तनँहुका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

आदर्श अनलाइन, दमौली
राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले तनहुँका दुईवटा सहकारी संस्थालाई बैंकको व्यवसाय पुरस्कार प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक वटा सहकारी संस्थालाई आइतवार दमौलीमा आयोजित एक कार्यक्रमका बीच बैंकले पुरस्कृत गरेको हो ।

उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकीस्थित बेल चौतारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित सम्वृद्धि वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।

बेल चौतारा सहकारीका अध्यक्ष हिम कुमार श्रेष्ठ र सम्वृद्धि सहकारीका उपाध्यक्ष कृष्ण बहादुर भुजेललाई ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, बैंकको दमौली शाखा समन्वय उपसमितिका संयोजक अमर बहादुर कुँवर लगायतले पुरस्कृत गर्नु भएको थियो ।

बैंकको १८ औं वार्षिक साधारणसभामा घोषणा गरिएका विभिन्न विधाका पुरस्कार मध्ये शाखा स्तरीय पुरस्कार शाखाले आयोजना गरेको कार्यक्रम मार्फत वितरण गरिदै आएको छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको समृद्धिका लागि सहकारीहरुसंगको सहकार्यमा जोड दिइएको बताउनुभयो । सहकारी आम समुदायलाई आर्थिक रुपमा सबल बनाउने र सामाजिक रुपमा सक्षम बनाउने अभियान हो, नगर प्रमुख न्यौपानेले भन्नुभयो–स्थानीय तह र सहकारी मिलेर समुदायमा आर्थिक सामाजिक गतिविधिलाई प्रभावकारी बनाउनु छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीमार्फत समुदायको आर्थिक विकासका लागि सहकारी ऐन नियमको प्रभावकारी कार्यान्वयनसंगै समन्वय र सहकार्यका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, कृषि सहकारी संघ तनहुँका अध्यक्ष विष्णु कुमार श्रेष्ठ लगायतले वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बैंकको दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवरको अध्यक्षता, शाखा समन्वय उपसमितिका सदस्य रामजी लौडारीको स्वागत र बैंकका शाखा प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *