एसईईका परीक्षार्थीलाई शुभकामना

सम्पादकीय/ विद्यार्थी जीवनको एक महत्वपूर्ण कालखण्ड समय व्यतित गरेर शिक्षा आर्जनको अर्को महत्वपूर्ण अध्यायमा प्रवेश गर्ने अवसर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । केही वर्ष पहिले सम्म ‘फलामे ढोका’को रुपमा स्थापित एसएलसी संघीय संरचना र शिक्षाको अभ्याससँगै एसइई बनाइएको छ । एसइईमा पहिलेको जस्तो उत्साह, रौनकता र भय पछिल्लो समय देखिदैन । तर, माध्यमिक शिक्षाको एक महत्वपूर्ण खुड्किलो पार गर्ने परीक्षा भएकाले यसले महत्व भने धेरै राख्छ । यसकारण विद्यार्थी र अभिभावकले अझै पनि अरु परीक्षा भन्दा यसलाई भिन्न रुपले भने लिन्छन् । यसपछि प्लस टु, क्याम्पस तर्फ अध्ययनका लागि जाने भएकाले पनि एसइईलाई पृथक रुपमा लिइन्छ । अरु परीक्षा भन्दा फरक रुपमै लिइने भएकाले यस परीक्षाको तयारी पनि वर्षदिन अघि देखि नै गर्ने गरिन्छ ।

अहिलेको परीक्षामा देशभरबाट ४ लाख ८९ हजार परीक्षार्थी सहभागी हुँदैछन् । बागलुङबाट मात्रे यसवर्ष ४ हजार ३ सय ९९ विद्यार्थी एसइई परीक्षामा सहभागी छन् । गत वर्षको तुलनामा यस वर्ष एसइई दिने विद्यार्थीको संख्या ४३७ ले घटेका छन् । उसो त पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने विद्यार्थीको संख्या वर्षेनी घटेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका अनुसार २०७८ सालमा ४ हजार ८९३ जना एसइई परीक्षामा सहभागी भएका थिए । २०७९ सालमा ४ हजार ८३६ विद्यार्थी सहभागी भएका थिए । वर्षेनी परीक्षार्थीको संख्या घट्दै गएको तथ्यांकले नेपालको शैक्षिक अवस्थाको बिग्रिदो र निराशाजनक परिदृश्यलाई प्रष्ट देखाउँछ । घट्दो जनसंख्या, बढ्दो बैदेशिक रोजगारका कारण विद्यालय, विश्वविद्यालयहरुमा पछिल्लो समय विद्यार्थीको संख्या क्रमशः न्यून भएको यो एक उदाहरण हो । यस पाटोमा पनि सम्बन्धित निकायले गहन बिश्लेषण, समीक्षा गरेर भोलिका दिनमा आउन सक्ने सम्भावित खतरालाई समयमै सम्बोधन गर्ने गराउने तर्फ पहल गरिनुर्छ ।

एसइई पहिलेको एसएलसी जस्तो ‘फलामे ढोका’ रहेन । अरु नियमित परीक्षा जस्तै हो भन्ने अनुभूतिका साथ विद्यार्थी यसमा सहभागी हुनेछन् । प्रत्येक शैक्षिक वर्षको अन्त्यमा लिइने सबै परीक्षा विद्यार्थीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ । यस परीक्षाको नतिजाले विद्यार्थीलाई माथिल्लो तहमा जाने र अब आफ्नो भविष्यको प्रष्ट खाका कोर्ने अवसरको सम्मुखमा उभ्याउनेछ । त्यही अवसरमा जाने एउटा अनिवार्य विन्दुको रुपमा अहिलेको एसइई परीक्षालाई लिनुपर्छ । विगतमा एलएलसी हुँदा र अहिले एसइई बनाउँदा समेत कैयन विद्यार्थीले आवश्यकता भन्दा बढी महत्वको रुपम लिँदा यसको त्रासले विद्यार्थीमा मनोबैज्ञानिक दबाब र प्रभाबका कारण परीक्षा बिग्रिएको थुप्रै दृष्टान्त पनि छ । त्यसैले उच्च मनोबल र संयमितका साथ विद्यार्थीहरुले परीक्षा दिनु आवश्यक छ । सरकार र यसका सरोकारवाला सम्बन्धित निकायले एसइई परीक्षालाई मर्यादित बनाउन सोही किसिमले पहल र भूमिका निर्वाह गर्नुपर्छ । अहिलेलाई यसवर्षको एसइई परीक्षामा सम्मिलित सबै परीक्षार्थीलाई सफलताको हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *