गोरु पाल्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका


खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई यस वर्षबाट प्रोत्साहन गर्न थालेको छ । बागलुङ नगरपालिकाले पछुपन्छी तथा मस्यपालन कार्यविधि २०७९ निर्माण पश्चात चालु आर्थिक वर्षबाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो ।

बागलुङ नगरपालिकाले पहिलो पटक गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्नका लागि रु. चार लाख बजेट बिनियोजन गरेको छ । उक्त बजेट कार्यान्वयनका लागि हल गोरु पाल्ने किसानबाट आवेदन संकलन भइसकेको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ ।

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन थालिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार बागलुङ नगरपालिका भित्रका गोरु पाल्ने किसानबाट ११० निवेदन संकलन भएको छ । प्राप्त निवेदनका आधारमा अनुगमन पश्चात चार लाखलाई सबै किसानलाई समेट्नेगरी अनुदान दिइने छ ।

“एक हल गोरु पाल्ने किसानलाई पहिलोपटक अनुदान दिन थालिएको छ, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चार÷पाँच हजार जतिले अनुदान बितरण गरिन्छ” सापकोटाले भन्नुभयो “यो कार्यक्रम निरन्तर चल्छ, कम्तिमा एक किसान रु. १० हजारका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ, आगमी वर्ष हल गोरु पाल्ने प्रत्येक किसानलाई रु. १० हजार दिनेगरी रु. १० लाख बजेट बिनियोजन गर्ने योजना छ ।”

नगरपालिकाले पहिलोपटक गोरुपाल्ने किसानलाई अनुदान दिन थालेपनि अनुदानका लागि धेरै किसानको निवेदन आएपछि नगरपालिका आगमी वर्षदेखि बजेट बढाउने पक्षमा रहेको छ ।
हाते ट्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौंदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि नगरपालिकाले अभियानका रूपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिन थालिएको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

खड्काले मिनि टेलर हलो वितरण गर्ने कार्यले गोरु पाल्ने किसानलाई निरुत्साहित भयो की भन्ने नगरपालिकाले महशुस गरेको बताउनुभयो । “स्थानीय तहले कृषिमा आधुनिकरणको नाममा मिनि टेलर हलो वितरण गर्ने लहडै चलेको छ, व्यावसायीक खेती गर्न, शहर बजार नजिकै मिनि टेलर हलो उपयुक्त भएपनि गाउँ–गाउँमा परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो छ, मल मुत्रको प्रयोग समेत कृषिमा अपरिहार्य छ” खड्काले भन्नुभयो “अब मिनिटेलर हलो बितरण गर्ने हैन हल गोरु पाल्ने किसानलाई पोषण खर्चनै दिइन्छ, गोरुपाल्दा बातावरणमा समेत सकरात्मक असर देखिने रहेछ ।”

नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि नगरपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा लगेको छ । गोरु नपाल्दा गाई संरक्षणमा समेत चुनौती देखिएकाले गोरु संगै गाई संरक्षण गर्ने नगरपालिकाको योजना हो ।

कृषि प्रयोजन तथा प्रांगारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरूप अनुदान दिइने र अनुदानले गोरु पालक किसानले गोरु पाल्ने कामलाई निरनतरता दिने नगरपालिकाको योजना रहेको छ । नगरपालिकाको पशु शाखाले किसानको गोठमा हल गोरुपालन गरे÷नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिनका लागि अहिले अनुगमन गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *