नयाँ वर्ष २०८१ को शुभकामना

सम्पादकीय
वर्ष २०८० को समाप्ती, नयाँ वर्ष २०८१ को शुभारम्भ । कुनै कुराको समाप्ती हुनु पनि अर्को सुरुवात रहेछ । हरेक वर्ष फेरिरहने क्यालेण्डरका पानाहरुले यही संकेत गर्छ । अहिले भित्तामा टाँगिएको क्यालेण्डरका पाना मात्र फेरिएको छैन, फेरिएको छ समय, परिवेश अनि धेरै विषय । वर्ष २०८१ को नयाँ अध्याय सुरुवातसँगै मानिसहरुमो भिन्न खालको उत्साह देखिएको छ । नयाँ वर्ष नयाँ सपना, नयाँ रहर, नयाँ जोश, संकल्प, नयाँ सोच अनि आफ्नै लागि थुप्रै प्रतिबद्धताहरु घोषित अघोषित रुपमा गरिएका छन् । उसो त पछिल्लो समय नेपाली नयाँ वर्ष पनि एकखालको चाडपर्व जस्तो बन्न थालेको छ । यसका अवसरमा नयाँ ठाउँ नयाँ गन्तव्य घुम्न जानेदेखि मिठा परिकार खाने, भेटघाट गर्ने, उत्सव, महोत्सवहरु आयोजना गर्ने लहर समेत चलेको छ ।

एक सिंगो वर्ष बित्नु केबल समय मात्र होइन । समयसँगै समय सापेक्ष रुपमा गरिएका कर्म र उपलब्धिहरु त्यसका मापक हुन् । कुनै पनि व्यक्ति या संस्था या सरकारको उपलब्धि वर्षमा होइन, उसले छोटो या लामो अवधिमा गरेको कर्म र उपलब्धिहरुकै आधारमा मापन हुन्छ र गरिन्छ । गएको एक वर्षलाई पनि त्यसरी नै हेर्नुपर्छ । चाहे त्यो नितान्त निजी जिन्दगीको गएको एक वर्ष होस् या संघ संस्था, कम्पनी, व्यवसाय या सरकार । सबैले गत वर्षको समिक्षा गर्दा मुख्यतः यसलाई आधार बनाइनु पर्छ । जसले भोलिको प्रगति, उपलब्धिको थप आधार दिन सक्छ । बितेको वर्ष फर्केर हेर्दा नेपालीहरुका लागि उति सुखद र उत्साहप्रद रहेन । देशभित्र आर्थिक, सामाजिक, राजनीतिक कुनै क्षेत्रमा पनि सन्तोष गर्न सकिने उपलब्धि भएन । राजनीतिक अस्थिरता, बेथितिको निरन्तरता देखियो । भ्रष्टाचारका अनेकन काण्ड बाहिरिए । जसमा ‘ठूला माछा’ कारबाहीको फन्दामा परेको चर्चा परिचर्चा बिच सामसुम पार्ने र छुट्ने छुटाउने अनुक्रम चलिरह्यो । आर्थिक रुपमा विश्वव्यापी मन्दीको असरले शिथिलता निम्त्याइरह्यो । युवाहरुको बिदेश पलायत तिब्रतर गति र संख्यामा उल्लेख्य बढावा छ । बैदेशिक रोजगारमा पुगेकाहरुको असुरक्षा पनि उस्तै डरलाग्दो छ । इजरायलमा भएको हमासको आक्रमणमा बन्धन बनाइएका नेपाली युवा अहिलेसम्म बेपत्ता नै छन् । अवैधरूपमा रुस पु¥याएर ललाइफकाइ सेनामा भर्ती गरी युक्रेनमाथि हमला गर्न पठाइएका नेपाली युवाका सम्बन्धमा रुसले देखाएको उपेक्षा पनि नेपालका लागि चिन्ताको विषय बनिरह्यो ।

उसो त गत वर्ष निराशै निराशा मात्र होइन, केही आशा लाग्दा सम्भावनाका उदाहरणीय कर्महरु पनि सरकारी र निजी स्तरहरुबाट भएका छन् । ओरालो लाग्नै लागेको अर्थतन्त्र जसोतसो तङ्ग्रिन खोज्दैछ । नेपालमा सञ्चार माध्यम आर्थिकरूपमा सङ्कटकै घेरामा भए पनि छिमेकी देशहरूका तुलनामा स्वतन्त्र र निर्भीक छ । पहिलो पटक त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रमुख छानिएको छ । अरु केही क्षेत्रहरुमा पनि सकरात्मक सत्प्रयासहरु भएका छन् । अहिले नयाँ वर्षको आगमनसँगै निराशाका बाबजुद आम नागरिक नयाँ उत्साह, उमंग पैदा भएको छ । यसलाई नयाँ उर्जा, उत्साह सहित उपलब्धिमा बदल्ने प्रेरणाका रुपमा ग्रहण गर्नुपर्छ । विगतका वर्षहरुबाट पाठ सिकेर आउने वर्ष २०८१ साल प्रगति र समृद्धिको वर्ष बन्ने बनाउनेमा सरकार, राजनीतिक दल र आमनागरिकको ध्यान र इमान्दार प्रयास केन्द्रित होस्, नयाँ वर्ष २०८१ हाम्रा समस्त पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मीहरूलगायत सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको वर्ष बनोस् यही शुभकामना !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *