भुक्तानी पाएपछि काममा फर्किए ठेकेदार


खेमराज गौतम, बागलुङ
गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउदा काम छोडेर हिडेका ठेकेदारहरु काममा फर्केका छन् ।

दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठूला सडक निर्माणले पुन तिब्रता पाउने भएका छन् । सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेका साविक धौलागिरी अञ्चलका तीन जिल्लाका चार वटा ठूला सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदारले भुक्तानी पाएका छन् ।


रु. एक अर्ब १९ करोड रकममा छुट्टा छुट्टै मितिमा सम्झौता भएका एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगतका चार वटा सडक निर्माणले गतवर्षको भुक्तानी पाएपछि गति लिन थालेको हो ।
बागलुङ क्षेत्र नम्बर १ अन्र्तगत पर्ने बागलुङ बजार–सिगाना–चापाखर्क–शान्तिपुर जोड्ने सडक र म्याग्दी जिल्लाको रत्नेचौर–ज्यामरुककोट, भकिम्लि हुँदै बराङ्जा जाने सडकको गत वर्षको मात्रै रु.सात करोड १२ लाख ४७ हजार भुक्तानी गर्न बाँकी रहेको थियो ।


जसमध्ये सिगानाको रु. ३ करोड ३१ लाख ३ हजार र म्याग्दी सडकको रु. तीन करोड ८१ लाख ४४ हजार भुक्तानी गरिएको छ । पुरानो रकम भुक्तानी पाएसंगै निर्माण व्यवसायीहरु काममा फर्केर सडकको पहिरो हटाउने, बिग्रे भत्केको मर्मत गर्ने कार्यमा जुटेका हुन् ।


उक्त सडक निर्माणका ठेकेदारलाई ८ महिना ढिलागरी भुक्तानी दिएपछि निर्माण व्यवसायीहरु काममा फर्केका हुन् । यस्तै बागलुङ क्षेत्र नम्बर २ अन्र्तगत पर्ने हरिचौर बजार, मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनीहुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक र मुस्ताङ जिल्लाको रणनीतिक सडक अन्र्तगत पर्ने लेते स्थित थासाङ गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटि, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा समेत कामले तिब्रता पाउने भएको छ ।


ठेक्कामा गएर कामले द्रुत गति लिएका सडकमा बजेट अभावले ८ महिना काम कतै ठप्प त कतै ढिलाई भएकोमा अघिल्लो वर्षको दायित्व भुक्तानीसंगै निर्माण व्यवसायीहरु काममा फर्केको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार अर्थ मन्त्रालयले दायित्व भुक्तानीका लागि बजेट थप गरेपछि तीन जिल्लाका चार ठूला सडकले तिब्रता पाउने भएका छन् ।

“बागलुङका दुई, म्याग्दी र मुस्ताङ्को एक/एक गरी चार वटा सडकमा चालु आर्थिक वर्षमा चार करोड बजेट आएको थियो, तर एक अर्ब १९ करोडमा सम्झौता भएको सडकमा जम्मा एक÷एक करोड बजेट आएको थियो तर दुई वटा सडकको भुक्तानी मात्रै सात करोड बढी भएकाले निर्माण व्यवसायीलाई ताकेता गर्न सकेका थिएनौं” डिभिजन प्रमुख घिमिरेले भन्नुभयो “निरन्तरको ताकेताले दायित्व भुक्तानी गर्न सफल भयौं, सडक निर्माणको कामले गतिलिएपछि पुन बजेट आउने छ, अहिले निर्माण व्यवसायीहरु काममा फर्केका छन्, आशा छ असार मसान्त सम्म सिगाना, म्याग्दीको सडक कालोपत्रका लागि तयारी हुनेछ, बागलुङको मल्मको सडक र मुस्ताङको सडकको ५० प्रतिशत प्रगती गर्ने लक्ष्य छ ।” संघीय सरकार अन्र्तगत २०७९ सालमा शुरु भएका तीन जिल्लाका चार वटा ठूला सडकको काम ठप्प भएपछि स्थानीयहरुले पटक–पटक सडक डिभिजन कार्यालय बागलुङमा तोकता गर्दै आएका थिए ।

बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चार वटा ठूला सडक रु. एक अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माणधीन अवस्थामा रहेका छन् । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ क्षेत्र नम्बर १ मा पर्ने बागलुङ बजार अदालत चौपारी–सिगाना–चापाखर्क– गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको हाल सम्म ४८ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

१० किमि कालोपत्र गर्नका लागि रु. २९ करोड ३७ लाख ८८ हजारमा सम्झौता भएको थियो ।
निर्माणको जिम्मा पाएको कर्ण बिल्र्डसले शुरुमा धमाधम काम गरेपछि भुक्तानी नपाउदा फिल्ड आउन सकेको थिएन । गत वर्षकै रु. ३ करोड ३१ लाख ३ हजार भुक्तानी पाएपछि निर्माण व्यवसायी काममा फर्केको हो । बागलुङ क्षेत्र नम्बर २ अन्र्तगत पर्ने हरिचौर बजार, मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनीहुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक २०७९ सालमा २५ करोड २० लाखमा सम्झौता भएको थियो ।

उक्त सडकमा हाल सम्म जम्मा १८ प्रतिशत भौतिक प्रगती भएको छ । यस्तै म्याग्दी जिल्लाको रत्नेचौर–ज्यामरुककोट, भकिम्लि हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण अन्य तीन सडकको तुलनामा सबैभन्दा बढी रहेको छ ।

४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीले गत वर्षको मात्रै रु. तीन करोड ८१ लाख ४४ हजार भुक्तानी अहिले पाएको हो । दायित्व भुक्तानी पाएसंगै निर्माण व्यवसायी कालोपत्रको तयारीमा जुटेको छ । यस्तै मुस्ताङ जिल्लाको रणनीतिक सडक अन्र्तगत पर्ने लेते स्थित थासाङ गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटि, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा हाल सम्म २२ प्रतिशत भौतीक प्रगति भएको छ । तीन वर्षमा कालोपत्र गर्ने गरी रु.३८ करोड ८८ लाख ६१ हजारमा निर्माण व्यवसायीसंग सम्झौता भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *