरोसा समेत खोसिएको छ ।

होलीकै दिन ललितपुरमा महानगरपालिका–२६ ढोलाहिटीमा दुई समूह बिचको झडपमा दुई युवकको मृत्यु भयो । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भइ ललितपुर बस्दै आएका २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय रोबस राईमाथि चक्कु प्रहार गरी आइतबार राति १० देखि साढे १० बजेको समयमा हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । होलीको राति चक्कु प्रहारबाट गम्भीर घाइते भएका रोबसलाई उपचारका लागि स्कुटरमा राखेर पाटन अस्पताल र पुजनलाई ट्याक्सीमार्फत सुमेरु अस्पताल पु¥याइएको थियो । दुवै जनाको मृत्यु भएपछि मात्र राति अबेर जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी पाएको थियो । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका डी–पोपिना खाजाघरका सञ्चालक विजय राइले विवाद भए पछि भान्सामा भएको चक्कु निकालेर प्रहार गर्दा दुई युवाको मृत्यु भएको पाइएको छ । विजय यसअघि लागूऔषधको कसुरमा २०७५ सालमा पक्राउ परी २ वर्ष जेल बसेर २०७७ सालमा कारागारमुक्त भइ खाजाघर खोलेका थिए । यो घटना हुनुभन्दा करिब २ महिनाअघि पनि यस समूहबीच विवाद भएको देखिएको छ । यो घटना हुनुभन्दा करिब २ महिनाअघि पनि यी २ समूहबीच विवाद भएको देखिएको छ । दुर्भाग्यपूर्ण कुरा त यस झडपमा रोबसलाई विजयले चक्कु प्रहार गर्ने क्रममा त्यसो नगर्न भन्दै चक्कु खोस्न पुगेका विजय समूहका पुजन फगत ज्यान गुमाउन बिबश बनेका छन् । छुट्याउने क्रममा आफ्नै तिघ्रामा चक्कु लागेर अत्यधिक रक्तस्राव हुँदा पुजनको समेत ज्यान गएको छ । विजयकै चक्कु प्रहार रोबसको छातीमा लाग्दा उनको पनि ज्यान गयो ।

यसवर्षको होलिको यो त अत्यन्त दुःखदायी घटना भयो । यति मात्रै होइन, होलीकै दिन कर्णाली पूलबाट पौडी खेल्ने क्रममा हाम फालेका १७ जना मध्ये एक जनाको मृत्यु भयो । यी घटनाहरुको मूख्य कारण चाडपर्वका नाममा गरिने मनमौजी, अभद्रता, उद्दण्डता नै हो । ललितपुरको घटना आवेश प्रेरित देखिएको छ भने कर्णालीको घटना लहडमा आधारित छ । चाडपर्वलाई उत्सवमय बनाउने नाममा अत्यधिक जाँडरक्सी सेवन गर्ने र त्यसकै नशामा झैझगडा, दुव्र्यवहार, अभद्र व्यवहार प्रदर्शन गर्ने जस्ता कार्य गर्न युवाहरु अग्रसर हुन्छन् । जसले उदाउँदो कलकलाउँदो उमेरमै अकालमै ज्यानै गुमाउने सम्मको कहालीलाग्दो भयानक घटना निम्त्याइरहेको छ । त्यसैले चाडपर्व मनाउँदा मर्यादित, संयमता र सचेततापूर्वक मनाउन जरुरी छ । यी र यस्ता घटनाबाट पाठ सिकेर भोलिका दिनमा यस्ता अप्रिय घटना दोहोरिन नदिने तर्फ सबैले पहल र भूमिका खेल्न अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *