म्याग्दीको अन्नपूर्ण गाउपालिकामा सहकारी सञ्जाल गठन


आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालनमा रहेका सहकारीका प्रतिनिधिहरुको मंगलवार सम्पन्न भेलाले ९ सदस्यीय गाउँपालिका स्तरीय सहकारी सञ्जाल गठन गरेको छ ।

अन्नपूर्ण गाउँपालिका स्तरीय सहकारी सञ्जालको संयोजकमा पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था अन्नपूर्ण–६ का तेजिन्द्र बहादुर खत्री, सह–संयोजकमा दिदी बहिनी साना किसान कृषि सहकारी संस्था अन्नपूर्ण–३ का सपना पुन, सचिवमा रुप्से बहुउद्देश्यीय सहकारी संस्था अन्नपूर्ण–२ का केर बहादुर बरुवाल र कोषाध्यक्षमा सिद्ध बहुउद्देश्यीय सहकारी संस्था अन्नपूर्ण–६ का सरिला खड्का बरुवाल रहनु भएको छ ।

सञ्जालका सदस्यहरुमा सिर्जना महिला विकास बहुउद्देश्यीय सहकारी संस्था अन्नपूर्ण–३ का टिका पूर्जा, न्यू धौलागिरी वचत तथा ऋण सहकारी संस्था अन्नपूर्ण–६ का राजकुमार खड्का, हिस्तान मण्डली कृषि सहकारी संस्था अन्नपूर्ण–७ का याम प्रसाद पुन, नागी बराही बहुउद्देश्यीय सहकारी संस्था अन्नपूर्ण–८ का हरिमाया पुन र निलगिरी महिला वचत तथा ऋण सहकारी संस्था अन्नपूर्ण–४ का मिना राना रहनु भएको छ ।

पालिका भित्रका सहकारी संस्थाहरुबीच समन्वय र सहकार्य गर्ने, सहकारीको संस्थागत विकास तथा सहकारीमा आवद्ध सञ्चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि समन्वय गर्ने लक्ष्यका साथ पालिका स्तरीय सहकारी सञ्जाल गठन गरेको जनाइएको छ ।

गाउँपालिका भित्रका सहकारीहरुको अवस्था जानकारी लिने, सहकारीहरुलाई नीति नियम र प्रविधिमा आधारित भएर काम गर्न, सदस्य केन्द्रीत अभियानहरु सञ्चालन गर्न तथा गाँउपालिकासंग सहकार्य गरी सहकारीको साख वृद्धिमा योगदान गर्नका लागि सञ्जाल गठन गरिएको संयोजक खत्रीले जानकारी दिनुभयो ।

पालिकासंगको सहकार्यमा सहकारीका सञ्चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालन गर्ने, सहकारीका दिवसहरु मनाउने लगायत सहकारीहरुलाई आउन सक्ने समस्यामा सञ्जालका तर्फबाट सहजीकरण गरिने संयोजक खत्रीले जानकारी दिनुभयो । सञ्जालले चैत २० गते मनाउन लागिएको ६७ औं राष्ट्रिय सहकारी दिवस गाउँपालिकासंग समन्वय गरेर मनाउने निर्णय गरेको छ । अन्नपूर्ण गाउँपालिकामा अहिलेसम्म सहकारी दिवस मनाइएको छैन, यस पटक सबै सहकारीहरुलाई पनि रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरेर सहकारी दिवस मनाउन आव्हान गरिएको सञ्जालका सचिव केर बहादुर बरुवालले जानकारी दिनुभयो ।

पालिका स्तरीय सहकारी संघ तथा सञ्जालहरु नभएका कारण गाउँपालिकाका तर्फबाट सहकार्य गर्न समस्या भएको थियो, सञ्जाल गठन पछि पालिका भित्रका सहकारीहरुलाई संस्थागत रुपमा अगाडि बढाउन गाउँपालिकाले सञ्जालसंग सहकार्य गरेर अगाडि बढ्ने अन्नपूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत तथा सहकारी शाखा प्रमुख भगवती खड्काले बताउनुभयो । कानुनी रुपमा सञ्जालको व्यवस्था नभए पनि अनौपचारिक फोरमका रुपमा सञ्जालले सहकारीहरुबीच समन्वयकारी भूमिका निर्वाह गर्न, गाउँपालिकासंग समन्वय गरेर सहकारीका गतिविधि सञ्चालन गर्न तथा नेतृत्व विकासका गतिविधिमा सहजीकरण गर्न सक्ने अपेक्षा गरिएको सहसंयोजक सपना पुनले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *