अनुशासननै जीवनको महत्वपूर्ण आधार

कृषिता अधिकारी ( निशा)
मानिसलाई असल बनाउने एउटा महत्वपूर्ण कडी हो अनुशासन । जसको अनुशरण गर्दा पनि मानिस नैतिकतावान् र असल बन्न सक्दछ ।

जसरी लगाम बिनाको घोडा कुनै पनि समयमा दुर्घटना हुन्छ नि त्यसरी नै अनुशासन मानव जीवनमा नभइ नहुने एउटा महत्तवपूर्ण कुरा हो । जहाँ मानिसले आथिक रूपमा जतिसुकै प्रगति गरे पनि यदि अनुशासनबाट टाढा छ भने समाजमा उ चरित्रहिन अनैतिक मानिसको गणना हुन्छ ।

त्यसैगरी जीवनमा अनुशासनको महत्व अतुलनीय छ । किनकि अनुशासन शब्द कति ओजिलो छ भन्ने स्पष्ट पार्न प्रशिक्षकहरुले अनुशासन शब्दको अंग्रेजी अनुवाद ‘डिसिप्लिन’ शब्दमा भएका अक्षरहरुलाई भ्यालुमा रुपान्तर गरेर सम्झाउने गर्दछन् ।

अङ्ग्रेजी अक्षर ए देखि जेड सम्मका अक्षरहरुमा ए अक्षरलाई १, बी अक्षरलाई २ भ्यालु दिदै एवं प्रकारले जेड अक्षरलाई २६ भ्यालु दिएर सो सिद्धान्तका आधारमा ‘डिसिप्लिन’ शब्दमा भएका प्रत्येक अक्षरलाई भ्यालु दिने र त्यसपछि प्रत्येक अक्षरका भ्यालुलाई एकमुष्ट जोड्ने हो भने योगफल १०० हुन आउछ । यही अभ्यास गराउँदै अनुशासन (डिसिप्लिन) शब्द अत्यन्त शक्तिशाली छ भनेर प्रशिक्षकले प्रशिक्षार्थीलाई बुझाउने गर्दछन् ।

अर्कोतिर मस्तिष्कले आदेश दिने र शरीरले पालन गर्ने विधिबाट मानिसको जीवन चलेको हुनछ जसमा मन सधै सफा रहनु पर्दछ किनकि शरीर त स्नानक्रियाबाट सफा हुन्छ । मन कसरी सफा हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । आध्यात्म विज्ञानअनुसार मन इन्द्रीयहरुको बशमा हुने भएकाले यो अलि छाडा स्वभावको हुन्छ । त्यसैले मनलाई बुद्धिको अङ्कुश लगाउनु पर्दछ । यही प्रक्रियाबाट मनलाई माझ्न सकिन्छ । मन माझियो भने जीवनमा सन्तोषको आगमन हुन्छ । अनि बुद्धिले योजना बनाउँछ, शरीरले कार्यान्वयन गर्छ र हृदयले मूल्यांकन गर्छ यसरी हाम्रो जीवन सार्थक हुँदै जान्छ ।

वास्तवमा भन्ने हो भने हाम्रो जीवनको सार्थकता सिपालु, सफल र असल हुनुमा छ । उल्लिखित गुणले सम्पन्न हुन कसलाई रहर हुँदैन र । तर चाहेर मात्र सम्भव हुँदैन नित्य साधनाको खाँचो पर्दछ हरेक मानिसमा ज्ञान, सीप र सकारात्मक सोच हुनुपर्दछ किनकि सफल मानिस जीवनभर सम्मानित हुन्छ र जीवनको अन्तिम लक्ष्य असल हुने हो । असल हुनलाई अरुको भलाई गर्ने, सेवा गरेर सम्मान आर्जन गर्ने र आदर्श चरित्रको चिनारी बनाउन सक्नु पर्दछ । हामीले यसरी नै हाम्रो जीवनलाई सफल र असल बनाउन सकियो भने जीवनमा खुशी र आनन्द प्राप्त भइरहन्छ । वास्तवमा भन्ने हो भने सफल र असल हुने चिन्तन सबैमा हुन जरुरी छ । एउटा सभ्य अनुशासित मानिसबाट मात्रै असल परिवार, समाज, समुदाय अनि सिङ्गै राष्ट्रको कल्पना गर्न सकिन्छ । ‘आमा भन्दा के छ धामा खुदो खाए समान छ ,आमा भन्दा फलाम पगालेर पिउनु पर्छ’ अनुशासनलाई एउटा गहानाको रूपमा पनि लिन सकिन्छ । जसरी गहना लगिएको नारीको सौन्दर्य राम्रो देखिन्छ त्यसरी नै अनुशासनलाई आत्मसाथ गरको मानिस पनि त्यसरी नै समाजमा शोभाएमान बन्न पुग्छ ।

विषेशगरी विद्यार्थी जीवनमा अनुशासनको महत्वपूर्ण विशेष रूपमा हुने गर्दछ । अनुशासन आमाको काखदेखि नै सिकिन्छ जहाँ प्रकृतिका हरेक वस्तु नियमानुसार नै चलेका हुन्छन् जसमा बिहान हुन्छ, घाम लाग्छ साँझ पर्छ, फूलहरू फुल्छन्, ऋतुहरू आउँछन् र त्यसैगरी जान्छन् पनि ।

त्यसरी नै विद्यार्थीले पनि उठ्ने, बस्ने, काम गर्ने, आराम गर्ने, गृहकार्य गर्ने आदि सबै कुरा नियम अनुसार गर्नुपर्छ । विद्यार्थी अनुशासन प्रेमी हुनुपर्छ किनकि अनुशासनले विद्यार्थीलाई असल व्यक्ति बनाउँछ । अनुशासित विद्यार्थीले आफ्ना बुबा, आमा, गुरु र समाजको इज्जत राख्दछ । ठूलाको आदर गर्नु, सानालाई माया गर्नु, असहायलाई सहयोग गर्नु जस्ता कुरा विद्यार्थी जीवनकै अनुशासनभित्र पर्न आउँछन् ।

अनुशासनको पालना गर्नाले हरेक विद्यार्थीको जीवन सफल हुन्छ त्यसैले अनुशासनको क्षेत्र धेरै फराकिलो छ । अनुशासित विद्यार्थी शिक्षकको आँखाको नानी मात्र होइन हरेकका लागि मायाको खानी बनेको हुन्छ । अनुशासनले विद्यार्थीलाई सफलताको सिँढी चढ्न सहयोग गर्छ । आजको विद्यार्थी अनुशासनको पालनाबाट नै भोलि देशको कर्णधार हुन्छ । विद्यार्थीको जीवनमा अनुशासन नभए विद्यार्थी छाडा हुन्छन् ।

अनुशासित विद्यार्थीले देशको, समाजको, परिवारको हित र कल्याणबारे सोच्दछ । अनुशासन विद्यार्थी जीवनका निम्ति महत्वपूर्ण कुरा हो । असल बिहानीले असल दिनको सङ्केत दिन्छ त्यसैले अनुशासित विद्यार्थीले नै जीवनमा पनि अनुशासित हुन सिक्छन् । त्यस्तै अनुशासित विद्यार्थी जीवनमा कहिल्यै असफल हुँदैन त्यसैले विद्यार्थी जीवनमा अनुशासनको धेरै महत्वपूर्ण स्थान रहेकोे छ ।

अर्कोतिर शिक्षा र अनुशासन मानव जीवनलाई सफल र उन्नत बनाउन बनाउन अतिनै मदत गर्दछ । अझ त्यसमा विद्यार्थी जीवनमा शिक्षा र अनुशासनले ठूलो महत्वपर्ण राख्दछ जहाँ शिक्षा आर्जन गर्नुमात्रै पर्याप्त छैन, शिक्षालाई स्तरीय र भविष्य अनुकुल बनाउन अनुशासनको साथै इच्छा र लगनको पनि उत्तिकै आवश्यकता पर्दछ । असल शिक्षा आर्जन गर्न, शिक्षालाई जीवनोपयोगी बनाउन साधना र तपस्या नै गर्नुपर्दछ । यसरी प्राप्त शिक्षाले स्वयंको जीवनलाई सफल बनाउँदछ । अनुशासन सफलताको मार्ग हो, जुन मानवको असल विकासको लागि धेरै आवश्यक छ । मानवले शिक्षा र ज्ञानको साथमा अनुशासनले जीवनयापन गर्दछ भने ऊ आफ्नो सुख र समृद्धिमा भविष्यको लागि मार्ग निर्धारण गर्न सक्दछ ।

त्यसैगरी हामी सबैलाई थाहा भएकै कुरा हो । असल शिक्षाले प्रश्न गर्न र उत्तर दिन सिकाउँछ भने खराब शिक्षाले उत्तर दिन हिच्किचाउँछ र रट्न सिकाउँछ । त्यसैले शिक्षा दिने र लिने तरिकामा पनि हामी आफैँ आजैबाट परिवर्तन गरौँ, तब मात्र शिक्षामा बदलाव आउनेछ किनकि हाम्रो समाज र देशमा शिक्षाको क्षेत्रमा परिवर्तन अवश्य नै हुन्छ ।

त्यस्तै विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् हामीले हाम्रा नानि बाबुलाई असल शिक्षा दिनु हाम्रो कर्तव्य पनि हो साथै अनुशासन सिकाउनु र अनुसासनमा रहन सके हामीले हाम्रो जीवन सफल र सरल बनाउन सक्छौ । त्यसैले त अनुशासन पालना र आत्म–नियन्त्रित व्यवहार उचित अधिकारको आदेशहरूको पालना गर्नु हो ।

अनुशासनको जीवन भर ठूलो महत्व छ र जीवनको हरेक क्षेत्रमा आवश्यक छ किनकि अनुशासन बिना, कोही पनि आफ्नो जीवनमा कुनै ठूलो कुरा हासिल गर्न सक्दैन तसर्थ , अनुशासनले हामीलाई हाम्रा कार्यहरू र गतिविधिहरू प्रभावकारी ढङगले सम्पन्न गर्न मद्दत गर्दछ । हामी हाम्रो जीवनको हरेक चरण र क्रियाकलापमा अनुशासित हुनुपर्दछ । अनुशासित हुनु सफलता प्राप्त गर्न मद्दत गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *