धार्मीक पर्यटकीय क्षेत्रमा नीजि क्षेत्रले सहकार्य गर्छ :अध्यक्ष ढकाल


आदर्श अनलाइन, बागलुङ
नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीजि क्षेत्रले धार्मिक पर्यटकीय क्षेत्रमा सहकार्य गर्ने बताउनुभएको छ ।

उहाँले धार्मिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय नीजि क्षेत्रको लगानी बढिरहेको बताउदै बागलुङमा समेत लगानी ल्याउन आवश्यक रहेको औल्याउनुभयो । आज बागलुङको चैते दशैं मेलाको उद्घाटपछि बोल्दै अध्यक्ष ढकालले आफूले गृह जिल्लामा पर्यटनको क्षेत्रमा लागनी गर्न थालेको सुनाउनुभयो ।

उहाँले बागलुङको ऐतिहासिक चैते दशैं मेला स्थानीय उत्पादनको खरिद–बिक्रीकेन्द्रका रुपमा स्थापित भइसकेको बताउनुभयो । “यो ऐतिहासिक चैते दशैं मेला स्थानीय उत्पादनको विनिमय हुँने मेलाका रुपमा लिइन्छ, यो चैते दशैंका कारण बागलुङको पर्यटन चलायमान हुँदै आएको छ” अध्यक्ष ढकालले भन्नुभयो “बागलुङ कालिका मन्दिर हिन्दु धर्मलम्बीको आस्थाको केन्द्रका रुपमा छ, यसलाई विश्वभर चिनाउन आवश्यक छ, यहाँका आएका धार्मिक पर्यटकलाई बसाई लम्बाउनका लागि पर्यटकीय पूर्वाधारको भने खाँचो रहेको छ ।”

अध्यक्ष ढकालले यहाँका स्थानीय उत्पादन डोको, नाम्लो, ठेका, डाला र नाङ्लोको व्यापारका लागि चैते दशैंले प्रसिद्ध कमाएको छ । चैते दशैं मेलालाई आर्थिक कारोबारको मेलाका रुपमा अगाढी बढाउन आवश्यक रहेको बताउदै ढकालले नीजि क्षेत्रको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“बागलुङमा आएका पर्यटकहरुलाई एक हप्ता भुलाउन आवश्यक छ, तर पूर्वाधारको अभाव छ, बागलुङमा ठूला होटलको समेत आवश्यकता छ” उहाँले भन्नुभयो “धार्मिक पर्यटक भित्राउने मुख्य माध्यम बन्दै आएको चैते दशै मेलालाई थप परिस्कृति गर्दै आउनुपर्दछ ।”

गृहजिल्ला निवासी समेत हरनुभएको ढकालले चैते दशैंमा आफू बाल्यकालमा समेत घरायसी सामाग्री खरिदका लागि आउने गरेको स्मरण गर्नुभयो । चैत ३० गते देखि सञ्चालित चैते दशैं मेलाको मुख्य उदेघाटन आज चैते दशैंको दिन गरिएको थियो । चैते दशैंको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक चैते दशै मेलामा कालिका कप राष्ट्रिय भलिवल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, ठेलो प्रतियोगिता लगायतका कार्यक्रम चलिरहेको छ ।
कालिका मन्दिर संग जोडिएको चैते दशैं मेला बागलुङमा ३०० वर्षदेखि लाग्दै आएको छ ।

चैते दशैंका अवसरमा बागलुङको कालिका मन्दिरमा पाँच लाख दर्शनार्थी आउने अपेक्षा रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । शुक्रबारदेखि शुरु भएको चैते दशैं मेलामा आज मुख्य दिन सम्म दुई लाख ५० हजार भन्दा बढी दर्शनार्थी आइसकेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
उहाँले चैत ६ गते सम्म ५ लाख पर्यटक आइसक्ने अपेक्षा व्यक्त गर्नुभयो । मेलामा हाल सम्म दुई करोड भन्दा बढीको काराबार भइसकेको उहाँको भनाई छ । चैतै दशैं मेलामा भक्तजनहरुको भीड व्यवस्थापन र सुरक्षाका लागि एक सय सुरक्षाकर्मी परिचालन गरेको बताउनुभयो ।

बागलुङ सदरमुकाममा ३०० वर्ष देखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाइदै आइएको छ ।

मुलुककै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङको कालिका भगवती मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान रहेको छ । चैते दशैंमा भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ भने शानितको प्रतिक परेवा उठाउने गरिन्छ ।

चैते दशैं मेलाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सांसद चम्पादेवि खड्का, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको स्वागत तथा उपाध्यक्ष निसान खड्काको सञ्चालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *