चैते दसैँको शुभकामना

सम्पादकीय
चैते दशैं र बागलुङ एक अर्काको पर्याय बनेको छ । चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँड्डूलले धेरैजना बिरामी परेपछि दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ । बागलुङ कालिका भगवती मन्दिरमा पुजाअर्चनादेखी मन्दिर परिसरमा वर्षेनी लाग्ने परम्परागत मेला भर्न आउने हजारौं श्रद्धालु भत्तजन र दर्शकहरुको उपस्थितिले भरिभराउ हुन्छ । चैते दशैंको महिमा र महत्व दर्शाउने पुराना दर्जनौ गीतहरु छन्, जसले चैते दशैं पर्व कति व्यापक छ भन्ने सहजै बोध गर्न र बुझ्न सकिन्छ । ‘एउटा पैसा कहिलेलाई, चैते दशैंलाई’, चैते दशैं मेलामा, झर्छ आँशु छुट्ने बेलामा, चैते दशैं बागलुङे मेलामा, लाइदेउ माया भेट भाको बेलामाा लगायतका गीतहरुले चैते दशैं मेलाको महत्वबारे थप बर्णन गर्दछ ।

चैत्राष्टमीमा कालिका भगवती मन्दिरमा बिशेष पुजाआजा हुन्छ । वास्तवमा दसैँ भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिने कुराहरूमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झै विभिन्न शक्तिपीठहरूमा पशुवली भोग दिने गरिन्छ । यस मन्दिरमा सबैजसो जातजाति, समुदायको अपनत्व छ । मन्दिरमा भाकल, पुजाअर्चना, त्यो पुरा भए पछि फेरि मन्दिरमा आभार सहित पुजाआजा गर्न आउनेहरुको भिडले यसमा अलौकिक शक्तिको आभाष हुन्छ । यही कालिकाको अलौकिक शक्ति र मानिसहरुको अभूतपूर्व आस्थाका कारण बागलुङ कालिका भगवती राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै प्रख्यात छ भने यसलाई थप प्रचार प्रवद्र्धन गर्न वर्षौदेखि निरन्तर सञ्चालित ऐतिहासिक चैत्राष्टमी मेलाको पनि विशेष योगदान र भूमिका छ ।

चैते दशैं वर्षेनी आउने पर्वको निरन्तरता मात्र होइन, यो यस क्षेत्रको एक महत्वपूर्ण मानकको रुपमा स्थापित भएको छ । चैत्राष्टमी पर्वको महिमा र महत्व केबल बागलुङ जिल्लामा मात्र सीमित छैन । अहिले गण्डकी प्रदेशकै एक महत्वपूर्ण गन्तव्यको रुपमा कालिका मन्दिर छ, र चैत्राष्टमी पर्व एक गर्विलो चाडको रुपमा स्थापित र मान्यता दिइएको छ । यसको बलियो उदाहरण र तथ्य चैत्राष्टमी पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले दिएको सार्वजनिक विदा हो । प्रदेश सरकारले एक वर्षको अवधीमा दिन मिल्ने ३ दिनको सार्वजनिक विदामा चैते दशैंमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्राष्टमीमा कालिका मन्दिरमा हजारौंको संख्यामा उपस्थिति रहन्छ । पर्वमा स्थानीय स्तरमा उत्पादित डालो नाङ्लो, ठेकी, मान्द्रो, बाद्यवादका सामग्री लगायत छन् । ‘गन्तव्य बागलुङ कालिका कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन‘ भन्ने मूल नारा सहित मेला आयोजित छ । जसको निरन्तरता भइरहनु सकरात्मक भए पनि पुरानो मौलिकता भने धेरै लोप भइरहेका छन् । अब जतिसक्दो मौलिकता जगेर्ना गर्ने, समय सापेक्ष रुपमा कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नेमा केन्द्रित हुनुपर्छ । चैंते दशैंको यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *