विद्यालय नजिकै रहेका पसलबाट सुर्तिजन्य पदार्थ जफत गरियो


आदर्श सञ्चार, म्याग्दी

म्याग्दीको बेनी बजारमा रहेका बेनी सामुदायिक माध्यमिक विद्यालय तथा प्रकाश माध्यमिक विद्यालयको सटरमा बिक्रीका लागि राखिएको सुर्तीजन्य पदार्थ जफत गरिएको छ ।

बेनी सामुदायीक विद्यालयको व्यवसायीक सटरमा बिक्रीका लागि राखेको सुर्तिजन्य पदार्थहरु जफत गरेर नष्ट गरीएको हो । सुर्तिजन्य पादर्थहरु खुल्ला रुपमा जोखन किराना पसल, तथा दिपक किराना पसलमा पाइएकोले जफत गरीएको बेनी नगरपालिकाका अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो प्रकाश माविको अगाडीको आन्टी किराना पसलमा पनि कानुन भन्दा बिपरीत विद्यालयकै भवनमा रहेको व्यवसायीक भवनमा खुल्ला रुपमा बिक्रीका लागि राखेको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गरीएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा म्याग्दी सदरमुकाम बेनी बजारका भएको अनुगमनमा अधिकांश पसलहरुमा म्याद गुज्रेको सामान भेटिएपछि नियन्त्रणमा लिएर नष्ट गरीएको हो । पटकपटक चेतावनी दिँदा पनि बजारमा म्याद गुज्रेको सामान बिक्री गर्ने टाँसीमा सजाएर राखेकै अवस्थामा भेटीनु दुःखद् पक्ष रहेको खाद्य निरीक्षक सहन्सा मेहताले बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बागलुङको अगुवाइमा जिल्ला प्रशासन, बेनी नगरपालिका, पर्यटन तथा घरेलु कार्यालय एवम् सरोकारवालाहरुको समन्वय तथा सहभागितामा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलहरुमा अखाद्य भेटिँदा पटकपटकको चेतावनी पछि पनि व्यापारीहरुले राज्यलाई वेवास्ता गरेर नसुध्रेको जस्तो देखिएको सरोकारवालाको गुनासो छ । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा घरेलु कार्यालय तथा नगरपालिकाले पनि बजार अनुगमन गरेर लिखित चेतावनी दिने गरेको भएपनि बजार अनुगमनका क्रममा हरेकजसो ब्यापारीक पसलहरुमा म्याद गुज्रेका अखाद्य समाग्रीहरु फेला पर्ने गरेको हो ।

बेनी बजार क्षेत्रमा ९ वटा होटल तथा रेष्टुरेन्ट तथा १५ वटा खाद्यान्न पसलहरुमा अनुगमन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक मेहताका अनुसार बेनी बजार क्षेत्रमा गरिएको अनुगमनमा अधिकांश पसलहरुमा अखाद्य सामग्रीहरु पाइएको छ । फेला पारिएको अखाद्यलाई नष्ट गरेर लिखित चेतावन दिइएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो दर्ता बिना व्यवसाय सञ्चालन गर्ने देखि लिएर दर्ता एउटा गरेर अर्कै व्यवसाय गरेको समेत फेला परेको छ । त्यस्ता व्यवसायीलाई एक हप्ता भित्रै आवश्यक कागजात पुरा गरेर मात्रै व्यवसाय सञ्चालनका लागि आग्रह गरिएको उहाँको भनाई छ ।

बेनी नगरपालिकाका अधिकृत पौडेलले बजारमा अनुगमनका क्रममा म्याद गुज्रेको सामानहरु फेला पारेर त्यसलाई जफत गरी नष्ट गरीएको बताउनुभयो । उहाँले भन्नुभयो–कतिपय पसलहरुको नविकरण गर्न बाँकी तथा अन्य कागजातहरुको अध्यावधिक गर्न बाँकी रहेकालाई पनि तत्कालन गर्न दिर्नेशन दिइएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पहिलाको तुलनामा धेरै सुधार भएको भए पनि यसलाई अझै कडाइका साथ सुधारका लागि प्रयास हुने बताउनुभयो । उहाँले माइकीङ गरेर र पत्राचार गरेरै सामानको म्याद निगरानी गर्न र म्याद गुज्रेको सामानलाई छुटट्ै राख्ने व्यवस्था मिलाउनका लागि ब्यापारीलाई आग्रह गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘राज्यको कानुनले बर्जित गरेको कार्य नगर्न र म्याद गुज्रेका सामग्रीहरुलाई पनि उचित व्यवस्थापनका लागि हामीले सँधै प्रयास गरेका छौं अब अझै व्यवस्थीत तबरले काम गर्छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *