सहकारीको ऋण नतिर्नेका बारेमा गाउँपालिकालाई जानकारी दिनुुस् : अध्यक्ष पुन

आदर्श अनलाइन, बागलुङ
अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारत कुमार पुनले सहकारीबाट ऋण लगेर तिर्न आलटाल गर्ने, आनाकानी गर्नेहरुका बारेमा गाउँपालिकामा जानकारी गराउन आव्हान गर्नु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका पदाधिकारी सदस्य र कर्मचारीहरुका लागि आयोजना गरेको लेखा तथा वित्तीय व्यवस्थापन सम्बन्धी २ दिने तालिमको सोमबार शुभारम्भ गर्दै अध्यक्ष पुनले यस्तो बताउनु भएको हो ।

सहकारीमा आएको संकटसंगै सहकारीबाट ऋण लगेकाहरुले समयमा भुक्तान नगरेका सूचनाहरु पनि आउने गरेका छ, शेयर सदस्यहरुले वचत गरेको रकम सहकारीले ऋणका रुपमा अर्को सदस्यलाई लगानी गरेको छ, ऋण लिएको सदस्यले ऋण भुक्तान नगर्दा वचत गरेको सदस्यले वचत फिर्ता नपाउने अवस्था सिर्जना हुन थालेकोले सबै ऋणीहरुलाई समयमा ऋण भुक्तान गर्न अध्यक्ष पुनले आव्हान गर्नु भयो ।

समयमा ऋण नतिर्नेहरुका बारेमा गाउँपालिकालाई जानकारी गराएमा ऋण असुलीका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष पुनले सहकारीको ऋण नतिर्नेहरुका कारण पनि सहकारीहरुमा समस्या सिर्जना भएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा अहिलेसम्म सहकारीले वचत फिर्ता गरेनन् भन्ने गुनासो आएको छैन, तर ऋण नतिर्ने विषयमा चर्चा हुने गरेकोे छ, ऋण नतिर्ने खराव ऋणीहरुको बारेमा पालिकालाई जानकारी गराउन उहाले आग्रह गर्नु भयो । यति बेला सहकारी क्षेत्रमा देखिएको संकट समाधानका लागि राज्य, अभियान र सहकारीका शेयर सदस्यहरु एकतावद्ध भएर काम गर्नु पर्नेमा उहाँले जोड दिनु भएको छ ।

कोरोनाका कारण सिर्जित समस्या, विश्वमा देखिएको वित्तीय संकट र केही नियम विपरित काम गरेका सहकारीहरुका कारण आज सिंगो सहकारी अभियानमाथी प्रहार भैरहेको छ, विपन्न वर्गका जनतालाई वचत सिकाउने, उद्यममा लाग्न उत्प्रेरित गर्ने, ग्रामिण क्षेत्रमा पूँजी परिचालन लगायत समाजमा पछि परेको क्षेत्र र समुदायको क्षमता विकासमा योगदान गरेको सहकारीलाई यति बेला संकट आइलागेको छ, अध्यक्ष पुनले भन्नुभयो, सहकारीमा आएको संकट समाधानका लागि सहकारीका सञ्चालक तथा शेयर सदस्य र अभियानसंगै राज्य र अन्य सरोकारवालाहरुबी सहकार्य गरेर काम गर्न आवश्यक छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले सहकारी हाम्रो समाजको वित्तीय परिचालन र समुदायमा सचेतना प्रदान गर्नका लागि उपयुक्त माध्यम भएकाले सबै मिलेर सहकारीको साख जोगाउनु पर्नेमा जोड दिनुभयो । नाफामा केन्द्रीत भएका र वित्तीय अनुशासन पालना नगरेका केही सहकारीमा देखिएको बिचलनलाई लिएर सिंगो सहकारी अभियानलाई कमजोर बनाउने गरी भएको क्रियाकलापलाई न्यूनिकरण गर्नु पर्नेमा उहाँको जोड थियो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सामाजिक न्याय सहितको लोक कल्याणकारी राज्य निर्माणका लागि सहकारी अपरिहार्य भएकाले सहकारी क्षेत्रलाई सुशासन र नियमनमा सुधार गरी संस्थागत रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले पालिका भित्रका सबै सहकारीको अनुगमन गरी प्रभावकारी सञ्चालनमा समन्वय गर्ने र नियम विपरित सञ्चालन हुने सहकारीलाई कानुनी दायरामा ल्याउने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरु र प्रवन्धकहरुको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको पालिकाका प्रशासकीय अधिकृत तथा सहकारी शाखा प्रमुख भगवती खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *