कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो सहित)


खेमराज गौतम, बागलुङ
आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैं । मंगलबार देखि शुरु भएको चैते दशैको आज मुख्य दिन गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा दर्शनार्थीको बिहानै देखि घुइँचो लागेको छ ।


चैते दशैको अवसरमा आज गण्डकी प्रदेश सरकारले समेत सार्वजनिक विदा दिएको छ । चैते दशैमा देशभरबाट बागलुङको कालिका मन्दिर आउने गर्दछन् । चैते दशै अवधीभर पाँच लाख धार्मिक पर्यटक भित्राउने लक्ष्य रहेकोमा चैते दशैको सप्तमी सम्म सम्म दुई लाख धार्मिक पर्यटक भित्रिसकेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।



आज मुख्य दिन बिहान २ बजेबाटै कालिका मन्दिर दर्शनका लागि आउने दर्शनार्थीको घुइँचो लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले चैते दशैको मुख्य दिन आज दिनभारमा दुई लाख भन्दा बढी दर्शनार्थी मन्दिरमा आउने अपेक्षा गरिएको बताउनुभयो ।



चैते दशैं पर्वमा दुर्गा भवानीको विशेष पुजा तथा उपासना गरिन्छ । चैते दशैंमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने र टाढा–टाढाबाट भक्तजनहरु आउने गर्दछन् । भक्तजनहरुको सहजताका लागि चैते दशैको मुख्य दिन आज बिहान २ बजेटबाट मन्दिर दर्शन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष खड्काले बताउनुभयो ।

“कालिका मन्दिरमा हुने दर्शनार्थीको भीड र मन्दिर परिसरमा लाग्ने चैते दशै मेलालाई मध्यनजर गर्दै २०० सुरक्षाकर्मी समेत परिचालन गरिएको छ, ठाउँ–ठाउँमा सिसि टिभि जडान गरिएको छ, दर्शनार्थीले ढुक्क भएर मन्दिरमा पुजा गर्न मिल्ने बातावरण बनाइएको छ” खड्काले भन्नुभयो “मन्दिरमा आउने दर्शनार्थी र दर्शनार्थी चढेका सवारीका कारण मध्यपहाडी राजमार्गमा ट्राफिक जाम पर्ने भएकाले आज दिनभर चारपाङ्ग्रे सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा पार्कीङको व्यवस्था मिलाइएको छ ।”



चैते दशैको समयमा मन्दिरको पार्कीङ स्थलले थेग्न नसक्दा खेलमैदानमा सवारी पार्कीङ गर्नुपर्ने बाध्यता रहेको छ । मन्दिरमा बिहानै देखि लामबद्ध भएर पुजा गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । प्राथमिक उपचारका लागि भने नेपाली सेना परिचालन गरिएको छ । मन्दिरमा आउने भक्तजनहरुको रेकर्ड राख्नको लागि अत्याधुनिक सिसि क्यामेरा राखिएको छ जस्ले धार्मिक पर्यटकको संख्या समेत निर्धारण गर्ने गर्दछ ।
गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दशै सबैभन्दा बढी धार्मिक पर्यटकहरु भित्रिदै आएका छन् ।

चैते दशैको अवसरमा चैत ३० गते देखि ऐतिहासिक चैते दशै मेला समेत कालिका मन्दिर परिसरमा आयोजना गरिएको छ । मेला वैशाख ६ गते सम्म सञ्चालनमा आउने छ । चैते दशैको समयमा बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि नेपाल संगै छिमेकी मुलुक भारतबाट समेत धार्मिक पर्यटकहरु आउने गर्दछन् ।



मन्दिरमा चैते दशै र वडादशैंमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *