आधुनिक सुरुङ मार्गको युग

सम्पादकीय
नेपालमा अझै पनि सडकको दुरावस्था छ । अस्तव्यस्त र जोखिमपूर्ण सडककै कारण कैयन दुर्घटना भएका छन्, जसमा हजारौंले अकालमै ज्यान गुमाउनु परेको बिबशता छ । एकारित सडक जोखिमपूर्ण भएर दुर्घटना बढिरहेको छ भने अर्कोतिर सडक यात्रा निकै कष्टप्रद बन्ने गरेको छ । ग्रामीण सडकहरुको सकस र जोखिम त डरलाग्दो छ नै, मुलुककै मुख्य सडक राजमार्गहरुको पनि बेहाल अवस्था छ । जसले घण्टौको यात्रा कष्टप्रद मात्र बनेको छैन, सडकमै निर्धारित भन्दा कैयन लामो समय बिताउनु परेको छ । यही दुरावस्थाका कारण अधिक मानिसहरु चर्को भाडा तिरेर हवाइ यात्रा गर्न बाध्य भइरहेका छन् । तर, गरिब, विपन्न, मजदुर र सर्वसाधारणले पाइरहेको यस्तो सास्ती र सकसमा सरकारले यथेष्ट ध्यान दिएको छैन ।

राजनीतिक अस्थिरता, सत्तामा मात्रै हानथाप लगायतका कारण सडक सुधार लगायत विकास, समृद्धिमा यथेष्ट प्रगति हासिल गर्न नसकेको गुनासो र निराशाका बाबजुद एक सुखद खबर सार्वजनिक भएको छ । नेपालको पहिलो आधुनिक सुरुङमार्ग संघीय राजधानी छिर्ने मुख्य नाका ‘सिस्नेखोला–नागढुंगा’को मुख्य टनेल ‘ब्रेक थ्रु’ भएको छ । अब यो परियोजना बनेपछि सिस्नेरीबाट नागढुंगासम्मको यात्रा गर्नुपर्ने सडकको दूरी २.८ किलोमिटरले घट्नेछ । काठमाडौं प्रवेश गर्ने सवारीसाधनको ३३ मिनेट समय बचत हुनेछ । काठमाडौंबाट बाहिरिँदा भने २३ मिनेट समय बचत हुनेछ अर्थात्, अहिलेको सडक सञ्चालनको तुलनामा सो बराबरको समयभन्दा छिटो गन्तव्यमा पुग्न सकिनेछ । यसले बहुआयामिक रूपमा फाइदा पुग्नेछ । दूरी र समय कम गर्नभन्दा पनि ट्राफिक व्यवस्थापनका लागि बढी उपयुुक्त हुने देखिएको छ । किनकी त्यो ठाउँमा सवारीको चाप तथा जाम पटक–पटक हुन्छ । त्यसले गर्दा यात्राको समय पनि लम्बिएको हुन्छ । नागढुंगा सडक उकालो छ । उकालो भएका कारण त्यहाँ ठूला बस तथा मालवाहक ट्रकहरूलाई गुड्न समस्या हुन्छ । इन्धन बढी खपत हुने र समय पनि बढी लाग्नेजस्ता समस्या छ । कहिलेकाहीँ बाटोमै ट्रक बिग्रँदा घण्टौँसम्म जाम हुने समस्या थियो । तर, टनेल बनेपछि त्यस्तो समस्या समाधान हुन सक्ने अपेक्षा गरिएको छ ।

नागढुंगा नाका नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । नेपाल अब सुरुमार्गको युगमा प्रवेश गरेको छ । यद्यपि, नेपालले दक्षिण एसियामै पहिलोपटक आफ्नै प्रविधिमा हेटौँडामा सुरुङमार्ग (चुरिया सुरुङमार्ग) बनाएको थियो । त्यो सञ्चालनमा नभए पनि सुरक्षित छ । अहिले पहिलो आधुनिक सुरुङमार्ग जसरी ब्रेक थ्रु भएको छ । यो नेपालको विकास र समृद्धिका लागि सकारात्मक छ । छोटो समयमा सुरक्षित यात्राका लागि सरकारले सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेको छ । अहिले सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा एक हजार एक सय २६ मिटर लामो सुरुङ (सिद्धबाबा) खन्ने काम जारी छ । काठमाडौं–तराई द्रुतमार्गमा ६ सुरुङ बन्दै छन् । त्यसमा तीन सुरुङमार्ग निर्माणको चरणमा छन् । द्रुतमार्गमै २.२ किलोमिटरको थप तीन सुरुङमार्ग पनि बन्दै छन् । चिनियाँ सहयोगमा काठमाडौंको टोखाबाट नुवाकोटको शिवपुरी जोड्न पनि चार किलोमिटर हाराहारीमा सुरुङमार्ग बन्दै छ । यो सुरुङमार्ग बने काठमाडौं र चिनियाँ सीमाबीचको यात्रा छोट्टिनेछ । हाम्रो जस्तो भौगोलिक रुपमा निकै कठिन र जटिलता भएको देशका लागि सुरुङ मार्ग अपरिहार्य आवश्यकता हो । राष्ट्रिय सडक सञ्जालको यथेष्ट सुधार, विस्तारसँग दिगो समृद्धि जोडिएकाले यसमा तीन तहको सरकारले नै योजनाबद्ध रुपमा विकासको खाका अघि बढाउन सक्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *