अन्नपूर्ण गाउँपालिकाका सहकारीकर्मीलाई सचेतना


आदर्श अनलाइन, म्याग्दी

अन्नपूर्ण गाउँपालिकाले सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका पदाधिकारी सदस्य र कर्मचारीहरुका लागि आयोजना गरेको लेखा तथा वित्तीय व्यवस्थापन सम्बन्धी २ दिने तालिम मंगलवार सम्पन्न भएको छ ।

पालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुको यथार्थ अवस्था जानकारी लिन, उनीहरुले सञ्चालन गरेका वित्तीय तथा गैर वित्तीय कारोबारको अवस्था र सुधारका लागि गर्न सकिने विषयहरुका बारेमा छलफल गरी सहकारीमा देखिएका समस्या समाधानमा सहकार्य गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्तरगतका २२ वटा र जिल्ला कार्यक्षेत्र रहेर अन्नपूर्ण गाउँपालिकामा सेवा केन्द्र सञ्चालन गरेका २ वटा सहकारी संस्थाहरुले सदस्यलाई दिएको सेवा, सदस्य केन्द्रीयताको अवस्था, सहकारीको साख वृद्धिमा सहकारी संघ संस्थाको योगदान लगायतका विषयमा जानकारी लिनका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका प्रशाकीय अधिकृत तथा सहकारी शाखा प्रमुख भगवती खड्काले जानकारी दिनुभयो ।

तालिममा सहकारीमा लेखा सुपरीवेक्षण समितिको भूमिका, कर्मचारीको काम कर्तव्य र अधिकार लगायतका विषयमा सहजीकरण गरिएको थियो । संस्थाहरुको अवस्था, सहकारीमा देखिएको संकट समाधानमा सहकारी संस्थाले खेलेको भूमिका, सहकारीमा थप संकट आउन नदिन खेल्नु पर्ने भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको सहकारी शाखा प्रमुख खडकाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरु र प्रवन्धकहरुको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *